अनुभवी क्रिकेट प्रशिक्षकको खोजीमा नेपाल

ओमानमा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत आयोजक ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजलगत्तै वाटमोरले नेपाली टिम छाडे। उनी पनि गत वर्ष खुला प्रतिस्पर्धाबाट नै नेपालको प्रशिक्षक नियुक्त भएका थिए।

अनुभवी क्रिकेट प्रशिक्षकको खोजीमा नेपाल

काठमाडौं। क्रिकेटको सबैभन्दा छोटो फर्म्याटको विश्वकप टी-ट्वान्टी विश्वकप आइतबारदेखि ओमानमा शुरु भइसक्यो। उद्घाटन दिनको खेलमा नै नेपालजस्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एशोसिएट राष्ट्र स्कटल्याण्डले अप्रत्याशित नतिजा निकाल्दै आईसीसीको पूर्ण सदस्य राष्ट्र बंगलादेशलाई ६ रनले पराजित गरिसकेको छ।

स्कटल्याण्डकै लेभलको नेपाली क्रिकेट टिम भने यता नयाँ प्रशिक्षकको खोजीमा छ। सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ। नेपालका मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएपछि हाल नेपाली क्रिकेट प्रशिक्षकविहीन छ।

यो विश्वकपका लागि छनोट नभए पनि नेपाली क्रिकेटसामु अब दुई वटा विश्वकप खेल्नेसहित केही लक्ष्य छन्। जसलाई पूरा गराउने प्रशिक्षक नेपाललाई चाहिएको छ।

राम्रो प्रशिक्षक पाएमा टिमले राम्रो प्रदर्शन गर्ने पक्का छ। श्रीलंका, बंगलादेश, पाकिस्तान तथा आईपीएलको टिमलाई समेत प्रशिक्षण गरेका वाटमोरले छोटो समयमा नै नेपाल क्रिकेटको प्रमुख कमजोरी ब्याटिङलाई सुधारेका थिए। तर लामो समय टिममा नरहँदा त्यसले सोचेको नतिजा दिन भने सकेन।

आईसीसीको टी-ट्वान्टी वरीयता क्रममा नेपाल लगातार माथिल्लो स्थानमा रहँदै आएको छ। पूर्ण सदस्य राष्ट्रबाहेक एशोसिएट राष्ट्रमध्ये नेपाल प्रायः अग्रस्थानमा रहँदै आएको छ। तर नेपालले हालसम्म एक पटक मात्र विश्वकप खेलेको रेकर्ड छ।

सन् २०१४ मा नेपालले छनोट चरण पार गर्दै बंगलादेशमा भएको टी-ट्वान्टी विश्वकपमा पहिलो पटक सहभागिता जनाएको थियो। तर सन् २०१४ पछिको अर्को दुई संस्करणको टी-ट्वान्टी विश्वकपका लागि भने नेपाल छनोट हुन सकेन।

हाल विश्वकप खेलिरहेका स्कटल्याण्ड लगायत पाँच एशोसिएट राष्ट्र नामिबिया, ओमान, पीएनजी र नेदरल्याण्डस सबै टी-ट्वान्टी वरीयता क्रममा नेपालभन्दा तल छन्। वरीयता क्रममा आईसीसीको पूर्ण सदस्य १२ राष्ट्रपछि नेपाल एशोसिएटमध्ये पहिलो स्थानमा छ।

तर विश्वकप खेल्न वरीयता क्रममा माथि भएर मात्र पुग्दैन। त्यसका लागि छनोट चरणको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै क्वालिफाई हुनु आवश्यक छ। त्यसैले अब नेपाललाई त्यही छनोट चरण पार गरउने प्रशिक्षकको आवश्यकता छ।

टी-ट्वान्टी विश्वकपको आठौं संस्करण अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुँदै छ। नेपालले उक्त विश्वकपका लगि छनोट प्रतियोगिता खेल्दै छ। १६ टिम सहभागी हुने छनोट प्रतियोगितामा नेपालले विश्व वरीयताका आधारमा स्थान सुरक्षित गरिसकेको छ। यो छनोट प्रतियोगितामा शीर्ष चार टिमभित्र पर्न सके नेपालले सन् २०२२ को टी-ट्वान्टी विश्वकप खेल्न पाउने पक्का छ।

तर विश्वकप छनोटमा आफूसरह र केही आफूभन्दा बलिया राष्ट्रलाई हराउँदै छनोट चरण पार गर्न अहिल्यैदेखि लामो योजना र रणनीति बनाउनु आवश्यक छ। नेपाल क्रिकेट संघले चाहेको प्रशिक्षक पनि यस्तै हो।

नेपाली क्रिकेट टिमका व्यवस्थापक विनोद दास भन्छन्, “नेपाललाई हाल आईसीसी (एकदिवसीय अन्तर्राष्ट्रिय) ओडीआईको साइकल बुझेको तथा टी-ट्वान्टी विश्वकपसम्म पुर्‍याउन सक्ने प्रशिक्षक आवश्यक छ। अब आउने प्रशिक्षकले नेपालको क्रिकेट स्ट्रक्चर र हालको अवस्थाबारे बुझेको हुनुपर्छ।”

आईसीसीको ओडीआई साइकलमा नै रहेर नेपालले एकदिवसीय विश्वकप लागि छनोट हुन र ओडीआई मान्यता जोगाउन सक्छ, जुन नेपाली क्रिकेटको अबको दिनको अर्को प्रमुख लक्ष्य हो।

ओडीआई साइकलअन्तर्गत नै सन् २०१० मा विश्व क्रिकेट लिग डिभिजन-५ मा रहेको नेपालले आठ वर्षको अवधिमा लिग डिभिजन-५,४ र ३ को उपाधि जित्दै हाल डिभिजन-२ मा छ। यही संरचनामा रहेर सन् २०१८ मा नेपालले आईसीसीको एकदिवसीय मान्यता पनि पायो।

नेपाल हाल विश्व क्रिकेट लिग डिभिजन-२ का खेलहरू खेलिरहेको छ। लिग डिभिजन-२, सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्ने बाटोको रूपमा रहेको सिरिज हो।

लिग डिभिजन-२ मा नेपालसहित सात राष्ट्र सहभागी छन्। यी प्रत्येक राष्ट्रले होम एण्ड अवे गरी नौ-नौ वटा सिरिज खेल्नेछन्। प्रत्येकमा प्रत्येक राष्ट्रले कुल चार-चार गरी कुल ३६ खेल खेल्नेछन्।

यो प्रतियोगिताको अन्त्यसम्म शीर्ष तीनमा पर्न सके नेपालले एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न पाउनेछ। क्रिकेटमा टी-ट्वान्टी विश्वकप खेलेर इतिहास रचे पनि नेपालले एकदिवसीय विश्वकप भने हालसम्म खेल्न पाएको छैन।

त्यसैगरी सन् २०१८ मा नेपाललाई आईसीसीले प्रदान गरेको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) को मान्यता सकिन अब लगभग दुई वर्ष मात्र बाँकी छ । उक्त ओडीआई मान्यता जोगाइराख्नु पनि नेपाली क्रिकेट टिमको अर्को चुनौती हुनेछ।

जसका लागि नेपाल सकेसम्म पहिले जारी लिग डिभिजन-२ को शीर्ष तीनमा पर्नु आवश्यक छ। त्यसपछि विश्वकप छनोटमा पनि राम्रो प्रदर्शन गर्न सके उक्त प्रदर्शनका आधारमा आईसीसीले नेपालको ओडीआई मान्यत यथावत् राखिदिन सक्छ।

त्यसैले अबको नयाँ प्रशिक्षक यस्तो होस जसले कम्तिमा सन् २०२३ सम्म नेपाली टिमलाई समालेर पहिलो पटक एकदिवसिय विश्वकप पुराउने तथा ओडीआई मान्यता जोगाउने ल्याकत राखोस्।

यी दुवै विश्वकप छनोट र ओडीआई मान्यताका लागि आईसीसीले नेपालजस्ता एशोसिएट राष्ट्रका लागि क्रिकेटको विशेष संरचना र चक्र बनाएको छ। जसलाई नेपालको प्रशिक्षक हुने व्यक्तिले बुझेको हुनुपर्छ।

नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल भन्छन्, “हाम्रा लागि पहिलो कुरा त सबैभन्दा बढी मात्रामा एशोसिएट क्रिकेट बुझेको प्रशिक्षक आउनुपर्छ जस्तो लाग्छ। त्यस्तै नेपाली क्रिकेट टिमबाट राम्रो नतिजा निकाल्न लङ टर्मका लागि टिक्ने प्रशिक्षक आवश्यक छ। हामीले सर्ट टर्मका लागि दुई प्रशिक्षकसँग सहकार्य गरिसक्यौं। तर छोटो समयमा नै प्रशिक्षक परिवर्तन हुनाले प्रशिक्षकको भिजनअनुसार काम गर्न पाइएन।”

लङ टर्म भिजनमा काम गर्ने प्रशिक्षक ल्याउन पाए नेपाली क्रिकेटको लागि अर्को फाइदा पुग्ने छ। हालको लागि विश्वकपमा केन्द्रित भए पनि नेपाली क्रिकेटको समग्रमा सबैभन्दा ठूलो योजना र सपना भनेको आईसीसीबाट टेस्ट मान्यता पाउनु हो। तर त्यो त्यति सजिलो भने छैन।

“यसका लागि भौतिक पूर्वाधार सँगसँगै घरेलु क्रिकेटको विकासमा पनि जोड दिनुपर्छ। त्यसैगरी टिमको प्रदर्शन पनि उच्च तहमा पुग्नु आवश्यक छ, अनि मात्र ७/८ वर्षदेखि १०/१२ वर्षभित्र सायद नेपालले टेष्ट मान्यता पाउन सक्छ,” नेपाली टिमका पूर्वकप्तान तथा स्टार खेलाडी पारस खड्काले बताए।

त्यसैले नेपाली क्रिकेटको प्रमुख लक्ष्य, टेष्ट मान्यता पाउन दीर्घकालीन योजना चाहिन्छ र त्यसका लागि लामो समय टिक्ने एउटै प्रशिक्षक भए अझ राम्रो हुन्छ। नेपाली क्रिकेटमा लामो समय बिताएका दुई पूर्व प्रशिक्षकको इतिहासले पनि यही बताउँछ।

सन् २००१ मा नेपालको सिनियर र जुनियर दुवै टिमका प्रशिक्षक बनेका श्रीलंक रोय लुक डायसले करिब एक दशक नेपाली क्रिकेटमा बिताए। उनले नेपालको क्रिकेटलाई ग्रास रुटदेखि विकास गर्न एउटै योजनामा लामो समयसम्म, करिब १० वर्ष काम गरे। फलस्वरुप नेपालले उक्त समयमा थुप्रै एशोसिएटस्तरका उपाधि जित्यो भने हालको सफल र स्वर्णिम क्रिकेट युगको जग बसालेको थियो।

यसपछि आएका अर्का श्रीलंकन प्रशिक्षक पुबुदु दासानायके चार वर्ष नेपाल बसे। उनी नेपाललाई विश्वकप खेलाउने मुख्य योजनासहित नै नेपाल आएका थिए। त्यही एउटै योजनामा फोकस भएर लामो समय काम गर्दा नेपाल सन् २०१४ टी-ट्वान्टी विश्वकप खेल्न सफल भएको थियो।

अबको नेपाली क्रिकेटको आवश्यकता पनि यस्तै प्रशिक्षकको हो। नेपाली क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका विनोद दास नेपालभ्यूजलाई बताउछन्, “हाम्रो मापदण्ड पूरा गर्ने जोसुकै पनि प्रशिक्षकले आवेदन दिन पाउने छन्। त्यसपछि निश्चित प्रक्रिया पूरा गरी प्रशिक्षकको छनोट हुनेछ। हामीले सकेसम्म लामो समय बस्ने प्रशिक्षक खोजेका हौं। अबको प्रशिक्षकलाई कम्तीमा दुई वर्षका लागि नेपालमा राख्ने योजना छ।”

नेपालको प्रशिक्षक बन्न क्यानले तोकेको प्रावधानअनुसार दरखास्त दिन इंग्ल्याण्ड क्रिकेट बोर्ड वा क्रिकेट अष्ट्रेलियाको लेभल-३ वा सोसरह प्रशिक्षक हुनुपर्ने, कम्तीमा पाँच वर्ष प्रोफेसनल क्रिकेटमा प्रशिक्षणको अनुभव हुनुपर्ने, जसमा आईसीसीको पूर्ण सदस्य राष्ट्र, एशोसिएट राष्ट्र वा फस्ट क्लास क्रिकेट टिम सम्हालेको अनुभव हुनुपर्ने र क्रिकेट जानकार तथा क्रिकेट कल्चर बुझेको हुनुपर्ने छ।

गत वर्षको पुसमा नेपाली टिम सम्हालेका पूर्वअष्ट्रेलियन क्रिकेटर वाटमोरले आठ महिना पनि पूरा नहुँदै गएको भदौमा नेपाली टिमको प्रशिक्षकको पद छाडेका थिए।

एक वर्षका लागि नेपालको टिमसँग अनुबन्धन गरिएको भनिए पनि उनले कोभिड र आफ्नो परिवारको कारण देखाउँदै राजीनामा दिएका थिए। तर यता राजीनामा दिएको एक महिना पनि नबित्दै वाटमोर भारतको रन्जी ट्रफी खेल्ने टोली बरोडा क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भए।

ओमानमा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत आयोजक ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजलगत्तै वाटमोरले नेपाली टिम छाडे। उनी पनि गत वर्ष खुला प्रतिस्पर्धाबाट नै नेपालको प्रशिक्षक नियुक्त भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved