प्रहरी नियन्त्रणमा रहेका लघुवित्त पीडितलाई मुद्दा नचलाउन एमालेको माग

नेपालभ्युज

प्रहरी नियन्त्रणमा रहेका लघुवित्त पीडितलाई मुद्दा नचलाउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले नयाँ बानेश्वरस्थित संघीय संसद भवनबाट प्रहरीको नियन्त्रणमा रहेका लघुवित्त पीडितलाई मुद्दा नचलाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएको छ ।

बुधवार नेकपा(एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, एमाले संसदीय दलका सचेतक महेश बर्तौला लगायत एमाले संसदीय दलको टोलीले गृहमन्त्री श्रेष्ठलाई भेट गर्दै यस्तो ध्यानाकर्षण गराएको हो ।

गत सोमवार लघुवित्त पीडितहरुको एक समूह संसद भवन परिसर पसेर नाराबाजी गरेसँगै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । हाल उनीहरुलाई सरकारले प्रहरी नियन्त्रणमै राखेर मुद्दा चलाउने तयारी गरेको छ ।

एमालेले लघुवित्त पीडितहरुलाई मुद्दा चलाउनु बेठिक हुने भन्दै उनीहरुलाई बिना शर्त रिहा गर्न गृहमन्त्रीलाई आग्रह गरेको छ । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमाले सचेतक महेश बर्तौलाले लघुवित्त पीडितहरु न्यायको लागि आन्दोलनरत रहेका बताए । उनीहरु सुरक्षा संयन्त्रका कमजोरीका कारण संसद भवनभित्र प्रवेश गरेकाले मुद्दा चलाउनु नहुने बर्तौलाको भनाई छ ।

दोषि देखिने सुरक्षा संयन्त्रका व्यक्तिहरुलाई कारबाही गर्नुपर्ने उनले बताए । त्यस्तै संसद भवन परिसर र सिंहदरबार परिसरमा बार लगाएर निषेधित क्षेत्र तोकिएकोप्रति पनि एमालेले असन्तुष्टि व्यक्त गरेको छ ।

सुरक्षा संयन्त्रलाई बलियो बनाउँदै ती स्थानहरुको तारबार हटाउन पनि गृहमन्त्रीलाई आग्रह गरिएको समेतक बर्तौलाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved