छुट्टै प्रदेशको माग राख्ने कँडेलको राजनीतिक यात्रा : वीरेन्द्रनगरको पहिलो मेयरदेखि मुख्यमन्त्रीसम्म

छुट्टै प्रदेशको माग राख्ने कँडेलको राजनीतिक यात्रा : वीरेन्द्रनगरको पहिलो मेयरदेखि मुख्यमन्त्रीसम्म

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका यामलाल कँडेलको जन्म विसं २०१८ कार्तिक २५ गते भाइटीकाको दिन गाईबान्ना, दैलेख (हालको गुराँस गाउँपालिका) मा भएको हो । बाबु मणिराम कँडेल र आमा स्वः भागीरथी कँडेलको कोखमा उनको जन्म भयो । उनका तीनजना छोरीहरू छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं.४ भैरवस्थान स्थायी घर भएका कँडेलले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर र शिक्षा शास्त्रमा स्नातक (बिएड, एमकम) गरेका छन् ।

उनी विसं २०३६ सालमा सुर्खेतको दशरथपुरमा पञ्चायती शासकविरूद्ध किसान आन्दोलनको प्रेरणाले राजनीतिमा सक्रिय भए । तत्कालीन अवस्थामा कँडेल हालको शिखर मावि रामघाटमा शिक्षण पेसामा संलग्न थिए ।

अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट विद्यार्थी राजनीति सुरु गरेका कँडेल महेन्द्र बहुमुखी क्याम्पसको प्राकको सदस्य, सचिव हुँदै अञ्चल कमिटी सदस्य, अञ्चल कमिटी सचिव हुँदै केन्द्रीय कमिटी सदस्यसम्म (२०३९ देखि २०४३) भए ।

विसं २०४२ सालदेखि २०४६ सालसम्म नेकपा (एमाले) काठमाडौंको विद्यार्थी फाँटको काममा सक्रिय हुँदै कमिटीको सदस्य हुँदै कार्यवाहक सचिवसम्म जिम्मेवारी सम्हालेको अनुभव छ ।

०४१ सालमा शान्ति सुरक्षा मुद्दामा काठमाडौंको भद्रगोल जेलघरमा ९ महिना जेलजीवन बिताएका कँडेलले विसं २०४९ सालमा नेकपा (एमाले) सुर्खेतको प्रथम जिल्ला अधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए ।

प्रजातन्त्र स्थापनापछि विसं २०४९ सालमा वीरेन्द्रनगर नगरपालिकाको पहिलो नगर प्रमुखमा निर्वाचित उनी २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको नगर प्रमुखबाट राजीनामा दिएर उम्मेदवार बनेका नेकपा (एमाले) को तर्फबाट सुर्खेत क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

विसं २०५२ सालमा नेकपा (एमाले) भेरी अञ्चल सचिव निर्वाचित भएका उनी २०५४ सालमा (३६ वर्षको उमेरमा) नेपाल सरकारको पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बनेका थिए ।

२०६२/२०६३ सालमा राजा ज्ञानेन्द्रको निरङ्कुशताविरूद्धको आन्दोलनमा सहभागी भएका उनी आन्दोलनको नेतृत्व गर्दा सुर्खेतको वीरेन्द्रनगरबाट गिरफ्तार भएर सुर्खेत कारागारमा ३ महिना जेल जीवन बिताएका थिए ।

विसं २०६४ सालको पहिलो संविधासभा निर्वाचनमा सुर्खेत क्षेत्र नं. २ बाट संविधानसभा सदस्य निर्वाचित भएका उनी पार्टीको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य हुँदै पोलिटब्यूरो सदस्यमा निर्वाचित भएका थिए । कँडेल तत्कालीन भेरी अञ्चल इन्चार्ज हुँदै पार्टीको कर्णाली प्रदेश सहसंयोजक भए ।

विसं २०७२ मा संविधान निर्माणको क्रममा तत्कालीन कर्णाली र भेरीका केही जिल्ला सुदूरपश्चिम प्रदेशमा मिसाएपछि उनले छुट्टै प्रदेशको माग राखेर गरिएको जनआन्दोलनको अगुवाइ गरेका थिए ।

यामलाल कँडेल कर्णालीको मुख्यमन्त्री नियुक्त

विसं २०७४ सालमा सुर्खेत प्रदेशसभा निर्वाचन २ (क) बाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचितका थिए । एमाले संसदीय दलको नेता थिए ।

विसं २०७८ मा चितवनमा सम्पन्न पार्टीको दशौं महाधिवेशनपछि पार्टीको स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशको इन्चार्जको भूमिका रहेका उनी हाल स्थायी कमिटी सदस्य तथा दैलेख जिल्ला इन्चार्ज रहेका छन् ।

विसं २०७९ सालमा सुर्खेतको प्रदेशसभा निर्वाचन २ (क) बाट पुनः कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचितका उनी ६ वर्षको लामो प्रयासपछि मुख्यमन्त्री नियुक्त भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved