कृषि क्रान्तिको कुरा लिएर गाउँ-गाउँमा विप्लव, भन्छन्- राजनीतिलाई उत्पादनसँग बदल्नुपर्छ

कृषि क्रान्तिको कुरा लिएर गाउँ-गाउँमा विप्लव, भन्छन्- राजनीतिलाई उत्पादनसँग बदल्नुपर्छ

सुर्खेत । माओवादी पार्टी शान्ति प्रक्रियामा आयो तर, नेता नेत्रविक्रम चन्द (विप्लव) क्रान्तिबाटै देशको परिवर्तन हुने बताउँदै पार्टीबाटै अलग भए र गठन गरे— नेपाल कम्युनिष्ट पार्टी ।

हिंसात्मक गतिविधि गरेको भन्दै २०७५ फागुन २८ मा विप्लवको पार्टीलाई केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले प्रतिबन्ध लगायो । त्यसपछिका २ वर्ष भूमिगत जीवन बिताएका विप्लव २०७७ फागुन २१ गते सार्वजनिक भए । सरकारसँग तीनबुँदे सहमति गरेर राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा उनै प्रधानमन्त्री ओलीसँगै सार्वजनिक भए ।

सार्वजनिक भएपछि अधिकांश समय गृहजिल्ला कपिलवस्तुको शिवगढीमा बिताए । त्यहाँ उनले सामूहिक कृषि खेतीको सुरुवात गरे ।

‘आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता एवम् कार्यकर्ता’ नारा लिएर नेतादेखि कार्यकर्तासम्म यतिबेला खेतबारीमा छन् । विप्लव अहिले कृषिमा आर्थिक क्रान्तिको नारा दिएर देशभर उनका कार्यक्रताले आलु रोप्ने, धान रोप्ने, सुन्तला रोप्ने अभियान देशभर सञ्चालन गरेका छन् ।

देशभर सञ्चालन भएको उनको पार्टीको अभियान जुम्ला र कालीकोटमा स्याउ रोप्ने अभियानअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिकाको फोईमहादेवमा दुई हजार र जुम्लाको हिमा गाउँपालिका ६, हडुल्यास्थित १० हजार विरुवा रोपेका छन् ।

विकट गाउँमा पुगेका उनले भाषण गर्दा पहिले जस्तो समान्तवाद क्रान्तिका कुरा गर्दैनन् । बरु उनी समाजवाद ल्याउन हिँडेका नेताहरूले श्रममा नजोडिएका कारणले बिग्रिएको बताउँछन् ।

समाजवादका कुरा गर्दा बीपीलाई सम्झना

विप्लवले सोमबार कालीकोटको फोईमहादेवमा स्याउ रोपेर आएका विप्लवले कालीकोट र जुम्लाको सिमानामा रहेको नाग्म बजारमा आयोजना गरिएको जनसभालाई सम्बोधन गरे । त्यहाँ उनले नेपाली कांग्रेसका संस्थापक नेता विशेश्वरप्रसाद कोइरालालाई सम्झिए ।

“यहाँ कांग्रेसका समर्थक पनि आउनुभएको होला । बीपीले प्रजातान्त्रिक समाजवादको सपना देखेका थिए । उनी हरेक नेपालीका घरमा एउटा दुहुनो गाई, एक हल गोरु, गरिखान पुग्ने जमिन, औषधिमूलो गर्न र सन्तानलाई शिक्षा दिन सक्ने अवस्था होस् भन्ने चाहन्थे,” उनले बीपीलाई सम्झिए, “हलो जोतिरहेको किसानको तस्वीर हेरेर योजना बनाउनु भन्ने उनको निर्देशनको अर्थ थियो, नेपाली जनसाधारणको मर्म र हितलाई सर्वोपरि राख्नु ।”

त्यस्तै, गरिबको समाजवाद ल्याउने भनेर लागेको माओवादी बिग्रिएको उनले सम्झिए । “हामी समाजवाद ल्याउन भनेर लाग्यौँ । तर, सबै उत्पादन बदल्न सकेनौँ । अहिले पश्चातापमा छौँ,” उनले भने, “कोही तस्करी, कोही भ्रष्टाचारमा माओवादी नेता लागेको सुन्दा अहिले दुःख लाग्छ ।”

राजनीतिलाई उत्पादनमा बदल्ने इच्छा

विप्लवले अहिले राजनीतिलाई उत्पादनमा बदलेर देशको विकास गर्ने लक्ष्य राखेको बताउने गरेका छन् । देशमा सबै खाले क्रान्ति-आन्दोलन भएपनि ती क्रान्ति र आन्दोलनहरूले देशमा आवश्यक विकास नगरेको उनको समीक्षा छ ।

“देशमा विभिन्न खाले लडाइँ लड्दै आयौँ । विभिन्न आन्दोलन गर्दै आयौँ । आज फेरि तपाईंसँग फरक तरिकाले आएका छौँ । आर्थिक क्रान्तिको अर्को अभियान र कृषि क्रान्तिको केन्द्रका रूपमा आएका छौँ । स्याल रोप्न जुम्ला, कालीकोट आएका छौँ,” विप्लवले भने ।

अगाडि उनले भने, “नेपाललाई हेर्‍यौँ भने राजनीतिक भनेको कुनै बेला बुन्दुक बोक्नु मात्रै भाषण गर्नु मात्रै हैन रहेछ । जनताको आर्थिक अवस्था परिवर्तन नआएका कारणले जनतामा निराशा छाएको छ । युवामा वितृष्णा फैलँदै गएको देखियो । राजनीतिकलाई उत्पादनमा, राजनीतिलाई कृषिमा बदल्नुपर्छ । उत्पादनमा बदल्नुपर्छ,” उनले भने ।

राजनीतिलाई उत्पादनमा बदलेर जनतामा जानु आजको आवश्यकता रहेको उनले बताए । “अहिले हामीले हिमालमा स्याउ, जडिबुटी, ओखर, पहाडमा सुन्तला र तराईमा धान, तरकारी तथा फलफूल उत्पादनमा जोड दिएका छौँ ।”

नेपाल राजनीति गोलचक्करमा फसेको निष्कर्ष

नेपालमा उत्पादनसँग जोडिएको राजनीतिक नहुँदा समस्या भएको विप्लव बताउँछन् । “नेपालमा कुर्सीको वरिपरि राजनीतिक घुमेको छ । अहिले पनि राजनीतिक गोलचक्करमा छ,” उनी भन्छन्, “जनतामा निराशा छ । बेरोजगारी बढेको छ । युवाहरू विदेशतिर गएका छन । यसलाई उत्पादनको सुरुवात गरेर रोक्न हामी चाहान्छौँ ।”

अहिले अवस्थामा जनताले मन्त्री गनेर बस्नुपर्ने र परनिर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी भएको उनले बताए । “नेपालको गोलचक्कर राजनीतिक र दलाल पुँजीवादको अन्त्य नेपाली विशेषताको समाजवादले गर्ने योजनामा छौँ,” उनले भने ।

जुम्ला र कालीकोटमा १५ हजार सुन्तलाका बिरुवा

जुम्लाको हिमा गाउँपालिकाअन्तर्गत हडुल्याको २२ हजार वर्गमिटर क्षेत्रफलमा १० हजार स्याउका बिरुवा रोप्ने अभियान सुरू गरिएको नेकपाका नेता भरत बमले बताए ।

“पहिलो चरणमा एक हजार पाँचसय स्याउका बिरुवा रोपिने,” उनले नेपालभ्युजसँग भने, “उत्पादन वृद्धि नभइ मुलुक र जनताको समृद्धि सम्भव नहुने कुरामा विश्वास राख्दै कृषि क्रान्ति लिएर आएका हौँ ।”

तीनै तहका सरकारले उत्पादनशील क्षेत्रमा लगानी गर्न नसकेको बमले बताए । “अब सबै पार्टीले गाउँ-गाउँमा उत्पादन वृद्धिका लागि जाँगर चलाउने अभियान ल्याउन जरुरी छ  । हाम्रो पार्टी अब उत्पादन वृद्धिका क्षेत्रमा बढी केन्द्रीत हुन्छ,” उनले भने ।

नेताहरूमा काम गर्ने र श्रम गर्ने पद्धतिको विकास हुन सकेमात्र जनता उत्साहित हुनुका साथै आत्मनिर्भर खेतीतर्फ उन्मुख हुने बमले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved