माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टीबीएम प्रयोग गरिने

नेपालभ्युज

माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टीबीएम प्रयोग गरिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १ हजार ६३ मेगावाट माथिल्लो अरूण र ६ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजनाको सुरूङ खन्न टनेल बोरिङ मेसिङ (टीबीएम) प्रयोग गर्ने भएको  छ।

टीबीएममार्फत् भेरी बबई र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्य आयोजनाका सुरूङ खन्दा सफल र प्रभावकारी देखिएपछि उक्त प्रविधिलाई माथिल्लो अरूण र दूधकोशी जलविद्युत आयोजनामा पनि प्रयोगमा ल्याउन लागिएको छ ।

अर्धजलाशययुक्त माथिल्लो अरूण जलविद्युत आयोजनाको मुख्य सुरूङको लम्बाइ ८.४ किलोमिटर छ । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको सुरूङको लम्बाइ १३ किलोमिटर छ । निर्माणको अधिकांश समय खर्च हुने जलविद्युत आयोजनाहरूको सुरूङ हाल ड्रिलिङ गरी विस्फोटक पदार्थको प्रयोग गरी विस्फोट गराएर निर्माण हुँदै आएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अपर अरूण हाइड्रो–इलेक्ट्रिक लि.का प्रबन्ध–सञ्चालक फडिन्द्रराज जोशी, दूधकाशी जलविद्युत कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत विमल गुरूङ सम्मिलित टोलीले सुनकोशी मरिण आयोजनाको स्थलगत अवलोकन गरी टीबीएममार्फत खनिएको सुरूङको जानकारी लिएको छ ।

टोलीले टीबीएमको प्राविधिक पक्ष, यसको प्रयोग गर्दा बेहोर्नु परेका समस्या तथा चुनौतीहरू, भौगर्भिक जटिलता, लागत तथा समय, कामको गुणस्तर, प्रभावकारितालगायतका विषयमा आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरी जानकारी लिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सिंचाइका दुईवटा आयोजनाहरूको सुरूङ टीबीएममार्फत खन्दा समय थौरै लागेको र काम पनि गुणस्तरीय देखिएकाले उक्त प्रविधिलाई ठूला सुरूङ भएका दुई जलविद्युत आयोजनाहरू प्रयोगमा ल्याउन लागिएको बताए ।

घिसिङले माथिल्लो अरूण र दूधकोशी जलविद्युत आयोजनाहरूको वित्तीय व्यवस्थापन अन्तिम चरणमा पुगेको र अव निर्माणका लागि टेण्डर आह्वान गर्न लागिएकाले भेरी बबई र सुनकोशी मरिणमा टीबीएमबाट सुरूङ खन्दा देखिएका समस्या र अनुभवलाई सम्बोधन गर्ने गरी टेण्डर कागजात तयार गरिने बताए ।

‘सुनकोशी मरिण डाइभर्सन र दूधकोशीको मुख्य सुरूङको लम्बाइ बराबर भएकाले टीबीएमबाटै खन्ने गरी प्रक्रिया अगाडि बढाइसकेका छौं, माथिल्लो अरूणमा टीबीएम पुर्याउन प्रवेश सडक समस्या देखिएको छ, मेसिन पुर्याउन सम्भाव्य देखिएका उक्त आयोजनामा पनि टीबीएम नै प्रयोगमा ल्याइने छ’, घिसिङले भने ।

‘एकपल्टको लगानीका हिसाबले केही महंगो देखिएता पनि टीबीएममार्फत सुरूङ खन्दा अन्य प्रवेश सुरूङ निर्माण गर्नु नपर्ने, न्यून वातावरणीय तथा सामाजिक मुद्धा, निर्माणमा लाग्ने कम समयलगायतलाई हिसाव गर्दा टीबीएमको प्रयोग सस्तो र प्रभावकारी नै हुने देखिएको छ ।’ उनले थपे ।

टीबीएमको प्रयोगमार्फ सुरूङ निर्माण छिट्टो सकिने तर अन्य संरचनाहरू नसकिने अवस्था आउन नदिन सुरूमै आयोजनाको समग्र व्यवस्थापन गरिनु पर्ने उनले उल्लेख गरे ।

मुख्य सुरूङको लम्बाइ १३ किलोमिटर र उक्त सुरूङ खन्न निर्माण गर्नु पर्ने दुईवटा प्रवेश (एडिट) सुरूङको लम्बाइ ५ किलोमिटर गरी दूधकोशी आयोजनाले कुल १८ किलोमिटर सुरूङ निर्माण गर्नुपर्ने छ ।

टीबीएमबाट खन्दा एडिट सुरूङहरू बनाउनु पर्दैन । एडिट सुरूङ पुग्न बनाउनुपर्ने करिब ७ किलोमिटर प्रवेशमार्ग आवश्यक हुँदैन ।

माथिल्लो अरूण विश्व बैंक र दूधकोशी एशियाली विकास बैंकको नेतृत्वमा लगानी जुटाएर निर्माण अगाडि बढाउन लागिएको छ । सन् २०१९को मूल्यमा निर्माण अवधिको ब्याज, मूल्यबृद्धिलगायतसहित १ अर्ब ७५ करोड डलर (करिब २ खर्ब १४ अर्ब) अनुमानित लागत रहेको माथिल्लो अरूणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइने छ ।

विश्व बैंकको नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट र स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाएर वित्तीय व्यवस्थापन गरिने योजना बनाइएको छ ।

दूधकोशी आयोजनाको अनुमानित लागत निर्माण अवधिको व्याजसहित २ अर्ब २० करोड अमेरिकी डलर (करिब २ खर्ब २५ अर्ब रूपैयाँ) रहेको छ । यसमध्ये ऋणबाट १ अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ ।

एडिबीको नेतृत्वमा विभिन्न अन्तर्राष्टिय वित्तीय संस्थाहरूबाट आयोजनामा एक अर्ब डलर सहुलितपूर्ण ऋण लगानी हुने छ । यसमध्ये एडिबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved