तालिबानी मानसिकता जुनसुकै आकारप्रकारमा आउन सक्छ

पछिल्लो एक अन्तर्वार्तापछि हिन्दू दक्षिणपन्थी समूहले गरेको आलोचनाको प्रतिक्रियाबारे भारतका प्रसिद्ध गीतकारको टिप्पणी

तालिबानी मानसिकता जुनसुकै आकारप्रकारमा आउन सक्छ

३ सेप्टेम्बर २०२१ मा एनडीटीभीलाई अन्तर्वार्ता दिँदा यो हदसम्मको प्रतिक्रिया आउला भन्ने अनुमान नै मलाई थिएन।

एकातिर केही मानिसहरू छन् जसले सकेसम्म कडा शब्दले आफ्नो आक्रोश र आवेग व्यक्त गरेका छन्। अर्कोतिर केही मानिस छन् जसले देशका हरेक कुना र ठाउँबाट मेरो विचारप्रति ऐक्यबद्धता र पूर्ण सहमति जनाउँदै सन्देश पठाइरहेका छन्। मेरो विचारमा सहमत हुनेहरूलाई म पक्कै पनि धन्यवाद दिने नै छु तर त्यो भन्दा पहिला मेरो अन्तर्वार्ताको विपक्षमा उभिएकाले मलाई लगाएका आक्षेप र आरोपको जवाफ दिन्छु। हरेक आलोचनाको बेग्लाबेग्लै जवाफ दिन सम्भव नहुने भएकाले यो मेरो समष्टिगत जवाफ हुनेछ।

हिन्दू दक्षिणपन्थीहरूको आलोचना गर्दैगर्दा म मुस्लिम कट्टरपन्थीहरूको विपक्षमा कहिल्यै नउभिएको आरोप मेरा आलोचकहरूले लगाइरहेका छन्। उनीहरूले मलाई तीनपटक तलाक, पर्दा जस्ता मुस्लिम समुदायमा भएका पश्चगामी प्रथाको विरोध नगरेको आरोप लगाउँछन्। वर्षौंको मेरा गतिविधीबारे उनीहरू पूर्णतः जानकार नभएको तथ्यले मलाई खासै अचम्भित पारेको छैन। आखिर मैले के गरिरहेछु भनेर सबैले थाहा पाउनुपर्ने महत्त्वपूर्ण मानिस पनि म होइन।

यद्यपी तथ्य के हो भने, कट्टरपन्थी मुस्लिमहरूबाट मेरो ज्यान नै लिने धम्की आएपछि गत दुई वर्षमा मलाई दुईपटक प्रहरीले सुरक्षा दिनुपरेको थियो। पहिलो कारण थियो, तीनपटक तलाकको विपक्षमा म स्पष्ट रूपमा मात्र उभिइनँ ‘मुस्लिम फर् सेक्युलर डेमोक्रेसी (धर्मनिरपेक्ष लोकतन्त्रका लागि मुस्लिम, एमएसडी) नामक संस्थामा आबद्ध भएर हैदराबाद, अलाहबाद, कानपुर र अलिगढ लगायतका शहरको भ्रमण गरेँ। ती भ्रमण र अन्य विभिन्न माध्यमबाट मैले पश्चगामी अभ्यासको विपक्षमा आवाज उठाएँ। त्यसको प्रभाव के पर्‍यो भने मैले मारिने धम्की पाउन थालेँ। मुम्बईबाट प्रकाशित हुने उर्दु अखबारहरूमा ती धम्की उल्लेखनीय ढंगले छापिए। यो सन् २००७ को कुरा हो। त्यसरी धम्की प्रकाशित भएपछि मुम्बईका तत्कालीन प्रहरी प्रमुख ए. एन. रोयले ती पत्रिकाका सम्पादक र प्रकाशकलाई बोलाएर कुनै हिंसात्मक गतिविधी भए पत्रिका जिम्मेवार हुने चेतावनी दिएका थिए।

दोस्रो घटना सन् २०१० तिरको हो। एउटा टेलिभिजनमा एक प्रख्यात मुस्लिम मौलवी मौलाना कल्बे जवादसँग पश्चगामी पर्दा प्रथाबारे मेरो बहस भएको थियो। त्यो बहसले मौलानालाई निकै निराश बनायो। केही दिनमा त लखनउमा मेरा पुत्ला जल्न थाले। मैले गालीगलौजयुक्त पत्र र मारिने धम्की पाउन थालेँ। फेरि मलाई मुम्बई प्रहरीले सुरक्षा दिनुपर्‍यो। त्यसैले मुस्लिम कट्टरपन्थीको विरोध नगरेको भनेर मलाई लगाइएको आरोप पूर्णतः निराधार छ।

मानिसलाई धर्म, जात र सम्प्रदायका आधारमा विभाजन गर्ने हरेक विचारधारको विपक्षमा छु म। त्यस्ता विभेदविरुद्ध उभिने हरेकसँगै उभिन्छु पनि।

कसै-कसैले मलाई तालिबानको महिमामण्डन गरेको आरोप पनि लगाएका छन्। यो भन्दा निरर्थक आरोप त केही हुनसक्दैन। तालिबानी विचार भएका मानिसप्रति तिरस्कार बाहेक मसँग अर्को केही पनि छैन। एनडीटीभीमा अन्तर्वार्ता दिनुभन्दा एक हप्ताजसो अघि २४ अक्टोबर २०२१ मा मैले ट्वीट गरेको थिएँ- ‘बर्बर तालिबानले अफगानिस्तान कब्जा गरेकोमा मुस्लिम ल बोर्डका दुई सदस्यले अभिव्यक्त गरेको अत्यधिक हर्ष आश्चर्यजनक छ, यद्यपी बोर्ड आफैँ यो घटनाबाट पर छ। मुस्लिम बोर्डले स्पष्ट शब्दमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुपर्छ।’

मेरो धारणा म फेरि दोहोर्‍याउन चाहन्छु ताकि हिन्दू दक्षिणपन्थका समर्थकहरू ममाथि लगाइएको ‘मुस्लिम समुदायमा रहेको पश्चगामी मान्यता र अभ्यासको विपक्षमा म छैन’ भन्ने झुठो आरोपको कवचपछाडि लुक्न नपाउन्।

उनीहरूले मलाई हिन्दूवाद र हिन्दूलाई अपमान गरेको आरोप पनि लगाएका छन्। त्यसमा सत्यको अंश पनि छैन। वास्तवमा, हालैको अन्तर्वार्तामा मैले भनेको थिएँ, संसारमै ‘हिन्दूहरू सबैभन्दा भद्र र सहनशील बहुमत हुन्।’ यो विचार मैले बारम्बार दोहोर्‍याइरहेको छु। मैले थप के पनि जोड दिने गरेको छु भने भारत कहिल्यै अफगानिस्तान हुनसक्दैन किनभने भारतीयहरू स्वभावतः अतिवादी होइनन्। उदारता र मध्यमार्ग त उनीहरूको डीएनएमै छ।

मैले बारम्बार यस्ता विचार राख्दा राख्दै पनि किन केही मानिसहरू रुष्ट छन् त? किनभने मैले सधैँभरी हरेक समुदायमा रहेको अतिवादी दक्षिणपन्थ, रुढीवाद र कट्टरपन्थको स्पष्ट ढंगमा आलोचना गरेँ। मैले बारम्बार जोड दिएँ, हरेक समुदायमा रहेको दक्षिणपन्थी मानसिकता अनौठो समानता छ।

हो, एनडीटीभीको अन्तर्वार्तामा मैले संघ परिवारसँग आबद्ध संस्थाहरूप्रति मेरा फरक मतहरू जाहेर गरेँ। मानिसलाई धर्म, जात र सम्प्रदायका आधारमा विभाजन गर्ने हरेक विचारधारको विपक्षमा छु म। त्यस्ता विभेदविरुद्ध उभिने हरेकसँगै उभिन्छु पनि। सम्भवतः मेरो यही अडानकै कारण सन् २०१८ मा  भारतका पूज्य मन्दिरहरूमध्ये एक बनारसको ‘संकट मोचन मन्दिर’ले बोलाएर मलाई ‘शान्तिदूत’ पद र पदकले सम्मान गरेको थियो। त्यो अभूतपूर्व थियो। मलाई मन्दिरभित्र मन्तव्य दिन पनि लगाइएको थियो। मजस्तो नास्तिकका लागि त्यो दुर्लभ सम्मान हो।

तालिबानी मानसिकता र हिन्दू दक्षिणपन्थमा थुप्रै समानता उल्लेख गरेको भन्दै मेरा आलोचकहरूले आक्रोश व्यक्त गरेका छन्। तथ्य के हो भने, साँच्ची नै ती दुई मानसिकताबीच धेरै समानता छन्ः

  • तालिबानले धर्मको आधारमा ईस्लाम सरकार गठन गरेको छ। हिन्दू दक्षिणपन्थीहरू पनि हिन्दू राष्ट्र चाहन्छन्।
  • तालिबानहरू महिलाका अधिकार संकुचित पारेर उनीहरूलाई किनारमा पार्न चाहन्छन्। हिन्दू दक्षिणपन्थीहरूले पनि महिलाहरूको स्वतन्त्रताको पक्षमा नभएको स्पष्ट पारेका छन्। रेष्टुरेण्ट, पार्क वा कुनै पनि सार्वजनिक स्थलमा केटाकेटी सँगै बसेकै कारण उत्तर प्रदेशदेखि गुजरात र कर्णाटकसम्म कुटिएका छन्।
  • मुस्लिम कट्टरपन्थीहरूजस्तै हिन्दू दक्षिणपन्थीहरू पनि आफ्नो जीवनसाथी छनौट गर्ने महिलाको अधिकारलाई स्वीकार गर्दैनन्। हालै, एकजना शीर्ष दक्षिणपन्थी नेताले महिलाहरू आफ्नै खुट्टामा उभिन वा आत्मनिर्भर हुन् सक्षम छैनन् भनेका थिए।
  • तालिबानले जस्तै हिन्दू दक्षिणपन्थले पनि मानिसले बनाएका कानून र अदालतभन्दा माथि आस्था हुन्छ भन्ने दाबी गर्छ।
  • अल्पसंख्यकप्रति तालिबानहरूका कुनै पनि सद्भाव छैन। त्यसैगरी अल्पसंख्यकप्रति हिन्दू दक्षिणपन्थीहरूको धारणा के छ भन्ने प्रमाण त उनीहरूको भाषण, नारा र मौका पाउँदा तिनले गर्ने व्यवहार नै छन्।

तालिबान र यी अतिवादी समूहबीच एउटामात्रै फरक के हो भने आज अफगानिस्तानमा तालिबान चुनौतीरहित शक्ति भएको छ। त्यहाँ उनीहरूलाई कसैले प्रश्न गर्दैन। भारतमा भने भारतको संविधानसँग पूर्णतः विपरीत तालीबानी विचारधाराको भारतीय संस्करणप्रति ठूलो विरोध छ। हाम्रो संविधानले धर्म, समुदाय, जात र लिंगको आधारमा कसैलाई पनि विभेद गर्दैन। हामीसँग न्यायालय र सञ्चारमाध्यमजस्ता संस्थाहरू छन्। यी दुई समुदायबीचको मुख्य फरक हो, तालिबानले अफगानिस्तानमा आफ्नो लक्ष्य हासिल गरेको छ। हिन्दू दक्षिणपन्थ भने त्यहाँ पुग्न भरमग्दुर प्रयत्न गरिरहेछ। सौभाग्यवश, यो भारत हो र भारतीय जनताले कडा प्रतिरोध सिर्जना गरिरहेछन्।

तालिबानले धर्मको आधारमा ईस्लाम सरकार गठन गरेको छ। हिन्दू दक्षिणपन्थीहरू पनि हिन्दू राष्ट्र चाहन्छन्।

भारतीय हिन्दू अतिवादी संगठन ‘राष्ट्रिय स्वंयसेवक संघ’का संस्थापकमध्ये एक एम. एस. गोलवालकरले नाजी जर्मनी र उसले जर्मनीका अल्पसंख्यकलाई गरेको व्यवहारको प्रशंसा गर्थे भनेर अन्तर्वार्तामा मैले भनेको प्रति पनि केही मानिस रुष्ट छन्। गोलवालकर सन् १९४० देखि १९७३ सम्म संघका प्रमुख थिए। उनले दुईवटा पुस्तक लेखेका छन्, ‘वी अर आवर नेसनहुड डिफाइन्ड’ (हामी र हाम्रो राष्ट्रियताको परिभाषा) र ‘अ बन्च अफ् थट्स’ (विचारहरूको गुच्छा)। इन्टरनेटमा यी पुस्तक सहजै उपलब्ध छन्। पछिल्ला केही वर्षमा उनका समर्थकहरूले ‘गुरुजीले लेखेको होइन’ भन्दै पहिलो पुस्तकलाई अस्वीकार गरिरहेछन्। यसरी पन्छिनुको कारण के हो भने आजको दिनमा अति कट्टरपन्थीले पनि त्यो पुस्तकका विचारको प्रतिवाद गर्न सक्दैन। गोलवालकरका समर्थकहरूले अनेकौं संस्करणमा गोलवालकरको नाम रहनु त्रुटी भएको दाबी गर्छन्।

‘वी अर आवर नेसनहुड डिफाइन्ड’ पहिलोपटक सन् १९३९ मा प्रकाशन भएको थियो। उनी सन् १९७३ सम्म जिवित थिए। सन् १९३९ देखि १९७३ बीचको ३४ वर्षमा यो पुस्तकका अनेकौं संस्करण प्रकाशन भए तर गोलवालकरले कहिल्यै पनि त्यसको प्रतिवाद गरेनन्। त्यसैले उनका समर्थकहरूले गोलवारकरले लेखेकै होइनन् भनेर जे दाबी गरिरहेका छन् त्यो राजनीतिक चालबाजीबाहेक केही होइन।

यहाँ म त्यो पुस्तकबाट केही अंश उद्धृत गर्छु। ‘वी अर आवर नेसनहुड डिफाइन्ड’ को पृष्ठ ३४-३५ र ४७-४८ मा लेखिएको छः

“यहुदीबाट देशलाई मुक्त पारेर जर्मनीले संसारलाई हल्लाइदियो। आफ्नो जाति र संस्कृतिलाई शुद्ध राख्न उसले त्यसो गरेको थियो। यहाँनेर जातिय गौरवलाई उच्च रूपमा व्यक्त गरिएको छ। जर्मनीले कसरी जरैबाट फरक रहेका जाति र संस्कृतिहरू एकबद्ध हुन असम्भवप्रायः छ भन्ने देखाइदिएको छ। यो हिन्दूस्तानका लागि पनि राम्रो पाठ हो यसबाट हामी शिक्षित र लाभान्वित हुनुपर्छ….”

“हिन्दूस्तानमा रहेका विदेशी जातिहरू (क्रिश्चियन र मुस्लिमहरू)ले हिन्दू संस्कृति र भाषा अपनाउनैपर्छ, हिन्दू धर्मलाई सम्मान र श्रद्धा गर्न सिक्नैपर्छ, हिन्दू जाति र संस्कृति अर्थात हिन्दू राष्ट्रको प्रशंसा गर्नैपर्छ नभए हिन्दू राष्ट्रबाट दमित भएर यो देशमा बस्नुपर्छ। केहीमा पनि दाबी गर्न पाइँदैन। कुनै सुविधा पाइनेछैन। नागरिकताको अधिकार पनि दिइनेछैन।”

अ बन्च अफ् थट्स’को पृष्ठ १४८-१६४ र २३७-२३८, पार्ट टु, च्याप्ट सिक्स, ‘द हिन्दू नेसन’, सेक्सन, ‘द नेसन एन्ड इट्स प्रोब्लम्स सिक्सटिन्थइन्टरनल थ्रेट्स, १. मुस्लिम एन्डक्रिश्चियनहरू बाटः

“आज पनि, उच्च सरकारी पदमा रहेका हुन् वा नरहेका, मुस्लिमहरू राष्ट्रियताविरोधी सम्मेलनहरूमा खुलेआम सहभागी भइरहेका छन्…”

“धेरै ठूला क्रिश्चियन मिसनरीहरूले स्पष्ट रूपमा घोषणा गरेका छन्, यो देशमा उनीहरूको एकमात्र उद्धेश्य यो देशलाई ‘क्राइस्ट अधिराज्यको एक प्रान्त बनाउने हो’ …”

यी उद्धरणहरूले आफैँ सबैथोक व्याख्या गर्छन्। मैले धेरै भनिरहनुपर्दैन।

अझ रोचक त के छ भने हिन्दू दक्षिणपन्थका समर्थकहरू मप्रति रुष्ट भइरहँदा उनीहरूका एक शीर्ष नेताले महाराष्ट्र विकास अघडि (एमभीए) सरकारलाई ‘तालिबानी’ भनेका छन्। महाराष्ट्रमा गठबन्धन बनाएर उद्दव ठाकरेको सक्षम नेतृत्वमा शासन गरिरहेका तीन वटै पार्टीको म सदस्य होइन। आज महाराष्ट्रमा छाएको उनको लोकप्रियता बंगालमा ममता बेनर्जी र तामिलनाडुमा एम. के. स्टालिनको ख्यातीसँग दाँजिइरहेछ। उनको सबैभन्दा कडा आलोचकले पनि उनलाई विभेद वा अन्याय गरेको आरोप लगाउन सकेको छैन। त्यसैले कोही कसैले उद्दव ठाकरेको सरकारलाई ‘तालिबानी’ भन्छ भन्ने चाहिँ मेरो बुझाई भन्दा परको विषय हो।

(‘द वायर’ मा २९ भदौमा ‘द वायर’मा प्रकाशित बलिउडका प्रसिद्ध गीतकार जावेद अख्तरको लेखको लक्ष्मण श्रेष्ठको अनुवाद।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved