परिवारभित्र राजनीति

रञ्जिता-रेशमबीच अध्यक्षका लागि शक्ति सङ्घर्ष

२०७८ पुसमा पार्टी गठन हुँदा रञ्जिता अध्यक्ष थिइन् भने संरक्षकमा तत्कालीन समयमा कारागारमा रहेका रेशम थिए ।

नेपालभ्युज

रञ्जिता-रेशमबीच अध्यक्षका लागि शक्ति सङ्घर्ष

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र नेतृत्वका लागि शक्ति सङ्घर्ष चर्किएको छ । पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र पार्टीका संरक्षक रेशम चौधरीबीच नेतृत्वका लागि शक्ति सङ्घर्ष चर्किएको हो । त्यसो त उनीहरू दम्पती हुन् ।

२०७८ पुसमा पार्टी गठन हुँदा रञ्जिता अध्यक्ष थिइन् भने संरक्षकमा तत्कालीन समयमा कारागारमा रहेका रेशम थिए । अहिले रेशम रिहा भइसकेका छन् । त्यसपछि अध्यक्ष रञ्जिता र संरक्षक रेशमबीच नेतृत्वका लागि शक्ति सङ्घर्ष चर्किएको हो ।

उसो त गत पुस २६ देखि २८ गतेसम्म टीकापुरमा चलेको पहिलो महाधिवेशनमै रञ्जिता-रेशमबीच मनमुटाव देखिएको थियो । महाधिवेशनमा दुवैले पार्टी अध्यक्ष पदमा दाबी गरेका थिए । तर, अन्तिममा महाधिवेशनले रेशमलाई नै अध्यक्ष निर्वाचित गरेको थियो ।

तर, रेशमको अध्यक्ष पदलाई निर्वाचन आयोगले वैधानिकता दिएन । रेशमको नाम अद्यावधिक गर्न नमिलेको उल्लेख गर्दै आयोगले अध्यक्षमा रञ्जिता नै कायम रहेको बताएको छ । आयोगको निर्णयबाट रञ्जितालाई राहत मिलेको छ भने रेशमलाई आहत ।

महाधिवेशनदेखि यहाँसम्म आइपुग्दा रञ्जिता-रेशमबीचको विवाद अझ चर्किएको पार्टी प्रवक्ता दामोदर पण्डित स्वीकार्छन् । “उहाँहरूबीचको मनमुटाव बढ्दै गएको पक्कै हो । तर, यसलाई हामीले आन्तरिकरूपमै मिलाउँछौँ,” प्रवक्ता पण्डितले नेपालभ्युजसँग भने ।

गठन भएको ६ महिनाभित्रै भएको प्रादेशिक तथा सङ्घीय संसदीय निर्वाचनमा खासगरी थरुहट क्षेत्रबाट दह्रो प्रभाव देखाएको नाउपा अध्यक्ष रञ्जिता पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा समेत अटाइन् । उनले केही समय भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालिन् । त्यसबेला रेशम कारागारमै थिए । उनकै सल्लाहअनुसार रञ्जिता मन्त्री बनेकी थिइन् ।

बाहिर रञ्जिता देखिए पनि पार्टी रेशमकै सल्लाहअनुसार चल्थ्यो, रञ्जिताले पार्टी निर्णयहरू पनि त्यसैगरी लिन्थिन् । तर, अहिले रेशम कारागारबाट रिहा भएर पार्टी अध्यक्षमा दाबी गरेपछि पत्नी रञ्जितासँग शक्ति सङ्घर्ष चर्किएको हो, मनमुटाव बढेको हो ।

नाउपाका एक नेताले भन्छन्, “लोग्ने स्वास्नीको झगडा, परालको आगो भन्छन् । त्यस्तै हो कि खै के हो बुझ्न गाह्रो छ । यसलाई विशुद्ध राजनीतिक मान्ने कि घरायसी मनमुटाव पनि मान्ने, हामी पनि कफ्यूजनमा छौँ । तर, यो आन्तरिकरूपमै समाधान हुनुपर्छ भनेर लागिरहेका छौँ ।”

महाधिवेशनबाट यहाँसम्म आइपुग्दा खासगरी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयले पनि रञ्जिता-रेशमबीच विवाद थप चर्किएको हो । नाउपासँग सुदूरपश्चिममा ७ सिट छ । रेशम राजनीतिक हैसियतअनुसार मन्त्रालय लिएर सरकारमा जानुपर्ने पक्षमा छन् भने रञ्जिता सरकारमा सहभागी हुन नहुने पक्षमा छिन् ।

तर, पछिल्लो गठबन्धन परिवर्तनपछि पनि नाउपा प्रदेश सरकारमा सहभागी भएको छ । गत फागुन २५ गते मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाबाट दुई मन्त्री र एक राज्यमन्त्री थपेका छन् ।

मन्त्री बन्नेहरूमा संसदीय दलका नेता घनश्याम चौधरी (आर्थिक मामिला), खुसीराम चौधरी (विनाविभागीय) र इन्दिरा गिरी (भूमि व्यवस्था, कृषि तथा सहकारी) छन् । त्यहाँ यसअघि नाउपाकै रामेश्वर चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री छन् ।

फागुन २५ गते मन्त्रीका रूपमा शपथ लिनेहरूले रेशमको निर्देशनमा शपथ लिएको नाउपाका एक नेता बताउँछन् । रञ्जिताले पनि सरकारबाट फिर्ता हुन निर्देशन दिइसकेका छन् ।

तर, मन्त्रीहरूले सरकार भने छाडेका छैनन् । यसबारे रञ्जिता-रेशमबीच विवाद भइरहेको छ । यसबारे आज टीकापुरमा बस्ने पार्टीको केन्द्रीय समिति बैठकले उपयुक्त निर्णय गर्ने प्रवक्ता भण्डारीले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved