काठमाडौं। नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले यो सिजनको बिग ब्यास लिग (अष्ट्रेलियन घरेलु टी–ट्वान्टी क्रिकेट प्रतियोगिता) पनि खेल्ने भएका छन्। सन्दीपलाई उनको पूर्व क्लब होबर्ट हुरिक्यान्समा यो सिजनका लागि पुनः अनुबन्धित गरेको क्लबले बिहीबार पुष्टि गरेको छ।
क्लबले आफ्नो वेबसाइट मार्फत यस्तो जानकारी गराएको हो । यससँगै हुरिक्यान्सले सिजन क्लबमा भित्राएको सन्दीप पहिलो विदेशी खेलाडी हुन्। अघिल्लो सिजन पनि सन्दीपले होबर्ट हुरिक्यान्सबाटै बिग ब्यास लिग खेलेका थिए। जसमा सन्दीपले ८ खेल मात्र खेल्दा कुल ८ विकेट नै लिएका थिए। यसअघिका २ सिजन सन्दीपले अर्को क्लब मेलबर्न स्टार्सबाट बिग ब्यास लिग खेलेका थिए।
यो अनुबन्ध पछि सन्दीपले गत सिजन हुरिक्यान्समा खेल्दा निकै रमाइलो भएको र यस वर्ष पूरै प्रतियोगिता खेल्न पाउने हुदा अझ उत्साहित रहेको बताएका छन्। एघारौं संस्करणको बिग ब्यास लिग आउदो मंसिरमा आयोजना हुँदैछ।
उनले यसैवर्ष प्रवेशाज्ञा (भिसा)को कारणले इङ्ल्याण्डका २ वटा प्रतियोगिता ‘दी हण्ड्रेड’ र ‘भाइटालिटी ब्लाष्ट टी–ट्वान्टी’ गुमाएका थिए। त्यसैगरी राष्ट्रिय टिमको खेलका कारण उनले क्यारेबियन प्रिमियर लिग पनि गुमाएका छन्। हाल राष्ट्रिय टिमको जिम्मेवारी पूरा गर्न उनी ओमानमा छन्।
नेपालले आउँदो भदौ २८ गतेदेखि ओमानमा आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आयोजक ओमान र अमेरिकासँग एक दिवसीय त्रिकोणात्मक श्रृङ्खला खेल्दैछ। त्यसअघि नेपालले ओमानमा नै पीएनजीसँग अभ्यास स्वरूप २ वटा एक दिवसीय खेल पनि खेल्नेछ।