फेसबुकको नाम परिवर्तन हुनसक्ने

अन्तर्राष्ट्रिय सञ्चार माध्यम द भर्जले मंगलबार प्रकाशन गरेको समाचारलाई उद्धृत गर्दै अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले आगामी हप्ता हुने कम्पनीको बैठकपछि फेसबुकको नाम परिवर्तन हुनसक्ने बताएको छ।

नेपालभ्युज

फेसबुकको नाम परिवर्तन हुनसक्ने

एजेन्सी । फेसबुकको व्यवसायिक स्वतन्त्रतासम्बन्धी धेरै प्रश्न उठ्न थालेपछि कम्पनीले नाम परिवर्तन गर्दै अर्को नाममा कम्पनीलाई सञ्चालन गर्ने तयारी गरेको छ। फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन अर्को हप्ता गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम द भर्जले मंगलबार प्रकाशन गरेको समाचारलाई उद्धृत गर्दै अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले आगामी हप्ता हुने कम्पनीको बैठकपछि फेसबुकको नाम परिवर्तन हुनसक्ने बताएको छ। नाम परिवर्तन हुने सक्ने बताइए पनि सम्भावित नाम भने सार्वजनिक भएको छैन।

फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले आगामी दिनमा फेसबुक ‘मेटाभर्स’ हुन सक्ने संकेत दिएका छन्। मेटाभर्सले प्राविधिक दुनियाँलाई जनाउँछ। विभिन्न उपकरणहरुको सहयोगमा मानिसहरूले भर्चुअल संवाद गर्न सक्छन्।

त्यसैका लागि पनि कम्पनीको काम परिवर्तन गर्न लागिएको बताइएको छ। प्राविधिक कम्पनीहरूले आफ्नो सेवाको विस्तार गर्ने क्रममा कम्पनीको काम परिवर्तन गर्ने गर्छन्। जुलाई महीनादेखि कम्पनीले भर्चुअल वास्तविकताका क्षेत्रमा ठूलो लगानी गरेको छ।

यस विषयमा फेसबुकसँग प्रतिक्रिया माग्दा उसले ‘हल्ला र आशंका’ गरिएका विषयमा प्रतिक्रिया नजनाउने बतायो।

यदि समाचारमा जनाइएजस्तै फेसबुकको नाम परिवर्तन गरिए पनि त्यसले कम्पनीको व्यापारलाई खासै असर गर्ने छैन। कम्पनीलाई फेसबुकको व्यापार कम महत्वको हुनेछ। फेसबुकले प्रयोगकर्ताको गोपनियतामा ध्यान नदिएको भन्दै आलोचना भई रहँदा कम्पनीको अन्य व्यापारमा नै असर पुगेको छ।

फेसबुककी एक पूर्वकर्मचारीले केही समयअघि अमेरिकी सिनेटको वित्तीय उपसमितिमा भएको सुनुवाइका क्रममा कम्पनीको लक्ष्यले ‘बालबच्चा, शेयर बजार र प्रजातन्त्र’ माथि नै असर पुर्‍याएको आरोप लगाएकी थिइन्।

फेसबुक कम्पनीबाट अलग भएसँगै कम्पनीको आलोचक बनेकी ३७ वर्षीया फ्रान्सिस हुगेनले फेसबुकविरुद्ध यस्तो आरोप लगाएकी हुन्। उनले अमेरिकाको क्यापिटल हिलमा भएको सुनुवाइका क्रममा आफ्नो पूर्वकम्पनीको आलोचना गरेकी हुन्।

यद्यपि फेसबुकले भने आफ्नो पूर्वकर्मचारीले आफूलाई थाहा नै नभएको विषयमा बोलेको बताएको थियो। समाजिक सञ्जाल फेसबुकको विश्वभर आलोचना भई त्यसको नियमनका विषयमा प्रश्न उठिरहेका बेला पूर्वकर्मचारी हुगेनले यस्तो आरोप लगाएकी थिइन्।

फेसबुक अहिले विश्वकै लोकप्रिय समाजिक सञ्जाल हो। प्रतिमहीना २ दशमलव ७ बिलियन सक्रिय प्रयोकर्ताले सञ्जालको प्रयोग गर्ने कम्पनीको दाबी छ। यस्तै सयौँ मिलियन मानिसले कम्पनीको अन्य एपजस्तै इन्स्टाग्राम र ह्वाट्सएप प्रयोग गर्ने कम्पनी बताउँछ।

कम्पनीले पछिल्लो समय प्रयोगकर्ताको गोप्यता कायम गर्न नसकेको भन्दै आलोचना खेपिरहेको छ। यस्तै सञ्जालमार्फत गलत सूचना प्रवाह हुँदासमेत त्यसलाई रोक्न कम्पनीले उपयुक्त कदम नचालेको भन्दै आलोचित भएको पाइन्छ।

अमेरिकी सदनका दुवै पार्टी रिपब्लिकन र डेमोक्र्याट्सका सिनेटरले फेसबुकमा परिवर्तनको आवश्यकता रहेको औँल्याएका थिए। अमेरिकी सदनमा दुवै पार्टीका नेता एक विषयमा सहमत हुने अवस्था कमै मात्रै आउँछ।

सिनेटको वित्तीय उपसमितिमा भएको सुनुवाइ र हुगेनले दिएको जवाफका विषयमा आफ्नो धारणा राख्दै फेसबुकले भने आफ्नो पूर्वकर्मचारीको दाबी गलत भएको प्रतिक्रिया दिएको थियो। यद्यपि कम्पनीले इन्टरनेट प्रयोगकर्तामाझ नयाँ मापदण्ड ल्याउनुपर्ने विषयमा भने आफू समहत भएको बताएको छ।

यसै सिलसिलामा कम्पनीले फेसबुकको नाम नै परिवर्तनको प्रक्रिया थालेको समाचार बाहिरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved