सत्ता गुम्ने डरका कारण गृहमन्त्री रविको संरक्षणमा प्रचण्ड-ओली

‘वेटिङ प्राईमिनिस्टर’का रूपमा रहेका ओली नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्न नदिने पक्षमा छन् ।

नेपालभ्युज

सत्ता गुम्ने डरका कारण गृहमन्त्री रविको संरक्षणमा प्रचण्ड-ओली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री छन् । दोस्रोपटक गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको धेरै भएको छैन, गत फागुन २३ गते गृहमन्त्री नियुक्त लामिछाने सहकारी प्रकरणका कारण विवादमा छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेलाई ‘सहकारी पीडक’ नै भनेको छ । उसको एकसूत्रीय माग छ— राजीनामा ।

सोमबार मात्रै बसेको संसद् बैठकमा कांग्रेस सांसद दीपक गिरीले भने, “गृहमन्त्रीको हामीलाई अरु चाहिएको होइन, राजीनामा चाहिएको हो ।” गृहमन्त्री लामिछानेले राजीनामा नदिए संसद् चल्न नदिने कांग्रेसको चेतावनी छ ।

त्यसमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्रीले राजीनामा नदिए उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन माग गरेका छन् । रिपोर्टहरूले गृहमन्त्री लामिछाने दोषी देखिएको भन्दै कांग्रेसले यो विषयमा ठूलै अडान लिने सङ्केतसमेत गरेको छ ।

त्यसो त गृहमन्त्री लामिछाने मुछिएको भनिएको पोखराको सूर्यदर्शन सहकारीबारे पोखरा महानगरपालिकाले ८९ पृष्ठको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनको ७८औं पृष्ठमा एक हजारभन्दा धेरै बचतकर्ताले जम्मा गरेको १ करोड ३५ लाखभन्दा धेरै रकम नक्कली खाता खोलेर हिनामिना गरेको उल्लेख छ । प्रतिवेदनमा नक्कली खाता खोल्नेमध्येको एउटा नाम रवि लामिछाने भएको उल्लेख छ ।

त्यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा गृहमन्त्री लामिछानेसहित नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) नेता दिपेश पुनलगायतविरुद्ध उजुरी परेको थियो । जसमध्ये पुनसहित ४ जना पक्राउ परेका छन् भने बाँकीको खोजी भइरहेको प्रहरीले बताएको छ ।

यसपछि कांग्रेसले संसद्‌मा व्यापक प्रश्न उठाउने गरेको छ । दिपेश पुन पक्राउ पर्दा गृहमन्त्री लामिछानेले कसरी उमुक्ति पाए ? भनेर कांग्रेस सांसदहरूले प्रश्न गरेको-गर्‍यै छन् । उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त्यसको जवाफ मागेको-माग्यै छन् ।

तर, प्रधानमन्त्री प्रचण्डले भने सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछानेको संलग्नता नरहेको भन्दै ‘क्लीन चिट’ नै दिएका छन् ।

“हालसम्मको अनुसन्धानले सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अरु कुनै भूमिकामा माननीय गृहमन्त्री रवि लामिछाने नरहेको र विचाराधीन मुद्दामा पनि उहाँ नजोडिएको देखिएको छ । त्यसैले उहाँ संलग्न भएको आधार पुष्टि भएको छैन,” प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

प्रधानमन्त्री प्रचण्ड मात्रै होइन, प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समेत गृहमन्त्री लामिछानेको बचाउमा बोलेका छन् ।

मङ्गलबार बिहान धनगढी विमास्थलमा उनले भने, “सहकारीसँग कुनै सम्बन्ध नै नभएका गृहमन्त्री लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोज्ने ! उनी सहकारीका सञ्चालक हुन् र ? केही पनि छैन भने छानबिनमा कसरी प्रभाव पर्छ ?”

सत्ता गुम्ने डर 

लामिछाने नहुँदा प्रधानमन्त्री प्रचण्ड र प्रमुख सत्ता साझेदार दल एमाले अध्यक्ष ओलीलाई सरकारको बहुमत गुम्ने डर छ ।

तेस्रोपटक विश्वासको मत लिइसकेका प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्री लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच्क्यो भने आफूलाई गाह्रो पर्नेमा सचेत छन् । रास्वपासँग अहिले २१ सिट छ ।

प्रधानमन्त्री प्रचण्डलाई पछिल्लोपटक रास्वापका २१ सहित १५७ सांसदले समर्थन गरेका छन् । यदि रास्वपाले समर्थन फिर्ता लियो भने प्रधानमन्त्री प्रचण्डको पक्षमा आवश्यक सङ्ख्याभन्दा २ सिट कम हुने देखिन्छ ।

२७५ सदस्यीय संसद्‌‌‌‌‌‌‌‌‌मा सरकार टिक्न कम्तिमा १३८ सांसदको समर्थन चाहिन्छ । रास्वपाले समर्थन फिर्ता लियो भने प्रधानमन्त्री प्रचण्डको पक्षमा १३६ सिट मात्रै देखिन्छ । जुन सरकार ढल्ने अवस्था हो ।

ओली पनि त्यसमा सचेत छन् । ‘वेटिङ प्राईमिनिस्टर’का रूपमा रहेका ओली नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्न नदिने पक्षमा छन् । प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन एमालेतिर सारेपछि प्रसन्न भएका ओलीले भनेका थिए— प्रचण्डजीलाई धन्यवाद भन्नुपर्छ । अब बल्ल उचित गठबन्धन बन्यो, कांग्रेससँगको गठबन्धन अनुचित थियो ।

उनले वर्तमान सरकारसँग भएको बहुमत गुम्न नहुने बताउने गरेका छन् । आफ्ना सांसदलाई सरकारको आलोचना नगर्न निर्देशन नै दिएका ओली सरकारले बहुमत गुमाएको खण्डमा संविधानको धारा ७६ को ३ अनुसार कांग्रेसले नै सरकार गठनको मौका पाउनेमा पनि सचेत छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved