आँखै अगाडि हिमाल हेर्न इलाममा पर्यटकको घुइँचो, प्रवर्द्धनका लागि गाउँपालिकाले एप्स बनाउँदै

नेपालभ्युज

आँखै अगाडि हिमाल हेर्न इलाममा पर्यटकको घुइँचो, प्रवर्द्धनका लागि गाउँपालिकाले एप्स बनाउँदै

इलाम । इलामको माइजोगमाई गाउँपालिका–५ तुम्लिङ पुगेका टीकाराम बाँस्तोलालाई कञ्चनजंघा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो ८ हजार ५ सय८६ मिटर अग्लो हिमाल प्रष्ट देखिन्छ भन्ने उनलाई लागेकै थिएन । “ हिमाल हेरेरै बसिरहुँ लाग्यो, फुत्त उफ्रिदा हिमाल छोइएलाजस्तो, चिसो हावाको स्पर्श कति आनन्द ।” उनले भने ।

तुम्लिङ मात्र होइन नयाँबजार, थुम्के, मेग्मा, जौबारी, कालपोखरीलगायत इलामका उत्तरी भेगका लेकाली क्षेत्र नेपाल भारत सीमामा पर्ने पर्यटकीयस्थल हुन् ।

हिमाल हेर्न, झुल्के घामको दृश्यावलोकन गर्न, लोपोन्मुख वन्यजन्तु रेडपाण्डा हेर्न र औषधीय गुण भएका जडीबुटी खोज्न पाइने भएपछि खोज, अनुसन्धान र अवलोकन गर्न नेपालसहित भारत, भुटान, बङ्गलादेशलगायतका मुलुकबाट पर्यटक आउने गरेका छन् ।

प्रदेश सरकारले मेची राजमार्गमा पर्ने सूर्योदय नगरपालिकाको फिक्कल बजारदेखि माइजोगमाईको केन्द्र नयाँबजारसम्म जोडिने २० किलोमिटर सडक कालोपत्रे गरिदिएपछि सडक सहजताका कारण पर्यटक भित्रिने क्रम वृद्धि भएको गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले बताए ।

“सडक बनिएपछि सजिलो भएको छ, तराईबाट आउने पर्यटक कन्याम, फिक्कल हुँदै सिधै नयाँबजार आएर हिमाल हेर्न, रेडपाण्डाबारे बुझ्न र जडीबुटी खोजी गर्न तुम्लिङतिर जाने गर्नुभएको छ ।” उनले भने ।

जैविक विविधताले भरिएको माइजोगमाई प्रचारप्रसारको अभावमा ओझेल परेपछि गाउँपालिकाले पर्यटन प्रवद्र्धनको काम सुरु गरेको छ । पर्यटकीयस्थललाई प्रवर्धन गर्न ‘टुरिज्म एप्स’ सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको अध्यक्ष थेबेले बताए ।

‘एप्समा यहाँका पर्यटकीयस्थल समेटिने छन् । उनले भने , “त्यसका साथै कृषिका कुरा, धार्मिक, सांस्कृतिक एवं यहाँका पुरातात्विक सम्पदाका कुरा समावेश हुन्छ ।” देश विदेशमा बसेर पनि माइजोगमाईमा कहाँ–कहाँ पर्यटकीय क्षेत्र छन् भन्नेबारे जानकारी लिन सकियोस् भनेर एप्स सार्वजनिक गर्न लागिएको उनले सुनाए ।

पालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेर गत वर्ष थुम्केरानीमा तीन दिने थुम्केरानी महोत्सव आयोजना गरेको थियो । थुम्केरानी तुम्लिङ मेग्मा संरक्षण तथा पर्यटन प्रवद्र्धन समितिको आयोजनामा महोत्सव भएको थियो । थुम्केरानीबाट झुल्के घामको दृश्यावलोकनका साथै १० वटै स्थानीय तह, भारतका विभिन्न ठाउँ र तराईका फाँटको दृश्यावलोकन गर्न सकिन्छ ।

माइजोगमाई गाउँपालिका २ र ६ को सङ्गमस्थलमा पर्ने थुम्के डाँडामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको हो । लेकाली जीवजन्तुको अवलोकन, सूर्योदयको मनोरम दृश्यले भरिएको यस क्षेत्रमा दैनिक दर्जनौँ पर्यटक पुग्ने गरेका छन् ।

थुम्के र जौवारीमा गरिएको केसर खेतीले समेत पर्यटकलाई तान्न थालेको छ । अध्यक्ष थेवेले गाउँपालिकाको थुम्केसहित माथिल्लो लेकाली क्षेत्रको विस्तृत अध्ययन गरी पर्यटन पूर्वाधारका काम थालिएको बताए ।

पालिकामा उत्तरे पोखरी, शिव मन्दिर बौद्धगुम्बासहित विभिन्न देवस्थलसहितका धार्मिक पर्यटकीयस्थल रहेका छन् ।

पाँच सय ६१ मिटरदेखि तीन हजार एक सय मिटरसम्मको उचाइमा माइजोगमाईको भूगोल पर्दछ ।

यो क्षेत्र कृषि उत्पादनको उर्वर भूमि भएकाले कृषि पर्यटनलाई विकास गर्ने पालिकाको तयारी छ । थुम्केरानी जोड्ने सडक स्तरोन्नतिको काम सम्पन्न भएकाले यहाँ आउने पर्यटकलाई सहज भएको छ ।

यस क्षेत्रमा ऐतिहासिक जौवारी बजारसहित नेपालकै ठूलो आलु विकास केन्द्र रहेको छ ।
रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved