के एनआईसी एशिया बैंक डुब्न लागेकै हो ?

राष्ट्र बैंक भन्छ- एनआईसी एशिया बैंक सुरक्षित छ

पछिल्लोसमय एनआईसी एशिया बैंक विवादमा तानिएको छ । सर्वसाधारणदेखि बैंकर्सहरू सबैले बैंकप्रति आ-आफ्नो धारणा पस्किरहेका छन् । बैंक डुब्न लागेको छ भन्ने हल्ला बजारमा छाइरहेको छ ।

के एनआईसी एशिया बैंक डुब्न लागेकै हो ?

काठमाडौं । पछिल्लोसमय एनआईसी एशिया बैंक विवादमा तानिएको छ । सर्वसाधारणदेखि बैंकर्सहरू सबैले बैंकप्रति आ-आफ्नो धारणा पस्किरहेका छन् । बैंक डुब्न लागेको छ भन्ने हल्ला बजारमा छाइरहेको छ ।

बैंकमा निक्षेप राखेका निक्षेपकर्ता तथा बचतकर्ताहरू धमाधम पैसा निकाल्नका लागि बैंक धाउन थालेका छन् । केही दिनयतादेखि विभिन्न सञ्चारमाध्यमहरूले पनि बैंकको बारेमा नकारात्मक समाचारहरू प्रकाशन तथा प्रसारण गर्दै आइरहेका छन् ।

यद्यपि, यससम्बन्धी बैंकले भने पटक-पटक प्रेस विज्ञप्ति निकालेर स्पष्टीकरण दिइरहेको छ । बैंकले प्रेस विज्ञप्ति जारी गर्दै सर्वसाधारण तथा आफ्ना ग्राहकहरूलाई विभिन्न सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण भएका एनआईसी एशियासम्बन्धीका नकारात्मक समाचारहरू भ्रामक रहेको बताउँदै आइरहेको छ ।

के हो एनआईसी एशियाको बजार हल्ला ?

केही दिन अघिमात्र एनआईशी एशिया बैंकले आर्थिक समस्याको कारण सञ्चालन गर्न नसक्ने भन्दै ५० वटा शाखा बन्द गरिदिन राष्ट्र बैंकलाई पत्र लेखेको थियो भन्ने समाचार आएको थियो । जसको लगत्तै बैंकले एक विज्ञप्ति जारी गर्दै उक्त समाचार झुटो र तथ्यहीन रहेको जनाएको थियो ।

त्यसपश्चात् पुन: एनआईसी एशियाले राष्ट्र बैंकको नीति-नियमभन्दा बाहिर गएर काम गरेको कारण बैंकका डेपुटी सीईओ [नायब प्रमुख कार्यकारी अधिकृत] तथा सूचना अधिकारी सुधीर पाण्डेले राजीनामा बुझाएको भन्ने समाचार आयो ।

उक्त समाचारप्रति पनि बैंकले विज्ञप्ति जारी गर्दै तथ्यहीन, कपोकल्पित रहेको भन्दै ध्यानाकर्षण भएको बताएको छ । बैंकलाई पटक-पटक विभिन्न आरोपहरू लाग्ने गरेको छ ।

त्यीमध्ये नियमविपरीत सञ्चालकलाई ऋण दिएको, करसम्बन्धी कागजात पूरा नगरेको, ऋण-स्वपुँजी अनुपातसम्बन्धी राष्ट्र बैंकको निर्देशनको पालना नगरेको, दोहोरो वासलात भएका कम्पनीलाई पनि ऋण दिएको, व्यक्तिगत कर्जा प्रवाह गर्दा पालना गर्नुपर्ने नियमहरूलाई बेवास्ता गरेको, कर्जा सूचना केन्द्रसँग सम्बन्धित नियमहरू पालना नगरेको, जथाभावी सेवा शुल्क लिएको, ऋणीहरूमाथि अत्याचार गरेकोलगायतका आरोपहरू उठ्दै आउने गरेका छन् ।

त्यस्तै, गत सोमबार अर्थात् माघ २९ गते सुनसरीको इनरुवामा प्रहरीले बरामद गरेको करिब दुई करोड बराबरको नक्कली नोटमा पनि एनआईसी एशियाको ट्याग भेटिएको छ । यद्यपि, यस विषयमा भने प्रहरीले अन’सन्धान भइरहेको जनाएको छ ।

डेपुटी सीईओको राजीनामा 

पछिल्लोसमय एनआईसी एशिया बैंकको डेपुटी सीईओ (प्रमुख नायब कार्यकारी अधिकृत) सुधीर पाण्डेको राजीनामा पनि निकै विवादित बनेको छ । उनले माघ २४ गते बुधबार बैंकका सीईओ रोशन न्यौपानेसमक्ष  राजीनामा दिएका थिए ।

यद्यपि, उनको राजीनामा सञ्चालक समितिले अस्वीकृत गरेको छ । शनिबार बसेको सञ्चालक समितिको बैठकमा डेपुटी सीईओ पाण्डेको राजीनामा सीईओ न्यौपानेले सञ्चालक समितिमा पेश गरेका थिए ।

बजारमा भ्रामक हल्ला फिँजिएको बेला राजीनामाले नकारात्मक सन्देश जाने भन्दै सञ्चालक समितिले पाण्डेको राजीनामा अस्वीकृत गरेको खुलाइएको छ ।

एक महिनामा बचतकर्ताले निकाले करिब १४ अर्ब निक्षेप 

बैंकका बारेमा नकारात्मक अफवाह बजार हल्ला छाउन थालेसँगै निक्षेपकर्ताहरूले एक महिनाकै अवधिमा करिब १४ अर्ब बराबरको निक्षेप निकालेका छन् ।

नेपाल बैंकर्स सङ्घले उपलब्ध गराएको निक्षेप विवरणअनुसार एनआईसी एशियाको निक्षेप पुसमा ३ खर्ब ८१ अर्ब ४० करोड रुपैयाँ थियो । तर, माघमा भने ३ खर्ब ६७ अर्ब ६८ करोडमा खुम्चिएको छ ।

एनआईसी एशिया स्वस्थ्य छ : राष्ट्र बैंक 

नेपालका बैंक तथा वित्तीय संस्थाको एक मात्र नियामक निकाय नेपाल राष्ट्र बैंकले भने एनआईसी एशियाको बारेमा चलेको बजार हल्लाको पछि नलाग्न सबैलाई अनुरोध गरेको छ । राष्ट्र बैंकका अनुसार एनआईसी एशिया बैंक डुब्न लागेको छ भन्ने खबर झुटो हो ।

यद्यपि, एनआईसी एशिया बैंकको पछिल्लो समयको कारोबार खस्किएको तथ्याङ्कले देखाइरहेको छ । एनआईसीका उपसूचकहरू  खस्किँदै जान थालेपछि बैंकले राष्ट्र बैंकसमक्ष देशभर सञ्चालन भइरहेका ५० वटा शाखा बन्द गर्नका लागि पत्र लेखेको कुरा साँचो रहेको राष्ट्र बैंकले खुलाएको छ ।

यद्यपि, एनआईसी एशियाले भने यस विषयमा विज्ञप्ति निकाल्दै सो कुरा झुटो र भ्रामक रहेको बताएको थियो ।

एनआईसी एशिया डुब्ला त ?

एनआईसी एशियाको बारेमा पछिल्लो समय धेरैथरीका हल्ला बजारमा आइसकेपश्चात् धेरैका मनमा उब्जिएको प्रश्न हो, के एनआईसी एशिया बैंक डुब्ला ?

यसको उत्तर जो कोहीले सजिलै दिन सक्दैन । बैंकको तथ्याङ्कलाई आधार मानेर हेर्ने हो भने बैंक डुब्न सम्भावना निकै कम छ । बैंक तथा वित्तीय संस्था डुब्न र फस्टाउन’मा निक्षेपकर्ता तथा ग्राहकको निकै ठूलो भूमिका हुन्छ ।

विभिन्न अफवाह बजारमा छाइसकेपश्चात् पछिल्लो समय निक्षेपकर्ताहरूले भटाभट आफ्नो निक्षेप रकम झिक्न थालेका छन् । माथि उल्लेख गरेको तथ्याङ्कले नै निरन्तरता पाइरहेमा बैंक नडुब्ला भन्न पनि सकिँदैन ।

तथ्याङ्कगत रूपमा हेर्दा हाल बैंकको सेयर पुँजी १४ अर्ब ९१ करोड ८० लाख रुपैयाँ रहेको छ । बैंकको क्यापिटल फन्ड ३४ अर्ब २३ करोड रुपैयाँ रहेको छ भने बैंकमा कूल ३ खर्ब ८१ अर्ब ३९ करोड रुपैयाँ आम लगानीकर्ताको निक्षेप रहेको छ ।

बैंकले ‘रिस्क बटेज एक्पोजर’मा मात्रै २ खर्ब ८० अर्ब ३४ करोड रुपैयाँ छुट्याएको छ । बैंकसँग पुस मसान्तसम्म खुद तरलता २७.२८ प्रतिशत रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्म १ अर्ब ९० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको बेस रेट झरेर ९.६८ प्रतिशतमा सीमित भएको छ ।

बैंकको एनपीएल १.१९ प्रतिशत मात्रै छ । यो भनेको बैंकको कूल कर्जाको जम्मा ३ अर्ब ६० करोड १६ लाख रुपैयाँमा मात्रै निष्क्रिय कर्जा हो । तर समग्र बैकिङ क्षेत्रको निष्क्रिय कर्जाको अनुपातलाई हेर्दा एनआईसी एशिया बैंकको अनुपात निकै कम छ ।

बैंकको ११.७३ प्रतिशत क्यापिटल एडुकेशी रेसियो रहेको छ । बैंकको यो इन्डिकेटरले पनि बैंकमा कुनै रिस्क नभएको देखाउँछ भने बैंकको कोर क्यापिटल पनि ८.५ प्रतिशत भए पुग्नेमा ८.६४ प्रतिशत रहेको छ ।

बैंकको स्पेडदर ३.९९ प्रतिशत रहेको छ भने एसएलआर २६.६० प्रतिशत र सीडी रेसियो ७६.८६ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता दिल्लीराम पोख्रेल एनआईसी बैंक नडुब्ने दाबी गर्छन् । “बैंकमा समस्या आयो भन्दैमा आम नागरिकको बचत डुब्दैन । समस्या ठूलै भएमा राष्ट्र बैंकले तुरुन्तै टेकओभर गरिहाल्छ । एनआईसीमा पछिल्लो समय केही समस्याहरू देखिएका छन्, गुनासाहरू पनि उत्तिकै आइरहेका छन् तर पनि बैंक नै डुब्न लागेको भन्ने कुराचाहिँ सत्य होइन,” उनले भने ।

यसै सन्दर्भमा मङ्गलबार एक विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकले नेपालको बैंकिङ्ग क्षेत्र सुरक्षित रहेको र सर्वसाधारणहरूलाई ढुक्कले कारोबार गर्न आग्रह गरेको छ । साथै बैंकले विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाका विरुद्ध नकारात्मक अफवाह नफैलाउन पनि सबैलाई अनुरोधसमेत गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved