लुम्बिनीमा माओवादी केन्द्रका महरा आज मुख्यमन्त्री बन्दै

नेपालभ्युज

लुम्बिनीमा  माओवादी केन्द्रका महरा आज मुख्यमन्त्री बन्दै

काठमाडौं । केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै धमाधम प्रदेश सरकार फेरिन थालेका छन् । लुम्बिनीमा माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री बन्ने भएका छन् । केन्द्रको सहमति अनुसार माओवादीको भागमा परेको लुम्बिनी प्रदेशमा महरा नेतृत्वको सरकार बन्ने भएको हो ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएसँगै नयाँ सरकार गठनको तयारी भएको छ । सत्तारुढ दलहरुले माओवादी संसदीय दलका नेता जोखबहादुर महराको नेतृत्वमा नयाँ सरकार गठनका लागि ४४ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गर्ने तयारी गरेका छन् ।

शुक्रबार कार्यालय समय सुरु हुने बित्तिकै दाबी पेस गर्ने तयारी गरेका छन् ।

प्रदेशमा एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर संकलन भइसकेको बताइएको छ ।

महरालाई समर्थन गर्ने विषयमा सत्ता गठबन्धन भित्र ७ बुँदे सहमति भइसकेको छ ।

सहमतिअनुसार राजनीतिक नियुक्तिहरू सरकारमा सहभागी सबै दलहरूको अपनत्व हुने गरी गर्नुपर्ने, प्रदेशका गौरवका योजनाहरू, प्रदेश राजधानीको निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश प्राविधिक विश्व विद्यालय, प्रदेश प्रहरी समायोजन र स्थानीय सेवा ऐन निर्माण गर्दा साझा प्राथमिकताका रूपमा कार्यान्वयन गर्ने, प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माणलगायतमा सबै दलहरूको अपनत्व हुने गरी गर्ने सहमति भएको हो।

माओवादीका स्थायी समिति सदस्यसमेत रहेका महरा रोल्पा निर्वाचन क्षेत्र नम्बर एक (१) बाट निर्वाचित सांसद हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(Pushpa Kamal Dahal)का विश्वासपात्र मानिने महरा एमाले नेता लीला गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा झन्डै ३ महिना अर्थमन्त्री बनेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved