कालिकोट। कालिकोटमा दल र स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरूले पाँच जनामाथि कुटपिट गरेका छन्।
सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ मा राप्रपा, पुतली चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार मोहन बहादुर केसी र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताले विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ५ स्थानीयमाथि आक्रमण गरेका हुन्।
उनीहरूको कुटपिटबाट सान्नीत्रिवेणी वडा नम्बर २ को चन्द्रज्योति आधारभूत विध्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर तिरुवा, स्थानीय परेक तिरुवा, धनमल तिरुवा, हस्त तिरुवा र विनोद तिरुवा घाइते भएका छन्।
घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि थप उपचारका लागि मान्मस्थित जिल्ला अस्पतालमा लगिएको छ। उनीहरूको टाउको, आँखा र छातीमा गम्भीर चोट लागेको छ।
स्वतन्त्र उम्मेदवार केसीका कार्यकर्ता नारायण बहादुर शाही (नरेश) ,ध्वज बहादुर शाही, मिठ्ठुदेवी बम (शैलजा), जनक केसी (अपिल) र सुरेन्द्र भनिने धनबहादुर केसी लगायतले कुटपिट गरेका स्थानीयले जानकारी दिएका छन्।
स्थानीयका अनुसार राप्रपाका केन्द्रीय सहमहामन्त्री धन बहादुर बुढा र एकीकृत समाजवादीका कालिकोट अध्यक्ष विश्वराज वमको निर्देशनमा विध्यालय व्यवस्थापन समितिका अध्यक्षलगायत स्थानीयलाई कुटपिट गरेका हुन्।
राप्रपा, पुतली र समाजवादीले चन्द्रज्योति आधारभूत विद्यालयमा शनिबार चुनावी सभा गरेका थिए। चुनावी सभामा राप्रपाका केन्द्रीय महामन्त्री बुढाले स्वास्थ्य चौकी चुच्चेढुंगामा राख्नुहुन्न भनेर भाषण गर्दैगर्दा विद्यालय व्यवस्थापन समिति अध्यक्षलगायत स्थानीयले विरोध गरेका थिए।
विरोध गरेको आरोपमा उनीहरूले स्थानीयलाई कुटपिट गरेका हुन्। बुढाले चुच्चेढुंगामा स्वास्थ्य चौकी राख्नुहुन्न भन्दै विगतमा अदालतमा मुद्दा समेत चलाएका थिए। उनको क्रियाकलापबाट विगतदेखि नै स्थानीय आक्रोशित हुँदै आएका छन्।
Facebook Comment
Comment