एमालेमा कार्यकारी पदमा दुई कार्यकाल मात्र हुन पाउने व्यवस्था गर्न माग

सदस्यहरूले कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकाल मात्र हुन पाउने र ७० वर्षे उमेर हदको व्यवस्था कार्यान्वयन गर्नुपर्ने सुझाव दिए।

नेपालभ्युज

एमालेमा कार्यकारी पदमा दुई कार्यकाल मात्र हुन पाउने व्यवस्था गर्न माग
फाइल तस्वीर

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)मा कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकाल मात्र हुन पाउने व्यवस्था कार्यान्वयन गर्नुपर्ने आवाज उठेको छ। ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले यस्तो माग गरेका हुन्।

सदस्यहरूले कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकाल मात्र हुन पाउने र ७० वर्षे उमेर हदको व्यवस्था कार्यान्वयन गर्नुपर्ने सुझाव दिए। यस्तै बहुपदमा एकै व्यक्ति नबस्न समेत सुझाव आएको नेताहरूले बताए।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल गर्न १० वटा समूह बनाइएको थियो। दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा १० समूहमा विभाजित टोली नेताले राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गरी आ–आफ्नो समूहबाट प्राप्त सुझाव प्रस्तुत गरेका छन्।

जसमा नेताहरूले पदाधिकारी सङ्ख्या बढाउनुपर्ने माग गरेका छन्। पार्टीमा ७ जना उपाध्यक्ष, ७ जना सचिव राख्नुपर्ने, एमालेमा कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइनेलगायतका सुझाव दिएका छन्।

शनिबार समूहगत सुझाव पेश गर्ने काम मात्रै भएकाले अध्यक्ष ओलीलगायतले जवाफ दिनेछन्। बैठक आइतबार ११ बजे फेरि बस्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved