बैतडी । बैतडीमा भतिजी नाता पर्ने एक किशोरीमाथि पटकपटक जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा काका नाता पर्ने युवक पक्राउ परेका छन् ।
पुर्चौडी नगरपालिकाकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा उनका काका पर्ने ३० वर्षीय युवक पक्राउ परेका हुन् ।
किशोरी चैत २८ गते जङ्गलमा मृत फेला परेकी थिइन् । उनी तीन दिनदेखि बेपत्ता थिइन् ।
किशोरी मृत फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक सरोजकुमार ठकुराठी नेतृत्वको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो ।
प्रारम्भिक अनुसन्धानबाट काका नाता पर्ने ती युवकले ललाई फकाइ धाकधम्की दिई किशोरीलाई पटकपटक बलात्कार गरेपछि किशोरी गर्भवती भएकी खुलेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेम विक्रम केसीले बताए ।
घटनापछि मृतकका बुबाले हाडनाता करणी र कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् । जाहेरीपछि आरोपी युवकलाई पक्राउ गरिएको हो ।
मृतक किशोरीको डडेलधुरा अस्पतालमा गरिएको पोष्टमार्टबाट उनको पेटमा १८ हप्ताको गर्भ रहेको पत्ता लागेको प्रहरीले जनाएको छ ।
Facebook Comment
Comment