गठबन्धन ‘खतरामुक्त’ !

जे होस्; एकीकृत समाजवादी केन्द्रीय गठबन्धनअनुसारकै प्रादेशिक गठबन्धनमा फर्किएको छ । यससँगै केन्द्रीय सत्ता गठबन्धन पनि खतरामुक्त भएको छ । केन्द्रमा एकीकृत समाजवादीको १० सांसद छन् ।

नेपालभ्युज

गठबन्धन ‘खतरामुक्त’ !

काठमाडौं । केन्द्रीय सत्ता गठबन्धन ‘खतरामुक्त’ भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार गठनको प्रक्रियामा वैकल्पिक गठबन्धनलाई समर्थन गरेको नेकपा (एकीकृत समाजवादी) केन्द्रीय गठबन्धनअनुसारकै प्रादेशिक गठबन्धनमा फर्किएपछि केन्द्रीय गठबन्धन खतरामुक्त भएको हो ।

यसअघि सोमबार सरकार गठनको प्रक्रियामा एकीकृत समाजवादीले नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्ष सम्मिलित वैकल्पिक गठबन्धनलाई समर्थन गरेको थियो ।

तर, मङ्गलबार आफ्नो निर्णय सच्याउँदै एकीकृत समाजवादीले वैकल्पिक गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका लक्ष्मणकिशोर चौधरीलाई आफूहरूको समर्थन नरहेको पत्र प्रदेश प्रमुख नजिर मियाँलाई थमाएका छन् ।

यद्यपि प्रदेश प्रमुख मियाँले लक्ष्मणकिशोर चौधरीसहित केन्द्रीय गठबन्धनअनुसारको प्रादेशिक गठबन्धनका तर्फबाट मुख्यमन्त्रीका लागि दाबी पेश गरेका नाउपाको रञ्जिता श्रेष्ठ चौधरी पक्षका सांसद कैलाश चौधरी दुवैको दाबी अस्वीकृत भएको भन्दै अबको दुई दिनभित्र पुन: दाबी गर्न समय दिएका छन् ।

सुदूरपश्चिम : मुख्यमन्त्रीको दुवै दाबी अस्वीकृत, दुई दिन समय थपियो

जे होस्; एकीकृत समाजवादी केन्द्रीय गठबन्धनअनुसारकै प्रादेशिक गठबन्धनमा फर्किएको छ । यससँगै केन्द्रीय सत्ता गठबन्धन पनि खतरामुक्त भएको छ । केन्द्रमा एकीकृत समाजवादीको १० सांसद छन् । एकीकृत समाजवादी सत्ता गठबन्धनबाट बाहिरिँदा सरकार कमजोर बन्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकीकृत समाजवादीकै मागअनुसार लचिलो बनेका छन् ।

एकीकृत समाजवादीका नेताहरूले सुदूरपश्चिममा आफ्नै सरकार बन्ने बताएका छन् । सुदूरपश्चिम प्रदेश, एकीकृत समाजवादीका एक सांसदले भने, “केन्द्रबाट आउने निर्देशनअनुरूप हामी चल्छौँ । सुनेअनुसार यहाँ हाम्रै नेतृत्वमा सरकार बन्नेछ ।”

झलनाथको प्रयास सफल

सुदूरपश्चिममा त्यसखाले घटनाक्रम विस्तार भइरहँदा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मङ्गलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका थिए ।

भेटमा उनले सुदूरपश्चिममा पहिलो चरणमा नै मुख्यमन्त्री चाहिने र त्यसो नभए गठबन्धन भत्किनसक्ने चेतावनी दिएका थिए । झलनाथले पार्टीभित्र पहिलो चरणमा नै मुख्यमन्त्री लिने निष्कर्ष निस्केको सुनाउँदै भनेका थिए, “सुदूपश्चिमको मात्रै कुरा होइन, केन्द्रको पनि सवाल हो । मिलेरै अगाडि जानुपर्छ । अन्यथा गाह्रो हुनसक्छ ।”

बिच्कियो एकीकृत समाजवादी, गठबन्धन ‘अशान्त’

यसअघि सोमबार एकीकृत समाजवादीको सचिवालय बैठक बसेको थियो । उक्त बैठकले गठबन्धनमा सहमति पालना नभएको निष्कर्ष निकाल्दै सुदूरपश्चिममा पहिलो चरणमा नै मुख्यमन्त्री लिने निर्णय गरेको थियो ।

यसअनुसार नेता खनालले प्रधानमन्त्रीलाई त्यसखाले चेतावनी दिएका थिए । नेपालभ्युजसँग नेता खनालले भने, “मिलेरै जानुभन्दा राम्रो कुरा केही होइन । त्यहीअनुसार मैले प्रधानमन्त्रीजीलाई पनि भनेको थिएँ । उहाँले पहल गर्छु भन्नुभएको थियो । हामीसँग उहाँ संवादमै हुनुहुन्छ । मिलेरै अगाडि जान्छौँ ।”

सोमबारको सचिवालय बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाले कुनै पनि हालतमा मुख्यमन्त्री चाहिने र त्यसो नभए कांग्रेस-राप्रपासहितको वैकल्पिक गठबन्धनलाई समर्थन गर्नुको विकल्प नभएको बिफ्रिङ गरेका थिए । त्यसमा नेता खनालले तत्कालै निर्णय नलिन आग्रह गर्दै आफूले प्रयास गर्ने बताएका थिए ।

पछिल्लो एमाले-माओवाद केन्द्र गठबन्धनलाई ‘वामपन्थी ध्रुवीकरण’सँग जोडेर हेरेका नेता खनालले सहमति-सहकार्यबाहेक अरु विकल्प नरहेको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved