सेनाको कलेजबाट विद्यार्थी बेपत्ताको नालीबेली

यातना दिएर लुकाएको परिवारको आशंका

अनुमति बिना बाहिर निस्कन नपाइने सेनाको स्वास्थ्य विज्ञान संस्थानको होस्टलबाट दुई महीनाअघि हराएका राजेश शाहीको अत्तोपत्तो छैन। सेनाले प्रहरीलाई अनुसन्धान गर्न दिँदैन, आफूले जानकारी दिँदैन।

सेनाको कलेजबाट विद्यार्थी बेपत्ताको नालीबेली

काठमाडौँ। १६ भदौ राति करिब ८ बजे सुर्खेतकी कृष्णा शाहीको फेसबुक मेसेन्जरमा भिडिओ कल आयो। हर्षित हुँदै छोराको फोन उठाइन् उनले।
“मामु मेरो एक्जाम दामी भैरा’छ। अब भोलि अर्को एक्जाम छ अन्तिम एक्जाम २१ गते छ। तयारी राम्रो गरेको छु। अब म छिट्टै डाक्टर बन्दै छु। घर नआएको पनि धेरै भयो। दशैंमा आउँछु। रमाइलो गर्नुपर्छ”, राजेश शाहीले उत्साही हुँदै एकै सासमा भने। आमाछोरा बीच आधा घण्टा बढी कुराकानी भएको सुनाउँछिन् उनी।

काठमाडौँको सानोभर्‍याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन् २४ वर्षीय राजेश शाही। उनी सोही संस्थानकै होस्टलमा बस्थे उनी। दैलेख गुराँस गाउँपालिका–२ मा पुरानो घर रहेको उनको परिवार अहिले भने सुर्खेतको वीरेन्द्रनगरमा बस्छ।

बागबजारस्थित केएमसी कलेजमा विज्ञान संकायमा ‘प्लस टु’ सकेका राजेश पढाईमा अब्बल थिए। चार वर्षअघि उनले सेनाको स्वास्थ्य विज्ञान संस्थामा एमबीबीएस पढ्न प्रवेश परीक्षा दिएका थिए। राम्रो अंक ल्याएपछि उनी छनोट भए। राजेश त्यहाँ पनि उत्कृष्ट १० मध्ये पर्थे। उनको मेहनतले परिवार दङ्ग थिए। एमबीबीएसको अन्तिम वर्षको परीक्षा चलिरहँदा डाक्टर बनेर बिरामीको सेवा गर्ने दिन नजिकिँदै थियो। यो खुशी बाँड्न राजेश दशैंको अवसरमा घर जाने योजना बनाएका थिए। अर्कोदिन पनि परीक्षा भएको आमाले सुनाएकाले छोराको परीक्षाबारे जानकारी लिन परिवार आतुर थियो तर फोन आएन। रातीसम्म फोन नआएपछि बुबा दानबहादुरले छोरालाई फोन गरे। फोन बन्द थियो। पढाइमा व्यस्त भएकाले फोन बन्द गरेको हुनसक्ने लख काटे उनले। अर्को दिन पनि फोन गरे। राजेशले सधैँजसो घरमा फोन गरिहन्थे। पढाइदेखि साथीभाइसँगका रमाइला कुराकानी पनि सुनाउँथे उनी। घरपरिवारको पनि जानकारी लिन्थे। तर दुई तीन दिनसम्म पनि सम्पर्कमै आएनन्।

बुबा दानबहादुरले होस्टलको ल्याण्डलाइनमा फोन गरे। फोन उठाउने मानिसलाई खबर गरे– “केही दिनयता राजेशले फोन गरेको छैन। घरमा फोन गर्नु भन्दिनु है।”
उताबाट पनि जवाफ आयो– ‘यता राजेशको सबै ठिक छ, केही चिन्ता लिनुपर्दैन।’ परिवार ढुक्क भए। ‘राजेश परीक्षाको तयारीको लागि व्यस्त भएकाले फोन गर्न भ्याएन होला, पछि गर्ला नि’ –उनीहरूले यस्तै सोचे।

नेपाली सेनाको सानोभर्‍याङस्थित स्वास्थ्य विज्ञान संस्थान

राजेशको फोन नआएको पाचौँ दिनपछि २१ भदौको अपराह्न राजेशको दाजु (फुपूको छोरा) पदम मल्ललाई फोन आयो। सोधियो– “तपाई सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबीबीएस पढ्दै गरेको राजेशको प्यारेन्टस् हो ?” “हो, म उसको दाइ बोल्दै छु”, पदमले जवाफ फर्काए।
“राजेश पाँच दिनदेखि बेपत्ता छ। सबैतिर खोजिसक्यौं कहीँ भेटिएन। त्यता आएको त छैन नि ?”, यो प्रश्नले पदम आश्चर्यमा परे। उनले घरतिर नआएको बताए। पदमले राजेशको घरमा जानकारी गराए।

पदम मल्ल, राजेशको दाजु (फुपूको छोरा)

भोलिपल्ट २२ भदौमा राजेशका बुबा दानबहादुर, आमा कृष्णा र मामालगायत सानो भ¥याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा गए। होस्टलमा वार्डेन विकल श्रेष्ठ तथा अरु विद्यार्थीहरु थिए। राजेशबारे उनका साथीहरुको कुरा सुन्नासाथ आमा कृष्णा बेहोस् भएर ढलिन्। बेहोस भएर ढलेकी कृष्णलाई उठाउन सबै विद्यार्थी लागे। तर वार्डेन विकल भने चिया खान जान्छु भनेर भागे।

राजेशकी दिदी कल्पना भन्छिन्, “आमा त्यहाँ ढल्नासाथ वार्डेन भागे। आफ्नो लापरबाही छ भन्ने थाहा दिनुभन्दा भाग्नै सजिलो भनेर होला उनी बाहिर निस्किए। घटनाबारे सही सत्य जानकारी पाउन पनि सकिएन।”

राजेश बेपत्ता भएको भनिएको तर उसको अवस्थाबारे कलेज प्रशासनले चासो नदिएको उसको कोठा हेरेपछि थाहा भएको अभिवावकहरु बताउँछन्। अभिभावक भन्छन्, “हामी पुग्दा उसको रुममा बत्ती बलेको थियो। ढोका खुलै थियो। किताब खुला थियो। त्यति बेलासम्म कलेजले किन हेरेन? किन खोज खबर गरेन ? यो विषयमा कलेजको भूमिका रहस्यमय छ।” १६ गते रातिदेखि हराएको भनिएको तर, आफूहरुलाई पाँच दिनपछि खबर गरिनुले कलेज प्रशासनमाथि शंका गर्ने ठाउँ रहेको राजेशको बुवा दानबहादुरको आरोप छ।

रहस्यम सन्देश

शंकामाथि अर्को शंका थपिदियो राजेशकी दिदी कल्पनाको मोबाइलमा आएको सन्देशले। २७ भदौमा उनको फेसबुक मेसेन्जरमा नयाँ मेसेजको नोटिफिकेशन आयो। हेर्दा सन्देश थुप्रिएको थियो। नचिनेको मानिसको भएकाले शुरुमा त वास्ता गरिनन्। अर्को सन्देशले झस्कायो। लेखिएको थियो– ‘म राजेश शाहीको साथी शिव, एमबीबीएस स्टुडेन्ट।’

आफ्नो ‘भाइको साथी’भन्ने म्यासेज देखेपछि उनले पनि सहज रूपमा उत्तर दिइन्। शिवले फोन नै गरे। एकैछिनको फोन संवादपछि उनले अनुरोध गरिन्– ‘राजेश कता छ, नजिक भए फोन देउन’ भनिन्। राजेशको नाम लिनासाथ शिवले फोन काटे।

राजेशकी दिदी कल्पना कञ्चनपुर बस्छिन्। उनको उतै बिहे भएको हो। राजेश कलेजबाट बेपत्ता भएको उनलाई थाहा दिइएको थिएन। यसैले शिवसँग उनले राजेशसँग कुरा गराइदिन भनेकी थिइन्। तर फोन काटियो। त्यो दिन यत्तिकै बित्यो। भोलीपल्ट उनै कल्पनालाई शिवले फोन गरे। फोनमा भाईको हालखबर सोधिन्। उताबाट शिवले राजेश हराएको बताए। तर ‘राजेश कहाँ छ भन्नेबारे आफूहरुलाई थाहा भएको’ बताए। एकातिर हराएको र अर्काेतिर उसको बारेमा थाहा छ भन्ने शिवको भनाइले कल्पना आश्चर्यमा परिन्।

राजेशसँगै पढ्दै आएका शिवले भने– “राजेश कहाँ छ भन्ने कुरा हामीलाई थाहा छ। उसलाई हामी निकालिदिन्छौ। तपाइहरुसँग पुलिसका ठुला मान्छे साथमा छन् की छैनन्। ठुला नेताहरू चिन्नुहुन्छ की हुँदैन। पुलिस र नेताहरू लिएर छिटोभन्दा छिटो आउनुस्। हामी पनि सहयोग गर्छौं। यदि ढिलो भयो भने उसको ज्यान खतरामा हुनेछ।”
कलेज प्रशासनले राजेशलाई नियन्त्रणमा लिएर खतरामा पारेको आशयको सन्देश सुनाए। तर सबै विवरण बताएनन्। अरू कुरा रहस्यमै थियो।

नेपाली सेनाको सानोभर्‍याङस्थित स्वास्थ्य विज्ञान संस्थान

फेरियो बयान

कलेज प्रशासनले राजेश बेपत्ता भएको बताउँदै गर्दा उनकै साथीहरूले परिवारलाई जानकारी दिएको त्यो सूचना रहस्यमय थियो। शिवले दिएको त्यो सूचनाबारे कलेजका निर्देशक सेनानी नागेन्द्र केसीलाई राजेशका बुबाले सुनाए।

प्रिन्सिपल प्रा. डा. अरुण न्यौपाने र प्रशासनका सुवास थापा र विदुर अधिकारीलाई पनि जानकारी गराए। प्रशासनले राजेशका साथीहरू शिव रेग्मी, डेबिट तामाङ, र नीराजन थापा लगायतसँग सोधपुछ ग¥योे। तर, सोधपुछको क्रममा शिवले कुरा फेरे। आफूलाई राजेशको अवस्था थाहा नभएको बताए। राजेशका दिदीलाई फोन गरेर उसको अवस्था खतरामा रहेको बताउने शिवको फेरिएको बयानले घटना थप रहस्यमय बन्नपुगेको छ।

राजेशका दाजु पदम मल्ल भन्छन्, “आफैँले पहिला राजेशको अवस्था थाहा छ। यसलाई छुटाउन ठुलो सोर्सफोर्स लगाउनुपर्छ भन्दै कलेज प्रशासनले यातना दिएर गम्भीर अवस्था बनाएको आशयको सूचना दियो। फेरि अहिले कलेज प्रशासनको दबाबमा हो की के हो, अहिले उसको बोली फेरिएको छ।”
राजेशका नजिकका केही साथीहरूलाई उनीबारे थाहा भएको हुनसक्ने अनुमान लगाउँदै परिवारले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ। कलेज प्रशासनले नै राजेशलाई यातना दिएर कतै लुकाएको हुनसक्ने परिवारको आशंका छ।

नेपाली सेनाको सानोभर्‍याङस्थित स्वास्थ्य विज्ञान संस्थानको मूल प्रवेशद्वार

पन्छाउँदै जिम्मेवारी

राजेशका परिवारले होस्टलका वार्डेन विकल श्रेष्ठको नियतमाथि समेत प्रश्न उठाएका छन्। राजेशका बुबा दानबहादुर भन्छन्, “छोरा हराएको भनिएपछि हामी होस्टेल पुग्यौँ। होस्टलेका वार्डेन विकल श्रेष्ठले उल्टै राजेशको नियत र संगत ठिक नभएको भन्दै ठुला ठुला स्वरमा हामीलाई गाली गरे। हामीले चार वर्षदेखि मोटो रकम तिरेर होस्टेलमा विद्यार्थी राखेका छौँ। यसअघि उसको अवस्था निक्कै राम्रो भनिएको थियो। तर, उ हराएको भनिएपछि उसको आचरणमा किन प्रश्न उठाइयो ? यदि उ बिग्रेको वा खराब संगतमा लागेको थियो भने यसको दोषी को हुन्छ, हामी की होस्टल ?”

दानबहादुर शाही, राजेशका बुबा

राजेशको पढाई सोही कलेजमै हुने भएकाले बाहिर जानु पर्ने थिएन। परीक्षा दिन उनी साथीहरुसँगै कलेजकै गाडीमा जान्थे। बाहिर निस्कन नपाउने कडा अनुशासन थियो। अत्यावश्यक कामले बाहिर जानुपर्दा गेटमा सबै विवरण टिपाएर मात्रै निस्कन पाउने नियम नै छ। विद्यार्थीको अस्वाभाविक अवस्था तथा कुनै समस्या आएमा तुरुन्त अभिभावकलाई जानकारी दिनुपर्ने नियम कलेज प्रशासनले नै बनाएको छ। यस्तो कडाइ रहेको होस्टलले आफ्नो विद्यार्थी हराएको भन्दै गैरजिम्मेवार जवाफ दिनु नै शंकास्पद रहेको अभिभावकको आरोप छ।

राजेशका बुबा दानबहादुर भन्छन्, “हाम्रो मान्छे खराब थियो भने हिजो किन हामीलाई भनिएन ? घटना विषयान्तर गर्न यो आरोप लगाइएको छ। आर्मीको कडा सुरक्षा घेरामा रहेको मान्छे कसरी बाहिर जान सम्भव छ? कलेज प्रशासन वा होस्टेल व्यवस्थापनले उसलाई यातना दिएर उसलाई कतै लुकाइएको हुनसक्छ। र गम्भीर अवस्थामा हुन सक्छ। उसको अवस्था ठिक नभएसम्मका लागि लुकाइएको पनि हुनसक्छ।”

अनुसन्धानमा अवरोध

नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानले बेपत्ता भएको बताएको राजेशको अवस्था खोजी पाउँ भन्दै २२ भदौमै परिवारले महानगरीय प्रहरी परिसर काठमाडौँमा ठाडो निवेदन दिए। सोही निवेदनको आधारमा प्रहरी परिसर टेकुले महानगरीय प्रहरी वृत्त स्वयम्भूलाई अनुसन्धान गर्न निर्देशन दियो। हराएको भनिएको राजेशको अवस्थाबारे बुझ्न स्वयम्भू प्रहरी सानोभर्‍याङस्थित सेनाको स्वास्थ्य विज्ञान संस्थानमा गयो। कलेज प्रशासनमा खटिएका सेनाहरूले प्रहरीलाई अनुसन्धानको लागि अवरोध गरे। सेनाले घटनाको छानबिन आफ्नो क्षेत्राधिकारभित्र पर्ने बताउँदै प्रहरीलाई अनुसन्धान गर्न रोकेको छ। राजेश बस्ने होस्टेलको कोठामा प्रहरीलाई प्रवेश नदिइएको र सोधपुछमा समेत असहयोग भएको राजेशको परिवारको आरोप छ।

“प्रहरीसँगै हामी पनि थियौं। त्यहाँ खटिएका सेनाका अधिकारीले प्रहरीलाई घटनाबारे राम्रोसँग बताएनन्। होस्टेल भित्र अनुसन्धान गर्न जान समेत दिएनन्। त्यसपछि सेनाको मान्छेले जे–जे भने त्यही कुरा नोट गरेर प्रहरीहरू फर्किए”, राजेशका बुवा दानबहादुर भन्छन्। प्रहरीलाई समेत अनुसन्धान गर्न जान नदिनुले समेत कलेज प्रशासनको भूमिका शंकास्पद रहेको देखिएको राजेशको परिवारको शंका छ।  “यदि होस्टलभित्र केही असामान्य कुरा नभएको भए प्रहरीलाई समेत किन अनुसन्धान गर्न रोकियो ? राजेश बस्ने कोठालगायत होस्टेलका विभिन्न ठाउँमा प्रहरीले सर्च गर्न पाउनुपर्‍यो”, राजेशका बुवा दानबहादुर भन्छन्, “उसका सबै साथीहरूलाई ल्याएर प्रहरीले सोध्न पाउनुपर्‍यो। त्यसपछि मात्र केही रहस्य पत्ता लाग्छ। यी रहस्यहरू बाहिर नआओस् भनेर त्यहाँ कार्यरत सेनाका कर्मचारीले अनुसन्धान गर्न दिएका छैनन्।”

राजेशलाई कलेजलेनै यातना दिएर लुकाएको हुनसक्ने भन्दै परिवारले कलेज प्रशासनविरुद्ध किटानी जाहेरी लिएर काठमाडौँ महानगरीय प्रहरीकहाँ पनि पुगे। तर, प्रहरीले उजुरी लिएन।
“पहिला ठाडो निवेदन दिएका थियौँ। प्रहरी सोधपुछको लागि जान पाएन। फेरि कलेजविरुद्धनै किटानी जाहेरी लिएर गएका थियौं, प्रहरीले दर्ता गर्न मानेन”, राजेशका दाजु पदम भन्छन्।

नेपाली सेनाको सानोभर्‍याङस्थित स्वास्थ्य विज्ञान संस्थानको कक्षा कोठा

प्रहरी भन्छ– ‘खोजी जारी छ’

काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत राजेश शाही बेपत्ता भएको भन्ने जानकारी आएको स्विकार्छन्। खोजी शुरु गरिए पनि अहिलेसम्म उनको अवस्था थाहा नभएको उनको भनाइ छ।

“कलेज परिसरबाट निस्केर गएको भनेर सेनाले भनेको छ। हामी पनि उसको खोजीमा जुटेका छौँ केही पत्ता लागिसकेको छैन,” बस्नेतले भने। उता नेपाली सेनाले भने आफ्नो संस्थानको गेटबाट निस्किएपछि शाही सम्पर्कविहीन भएको भन्दै पन्छिएको छ। सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले संस्थानको गेटबाट निस्किएपछि शाही सम्पर्कविहीन भएका र अहिलेसम्म अवस्था थाहा हुन नसकेको बताए। यद्यपी परिवार, प्रहरी र सेनाको संयुक्त प्रयासमा खोजी भइरहेको बताए।
प्रवक्ता पौडेलले भने, “दुई महिनादेखि हराइरहेका छन्। फेला पर्न नसक्नु विडम्बना हो।” प्रधानसेनापति प्रभूराम शर्माबाट स्पष्ट निर्देशन आएको पनि उनले सुनाए।

बुबा र आमाको साथमा राजेश शाही

होस्टेल वार्डेन भन्छन्– ‘बोल्न मिल्दैन’

१७ भदौबाट राजेश बेपत्ता भए पनि होस्टेल वार्डेन विकल श्रेष्ठले २१ गतेसम्म होस्टलेमै रहेको भन्दै हाजिरी लगाइदिएका छन्। विद्यार्थी अनुपस्थित हुँदा पनि वार्डेनले लगातार पाँच दिनसम्म होस्टलेमै रहेको भन्दै किन उपस्थित जनाइदिए भन्दै परिवारले उनीमाथि गम्भीर आशंका गरेको छ। यही विषयमा र राजेश बेपत्ता सबन्धमा वार्डेन श्रेष्ठलाई नेपालभ्यूजले जिज्ञासा राख्दा ‘बोल्न नमिल्ने’ बताए। उनले भने, “हेडक्वार्टरमा सैनिक जनसम्पर्क निर्देशनालय छ, त्यहाँ सेना प्रवक्ता हुनुहुन्छ। यहाँलाई नै सबै सोध्नुहोस्। यस विषयमा मलाई बोल्ने अधिकार दिइएको छैन।”

राजेशका साथी भन्छन् – ‘थाहा भए पनि भन्न मिल्दैन, कलेजले कारबाही गर्छ’

राजेशको फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम उनका साथीहरूले समेत चलाएको पाइएको छ। राजेशकी दिदी कल्पना भन्छिन्, “राजेशको फेसबुक म्यासेन्जर र इन्स्टाग्राम सबै चेक गरेको। म्यासेजहरू सबै हेर्‍यौ तर, उसले कसैसँग कुरा गरेको भेटिएन भनेर उनका साथीहरूले भने। अरूको फेसबुक कसरी लग इन् गरे ? अरूको पर्सनल एकाउन्टे किन र कसरी चलाए ?”

सेनाले आफूलाई कारबाही गर्ने डरले राजेशका बारेमा थाहा भएका कुराहरु समेत भन्न नसक्ने अरू विद्यार्थीहरूले बताएका छन्। राजेशका केही साथीहरूको भनाइ उद्धृत गर्दै कल्पनाले भनिन्, “उसको बारेमा त थाहा भए पनि हामीले भन्न मिल्दैन। हामीले लाखौँ खर्च गरेर पढिरहेका छौँ। भोलि हामीलाई रेष्टिकेट भयो भने के गर्ने ? यसैले घटनाबारेमा केही पनि भन्न सक्दैनौं ”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved