यूक्रेनसँगको युद्धमा रुसका ५० हजारभन्दा बढी सैनिकको मृत्यु

नेपालभ्युज

यूक्रेनसँगको युद्धमा रुसका ५० हजारभन्दा बढी सैनिकको मृत्यु

काठमाडौं । युक्रेनविरुद्धको युद्धका क्रममा ५० हजारभन्दा धेरै रुसी सैनिकको मृत्यु भएको छ ।

युद्धको दोस्रो वर्षमा फ्रन्ट लाईनमा मस्कोले रणनीति परिवर्तन गर्दै ‘मिट ग्राइन्डर स्ट्राटिजी’ अपनाएको थियो । बीबीसीका अनुसार सो रणनीतिपश्चात मृत्यु हुनेको सङ्ख्या पहिलेभन्दा २५ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

सन २०२२ को फेब्रुअरीदेखि बीबीसी रसिया, स्वतन्त्र मिडिया ग्रूप मिडियाजोन र स्वयम्‌सेवकले मृत्युको तथ्याङ्क राखेका छन् । कब्रस्तानमा भएका नयाँ चिहानबाट धेरै सैनिकको नाम पाउन सहज भएको थियो ।

खुला स्रोतलगायत आधिकारिक प्रतिवेदन, पत्रपत्रिका र सामाजिक सञजाललगायतबाट प्राप्त भएको जानकारीमार्फत बीबीसीले तथ्याङ्क सार्वजनिक गरेको हो ।

युद्धको दोस्रो वर्षमा २७ हजार ३ सय रुसी सैनिक मारिएका छन् । सो तथ्याङ्कले क्षेत्रीय प्रलोभनका कारण मानव जीवनमा पुर्‍याएको सङ्कटलाई दर्साएको छ । रुसले भने यो टिप्पणीलाई अस्वीकार गरेको छ ।

यूक्रेनी सेनामाथि दबाब सृजना गरी रुसी तोपखानालाई यूक्रेनी सेनाको स्थान पर्दाफास गर्न मस्कोले मिट ग्राइन्डर रणनीति अपनाएको थियो । सो रणनीतिअन्तर्गत मस्कोले भारी सङ्ख्यामा आफ्ना सैनिकलाई फ्रन्ट लाईनलमा परिचालन गरेर यूक्रेनी सेनालाई दबाबमा ल्याउन खोज्यो ।

सन् २०२२ को सेप्टेम्बरमा मस्कोले औपचारिकरूपमा मृत्युको तथ्याङ्क सार्वजनिक गरेको थियो । तर, सो तथ्याङ्कभन्दा ८ गुणा बढी अर्थात् ५० हजार नाघेको बीबीसीको तथ्याङ्कले देखाएको छ । मृत्यु हुनेको वास्तविक सङ्ख्या भने अझै निकै धेरै भएको अनुमान गरिएको छ ।

बीबीसीले रुसले अतिक्रमण गरेको यूक्रेनको पश्चिमी क्षेत्रस्थित डोनेत्स्क र लुहान्स्क क्षेत्रमा मृत्यु हुनेको सङ्ख्यालाई भने आफ्नो तथ्याङ्कमा समावेश गरेको छैन ।

यद्यपि, यूक्रेनले विरैले युद्धभूमिमा हुने मृत्युबारे टिपणी गर्ने गर्छ । फेब्रुअरीमा राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले ३१ हजार यूक्रेनी सैनिक मारिएको जानकारी गराएका थिए । तर, अमेरिकी गुप्तचर संस्थाका अनुसार मृत्यु हुने यूक्रेनी सैनिकको सङ्ख्या योभन्दा धेरै छ ।

मिट ग्राईन्डर रणनीति

बीबीसी र मेडियाजोनाले जारी गरेको मृतक सैनिकको पछिल्लो सूचीले रुसले अपनाएको नयाँ फ्रन्ट लाईन रणनीतिपश्चात ठूलो मानवीय क्षति भएको देखाउँछ ।

सो तथ्याङ्कअनसार सन् २०२३ जनवरीमा यूक्रेनको पश्चिमी क्षेत्रस्थित डोनेत्स्कमा भएको आक्रमणपश्चात रुसी सैनिकको मृत्यु ह्वात्तै बढेको पाइन्छ ।

युद्धको अध्ययन गर्न गठित संस्था ‘आईएसडब्लु’ का अनुसार रुसी सेनाले भुलेदार सहरमा लड्ने क्रममा ‘प्रभावहीन मानव-लहर शैली फ्रन्टल’ आक्रमण अपनाएको थियो । रुसले भोगेको सैन्य क्षतिको पछाडि चुनौतीपूर्ण भूभाग, कमजोर सैन्य बल र यूक्रेनको अप्रत्यासित हमला रहेको पाइएको छ ।

अर्को, सन् २०२३ मा भएको बख्मुतको युद्धमा भाडामा ल्याइएका वाग्नर समूहले रुसले सो सहरमाथि जित हासिल गर्न मद्दत पुर्‍याएको थियो। जसमा पनि धेरै रुसी सैनिक मारिएका थिए ।

वाग्नरका नेता येवगृनी प्रिगोजिनका अनुसार त्यसबेला करिब २२ हजार सेना मारिएका थिए । यस्तै, युक्रेनका पूर्वी क्षेत्र अभ्डिभ्का भएको युद्धमा पनि ठूलो सङ्ख्यामा सैनिक मारिएका थिए । (बीबीसीबाट)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved