अरु भन्दा भिन्न थारूको दशैं

नेपालभ्युज

अरु भन्दा भिन्न थारूको दशैं
तस्वीर सौजन्य: रेशम थापा

काठमाडौं। सबैतिर दशैं पर्व मनाउने चहलपहल बढिरहेको छ। समुदाय र जातजातिबीच दशैं मनाउँने आ-आफ्ना तरीका हुन्छन्।

दाङ, बाँके, बर्दिया र कैलालीलाई थारूहरूको बाहुल्यता भएको जिल्लाका रूपमा चिनिन्छ। अन्य समुदायका नेपालीहरू जस्तै थारू समुदायमा पनि दशैं हर्ष उल्लासका साथ मनाउने गरिन्छ।

थारूहरूले पनि हिन्दु धर्म अपनाउने अरु नेपालीले जस्तै जमरा राख्छन् भने सप्तमी, अष्टमी, नवमीमा गरिने कार्यहरू भने केही फरक छन्। सप्तमीलाई झोल झरैना (घर सरसफाइ गर्ने) दिन भनिन्छ, अष्टमीलाई ढिक्री चढाउने दिन र नौवमीलाई मुर्गी (भाले) चढाउने दिन भनिन्छ।

दशैंको दिनमा भने गाउँको अगुवाका रूपमा चिनिने बर्घरको घर र गाउँको संरक्षक अर्थात चिकित्सकका रूपमा चिनिने गुरुवाको घरमा गएर टीका थाप्ने चलन रहेको छ।

यसरी गुरुवाको घरमा टीका थाप्न जादा गुरुवाले टीका लगाउनुका साथै आफ्नो रगतले मुछेर राखेको अक्षता घरमा सँधैं सुखशान्ति होस् भन्दै दिने चलन रहेको छ। त्यस्तै दशैंको दिन मुख्य गुरुवाको घरमा गाउँभरका गुरुवाहरू जम्मा भएर आफ्नो मन्त्र वा शक्ति पुनः ताजगी होस् भन्दै आगोमा नृत्य (अर्खरिया नाच) गर्ने गर्छन्।

No description available.

दशैंमा थारू समुदाय पनि इष्टमित्रको घरमा गएर टीका लगाउने मिठा खानेकुराहरू खाने गर्छन्। थारू समुदायमा दशैंसँग जोडिएको एउटा महत्वपूर्ण पक्ष मानिने भनेको सखिया नाच हो। जसमा २२ प्रकारले मादल बजाउने गरिन्छ। कृष्ण जन्माष्टमीको दिनमा गाउँन बाकिरहेको गीतको भाका दशैं देखि लिएर दिपावलीसम्म पनि गाउने गरिन्छ यसैलाई नै सखिया नाच भनिन्छ। सखिया नाच पहिले घरघरमा गएर गीत गाउँदै जाच्ने गरिन्थ्यो भने अहिले विशेषगरि वर्घरको घरमा गएर यो नाच नाचिन्छ। तर कसैले मेरो घरमा पनि नाच देखाउन चाहान्छु भनेको खण्डमा पैसा तिरेर नाचगाँन गरिन्छ।

No description available.

त्यस्तै थारू समुदायमा जमरा राखेकै दिनबाट दशैंमा देउताहरू आउँछन् भन्दै बाटो र पूरै घर सफा राख्ने चलन पनि छ। इतिहासमा उल्लेख भए अनुसार थारू सुदायको उत्पति जहिले देखि भएको हो त्यो समय देखि नै दशैैं मनाउने चलन चल्दै आएको हो।

थारूहरूको एउटा सामुहिक पाँच पाण्डवहरूको मूर्तिरहित देउताको थान हुन्छ भने अर्को प्रत्येक घर-घरमा देउताको थान (देउडार) राखिएको हुन्छ।

यस्ता देउडारमा दशैं वा अन्य कुनै पर्व हुँदा अनिवार्य रूपमा रक्सी राखेर पूजा गरिन्छ।

त्यस्तै दशैंमा नवविवाहित जोडीले आफ्नो सासुससुराको लागि जाडो कट्ने गरि एक भारी दाउरा लिएर जाने गरिन्छ। त्यस्तै आफुले जानेको सिप प्रयोग गरेर केहि सामानहरू लिएर र रक्सी सहित टीका थाप्न जाने चलन पनि प्रचलित नै छ। थार समुदायमा दशैंमा खाने भनेको विशेषगरि महिलाहरूले कानमा लगाउने ठोसिया अकारको ठिक्रीको पनि विशेष महत्व रहेको छ। त्यस्तै सुंगुर र बंगुरको मासु पनि खास मानिन्छ। अर्कोतिर खरिया, फुरिया पनि खाने गरिन्छ।

जहाँ थारू त्यहाँ दारु भने जस्तै थारूहरूले दशैं, दिपावली र माघीका लागि एक दुई वर्ष देखि भातलाई जाँडका रूपमा राखिरहेका हुन्छन्, जो हेर्दा हरियो रंगको हुन्छ त्यो निकै लाग्ने पनि गर्छ। दशैको समयमा थारूको जुन घरका गएपनि जाँडले नै स्वागत गर्ने गर्छन्।

थारूहरूले अनिवार्य रूपमा टीका लगाउन जादा एक बोतल जाड र बाबरीलाई कोसेलीका रूपमा लिनैपर्ने हुन्छ। आफ्ना देउतालाई पनि जाड दिएर मात्र पूजा शुरु गर्ने भएकोले यो समुदायमा जाँडरक्सीलाई निकै महत्वपूर्णका साथ लिने गर्छन्।

बदलिँदो थारूको दशैं 

अन्य समुदायको जस्तै थारू समुदायको दशैं पनि बदलिएको छ। पहिलेका थारूहरू आफूसँग जे छ त्यसैले नै वर्षभरको थकाई मार्दै दशैं मनाउने गर्थे भने अहिले आफूसँग नभए पनि अरुको देखासिखीमा ऋणसापट गर्दै दशैं मनाउने चलन बढ्दै गइरहेको छ।

त्यस्तै पहिले अनिवार्य रूपमा बलिको लागि भन्दै वर्ष दिन बिजोड पारेर पालेका भाले चढाउने चलन थियो जो अहिले बदलिएर एउटा मात्र त्यो पनि नभए ब्रोइलर कुखुरा नै चढाइने पनि गरिन्छ।

पहिलेका दशैंमा मासुको खुबै महत्व रहेको थियो जो बिस्तारै हराउँदै गइरहेको छ। थारूहरूले दशैं मनाउदा पहिले चामलको पिठो मिसाएर सेतो टीका लगाउँने गर्थे भने अहिले त्यो हराउदै रातो टीकालाई अगाडि बढाएको पाइन्छ। थारू समुदायले आफ्नो मौलिखता बिर्सेर दशैं मनाउँने गर्नु हुँदैन। त्यस्तै नयाँ सन्ततिले कम्तिमा आफ्नो मौलिकता झल्कने खालका नाच, गीत र मादलको ताललाई बिर्सनु हुँदैन।

त्यस्तै अरुको अनुसरण गर्ने भन्दैमा सबै अरुको रीतिथिती नै अंगाल्यो भने थारू जातिको आफ्नो मौलिकता नै बाँकी रहँदैन। थारूमात्र होइन जुनसुकै आदिबासी शहर वा गाउँ जहा बसेपनि आफ्नो मौलिखता बिर्सनु हुदैन।

(थारू साहित्यमा विद्यावारिधि गरेका डा. कृष्ण सर्वहारीसँग नेपालभ्यूजकर्मी समृद्धा केसीले गरेको कुराकानीमा आधारित।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved