‘जर्मनी पुगेर साथीलाई होलीको बारेमा सुनाउँछु’

नेपालभ्युज

‘जर्मनी पुगेर साथीलाई होलीको बारेमा सुनाउँछु’

अन्नपूर्ण । जर्मनीबाट पोखरा आकी लुका आज लेकसाइडमा होली खेल्न पाउँदा निकै खुसी थिइन् । उनको अनुहारभरि रङ्ग दलिएको थियो । सेतो पहिरनमा सजिएकी लुकाको कपडा पनि रङ्गले पोतिएको थियो ।

नेपालमा मनाइने रङ्गको पर्व निकै राम्रो लागेको उनको प्रतिक्रिया थियो । “कसैको अनुहार रङ्गविहीन देखेको छैन । यो निकै रमाइलो पल हो,” लुकाले भनिन्, “नेपालमा आएको मैले पहिलोपटक होली खेलेँ । यस्तो माहोलमा रमाइलो गर्न पाउँदा म निकै खुसी छु ।”

लुकासँगै उनका साथी पनि रङ्ग खेलिरहेका थिए । नेपालको यो पर्वका बारेमा जर्मनी फर्किएपछि अरू साथीहरुलाई सुनाउने लुकाले बताईन् । “जर्मनी गएपछि रङ्ग खेलेको, नाचेको, रमाएको बारेमा अरू साथीहरुलाई भन्नेछु । सबै सुनेपछि उनीहरु पनि पक्का खुसी हुनेछन्,” लुकाले भनिन्, “समयले साथ दिएसम्म अर्को वर्ष परिवार वा अरू साथीहरुलाई लिएर होली खेल्न नेपाल आउनेछु ।”

उनीसँगै धेरै पर्यटक पोखरा लेकसाइड क्षेत्रमा रङ्गसँग रमाउँदै थिए । लेकसाइड अम्बोटबाट नाचगान गर्दै र रङ्ग दल्दै लेकसाइड परिक्रमा गर्दा विदेशी पर्यटक निकै रमाएका देखिन्थे । पहिलोपटक होलीमा सहभागी भएका कतिपय विदेशी पर्यटकले विशेष रुचिका साथ नेपालीसँगै रमाइलो गरेका थिए । पोखरा घुम्न आएका पर्यटकलाई रङ्गीन बनाउने मेसो रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले जुराइदिएको हो । पर्यटक मात्रै होइन, आज पोखरा लेकसाइड पुगेका सबैको अनुहार रङ्गीन थियो । लेकसाइडका सडकदेखि फेवाताल किनारका पार्क, होली मनाउनेहरुले भरिभराउ थियो ।

रेवान पोखराले होली खेल्नुअघि अम्बोटदेखि खहरचोकसम्म पञ्चेबाजाको धुनमा पैदलयात्रा गरेको थियो । त्यस्तै तीन स्थानमा कन्सर्टसँगै डिजे सेसन गरिएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए । “हामीले बर्सेनि होलीलाई उत्सवमय बनाउन कार्यक्रम गरिरहेका छौँ । यो पटक  र्‍यालीसहित अन्य कार्यक्रम गरियो,” अध्यक्ष भट्टराईले भने, ‘हामीले तीन स्थानमा कन्सर्टसँगै डिजे सेसन राखेका थियौँ भने होलीका लागि रङ्गको पनि व्यवस्था गरेका थियौँ ।”

सधैँको जस्तै यो पटकको होली कार्यक्रम पनि भव्य रुपमा सम्पन्न भएको अध्यक्ष भट्टराईले बताए । “अब बिस्तारै पर्यटकको सिजन पनि सुरु हुँदैछ । पर्यटक धेरै हुने समयमा भएकाले विदेशी पर्यटकहरुले यसलाई बडो गज्जबले मनाए,” अध्यक्ष भट्टराइले भने, “यसले पोखरा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास छ । अब यसलाई ‘ब्रान्डिङ’ गर्न सरकारले पनि सोच्नुपर्छ ।”

होलीमा पर्यटकको उल्लेख्य सहभागिताले उत्साह बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । “पोखरा होलीका लागि पनि उत्कृष्ट गन्तव्य बनेको छ । यसले पर्यटन प्रवर्द्धन र विकासमा महत्वपूर्ण योगदान दिएको छ,” अध्यक्ष श्रेष्ठले भने, “अर्को वर्षमा यो भन्दा व्यवस्थित तरिकाले लैजान आवश्यक छ । यसका लागि प्रचारप्रसार गर्न जरुरी छ ।”

होलीलाई व्यस्थित गरी ब्रान्डिङ गर्न आगामी वर्ष योजना बनाएर अघि बढ्ने पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले बताए । “आज पोखराका हरेक क्षेत्रमा होलीको रौनक देखियो यसले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ,” प्रवक्ता तिम्सिनाले भने, “होली मनाउन पोखरा जानुपर्छ है भन्ने सन्देश दिनका लागि आगामी वर्षबाट केही योजना बनाउँछौँ ।” होलीलाई थप व्यवस्थित बनाउन पर्यटन क्षेत्रका सङ्घसंस्थासँग छलफल गरेर आगामी वर्षको योजना तय गरिने उनको भनाइ थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved