प्रधानमन्त्री भन्छन्- कुनै दलले ‘कम्प्लिट्ली आईसोलेट’ भएको महसुस गर्‍यो भने स्थायित्व दिन सकिँदैन

नेपालभ्युज

प्रधानमन्त्री भन्छन्- कुनै दलले ‘कम्प्लिट्ली आईसोलेट’ भएको महसुस गर्‍यो भने स्थायित्व दिन सकिँदैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक दलहरू मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।

मङ्गलबार काठमाडौंमा आयोजित ‘सुशासनका चुनौती तथा सरकारको आगामी कार्यदिशा’ विषयक छलफलका क्रममा उनले यस्तो बताएका हुन् । “राजनीतिक दलहरू मिलेरै अगाडि बढ्नुपर्छ, त्यति नहुँदासम्म राजनीतिक स्थायित्व रहँदैन,” प्रधानमन्त्री प्रचण्डले भने ।

पछिल्लोपटक प्रधानमन्त्री बन्दा आफूले त्यही मान्यतालाई जोड दिएको उनले बताए । पछिल्लो निर्वाचनपछि आफू नेकपा (एमाले) को प्रमुख समर्थनमा प्रधानमन्त्री बनेको स्मरण गर्दै उनले भने, “मैले त्यसबेला राष्ट्रपतिचाहिँ कांग्रेसलाई दिउँ भनेको थिएँ, किनभने सबै मिलेरै अगाडि जानुपर्छ भनेर, राष्ट्रिय सहमति बनोस् भनेर ।”

खासगरी ठूला दलहरूले आफू राजनीतिकरूपमा ‘कम्प्लिट्ली आईसोलेट’ भएको महसुस गर्‍यो भने राजनीतिक स्थायित्व नहुने उनले बताए । “कांग्रेस, जो सबैभन्दा ठूलो दल हो । त्यसलाई आईसोलेट भएको महसुस नगराऔँ भनेर राष्ट्रपति दिन खोजेको थिएँ,” उनले भने, “पछि के-के भयो । तर, फेरि अवस्था ठीकै ठाउँमा छ ।”

सबै दलहरू नमिल्दा संविधान कार्यान्वयनमा चुनौती बढेको उनले बताए । संविधान सभाबाट संविधान बन्दा त्यसको कार्यान्वयन नभइन्जेलसम्म सबै दलहरू मिलेरै अगाडि जाने भन्ने सहमति पनि सँगै बनेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, “संविधान कार्यान्वयन नभइन्जेलसम्म केही हुँदैन । मिलेरै अगाडि जानुपर्छ ।”

संविधान बनेपछि जनतामा आशाको रक्तसञ्चार भएको भएपनि त्यसको कार्यान्वयनको पाटो कमजोर हुँदा जनतामा पुन: निराशा बढ्दै गएको उनले बताए । संविधानको कार्यान्वयन सबै दलहरू मिलेर मात्रै गर्न सकिने उनले बताए ।

तर, संविधानसँगै त्यसको कार्यान्वयन नभइन्जेलसम्म दलहरू मिलेरै अगाडि जाने समझदारीविपरीत अहिले दलहरू चलिरहेको प्रधानमन्त्री प्रचण्डले बताए । संविधान सभाबाट संविधान जारी भएपछि प्रधानमन्त्री बन्नका लागि अस्वस्थ प्रतिस्पर्धा भएको र त्यहीँबाटै परम्परागत चलन सुरू भएको उल्लेख गर्दै उनले भने, “अहिले जे पनि गर्ने परम्परा हाबी छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved