सद्भाव चाहन्छ रौतहट, तर अतिवादीहरू साम्प्रदायिक दङ्गा फैलाउँछन् !

रौतहटको इतिहास र सुन्दरतामा तेजाब छ्याप्न उद्यत छ, यसपटकको चर्चा । मान्छेहरू धर्मको नाममा विभक्त छन् । आस्थाको नाममा समूह-समूहमा बाँडिएका छन् ।

नेपालभ्युज

सद्भाव चाहन्छ रौतहट, तर अतिवादीहरू साम्प्रदायिक दङ्गा फैलाउँछन् !
वीरगञ्जमा जारी अनिश्चितकालीन कर्फ्यू आदेशपछिको अवस्था

काठमाडौं । रौतहट पहाडी र मधेसी समुदायको मिश्रित बसोबास रहेको जिल्ला हो, जहाँबाट सर्वप्रथम नेपाली क्रान्तिको सुरुवातसमेत भएको मानिन्छ । नेपालको मध्य-तराईको उर्वर भूमिको रूपमा समेत चर्चामा आइरहने रौतहटका अनेक परिचय छन् ।

रौतहट कहिले देशका अधिकांश जिल्लालाई चिनी खुवाउने उखु उत्पादनको केन्द्रको रूपमा चर्चामा आउँछ त कहिले साहुकारको अन्यायविरुद्ध मिटरब्याज पीडितहरूले सामूहिक आवाज उठाउने जिल्लाका रूपमा चर्चामा आउँछ ।

त्यसो त रौतहट विकृत र क्रूर मानसिकताबाट निर्देशित केही घटनाहरूले पनि चर्चामा ल्याउने गर्छ । रौतहट, जहाँ इट्टाभट्टाको नरसंहार काण्ड मच्चियो । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम २०६४ को चुनावअघि इट्टाभट्टामा जिउँदै मानिस धकेलेको आरोप बोकेर कारबासमै छन् ।

चर्चित ‘गौर नरसंहार’को जिल्ला पनि रौतहट नै हो । माओवादी सशस्त्र विद्रोहताका त्यहाँ २७ जनाको ज्यान जानेगरी गौर नरसंहार मच्चिएको थियो । तत्कालीन माओवादी समर्थित मधेसी राष्ट्रिय मुक्ति मोर्चा र उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमबीच एकै स्थानमा कार्यक्रम गर्ने विषयमा विवाद हुँदा २७ जनाको ज्यान गइरहेको थियो ।

जे होस्, रौतहट विभिन्न कारणले चर्चामा आइरहन्छ ।

गर्विलो इतिहास जोगाउन चुनौती

ऐतिहासिक रौतहट जिल्लाका विभिन्न गाउँहरूको नामाकरण ऐतिहासिक घटना, व्यक्तिविशेष र प्रसिद्धि कमाएको वस्तुको नामबाट भएको पाइन्छ ।

चन्द्रनिगाहपुर, तत्कालीन श्री ३ महाराज चन्द्र शमशेरको निगाहमा बसेको वस्ती हो । नेपाल-अङ्ग्रेज युद्धमा अङ्ग्रेजहरूको व्यापक दमन भएपछि लडाइँमा नेपाली पक्ष-विजयी भएको ठाउँ हो, लडैया समनपुर ।

गरुडहरूको बथानलाई धपाएर बसेको वस्ती भनिन्छ, गरूडा । गोडही गुठीलाई गैँडालाई धपाएर बसेको वस्ती भनिन्छ भने ब्रम्हा स्वयम् आएर बसाएको वस्ती ब्रम्हपुरी भनिन्छ ।

मध्य-तराईमा पर्ने रौतहट विविध आर्थिक, सामाजिक तथा सांस्कृतिक विशेषता र सम्भाव्यता बोकेको जिल्ला हो ।

अहिले पनि रौतहट चर्चामा छ ।

तर, यसपटक रौतहटले पाएको चर्चाले भने त्यहाँको गर्विलो इतिहासलाई नै धुलिसात पार्ने हो कि भन्ने संशय रौतहटका बासिन्दामा छ । सांस्कृतिक, सामाजिक र ऐतिहासिकरूपमा दह्रिलो इतिहास बोकेको रौतहट अहिले फेरि सामाजिक सद्भावको ठूलो परीक्षामा उभिएको छ ।

रौतहटको इतिहास र सुन्दरतामा तेजाब छ्याप्न उद्यत छ, यसपटकको चर्चा । केही दिनयता धार्मिक सद्भाव र आस्था बिथोल्ने प्रयासमा छ केही तत्त्व ।

मान्छेहरू धर्मको नाममा विभक्त छन् । मान्छेहरू आस्थाको नाममा समूह-समूहमा बाँडिएका छन् । लाखौं आवादी रहेको रौतहट अहिले सामाजिक सद्भाव मात्रै खल्बलिले चिन्तामा छ, धार्मिक सहिष्णुता खोज्दै इतिहासकै सङ्गीन घडीमा उभिएको छ । त्यसको बाछिटा पर्सासम्म पुगेको छ ।

सातसय प्रहरीको घेरामा मूर्ति विसर्जन

अहिले रौतहटमा सामाजिक सद्भाव नभड्किओस् भन्ने उद्देश्यका साथ रौतहटको इसनाथ नगरपालिकामा कर्फ्यू लगाइएको छ । करिब सातसय प्रहरी परिचालन गरिएको छ ।

इसनाथ ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गर्नुपरेको हो ।

शुक्रबार पहिलोपटक हिन्दू समुदायले मूर्ति विर्सजन गर्न लागेका थिए । मुस्लिम समुदायले अवरोध गरेका थिए । पटक-पटक दुई समुदायबीच विवाद हुँदै आएकाले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ ।

मूर्ति सेलाउन बाटो खुलाउने प्रहरीको २४ घण्टा बढीको प्रयास असफल भयो । त्यसपछि शनिबार सूचना जारी गर्दै कर्फ्यू आदेश जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । अहिले मूर्ति सेलाइसकेपछि पनि सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै कर्फ्यू लगाइएको उनले बताए ।

उनले नेपालभ्युजसँग भने, “यहाँका मूर्ति सेलाउन विषयमा दुई समुदायबीच झडप भएको थियो । विवाद भयो । फेरि शनिबार सहमति भयो । आइतबार फेरि सेलाउने बेलामा केहीले विवाद निकाले । सोमबार ठूलो सुरक्षाका बीच मूर्ति सेलाइयो । अहिले फेरि अरू जिल्लामा समर्थन र विरोधमा र्‍याली हुन थालेपछि यहाँको संवेदनशीलतालाई ख्याल गर्दै कर्फ्यू लगाइएको हो ।”

कसरी बिग्रियो सद्भाव ?

घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रबार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा शनिबार साँझ दुई समुदायबीच झडप भएको थियो । झडपमा दुवै पक्षका मानिसलाई चोटपटक लागेपनि प्रहरीले घाइतेको सङ्ख्या यकिन नभएको जनाएको छ ।

शनिबार साँझ ५ बजेदेखि लागू हुनेगरी घिउरा गाउँपूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकाको लागि कर्फ्यू आदेश जारी गरिएको छ ।

घिउरा गाउँका स्थानीयले शुक्रबार सरस्वती माताको मूर्ति लिएर वर्सेनी सेलाउँदै आएको गाउँको उत्तर विद्यालय छेउको पोखरीमा जानेक्रममा मुस्लिम समुदायका मानिसहरूले बाटो अवरुद्ध गरेपछि मूर्ति त्यहीँ सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।

तर, सरस्वतीको मूर्ति तथा डिजे बाजामा तोडफोड र क्षति पुर्‍याइएको हिन्दूपक्षले गुनासो गर्दै आएको छ । उक्त क्षेत्रका नेतृत्व गरिरहेका सङ्घीय संसद् किरणकुमार साहको पहलमा सिडिओ हिरालाल रेग्मीको रोहबरमा दुवै पक्षलाई राखेर मूर्ति सेलाउन दिने शनिबार सहमति भएको थियो ।

सहमतिविपरीत मुस्लिम समुदायका केही उच्छृङ्खल युवाहरूले ढुङ्गामुडा गरेपछि स्थिति तनावग्रस्त बनेपछि मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोख्रेल र सशस्त्र प्रहरीको मधेस प्रदेश प्रमुख डीआईजी दीपेन्द्र साह घटनास्थल पुगेपछि कर्फ्यू आदेश जारी भएको थियो ।

कर्फ्यू आदेश जारी भएपछि अहिले रौतहटमा अवस्था सामान्य छ । दुवै समुदायका मानिस आ-आफ्नो घरभित्र बसिरहेका छन् ।

बाछिटा पर्सासम्म

रौतहट इसनाथको घटनाको विरोधमा पर्सामा समेत र्‍याली निस्कियो । हिन्दू धर्मावलम्बीहरूले विरोधस्वरूप शान्तिपूर्ण सद्भाव र्‍याली निकाले ।

जिल्लाभरबाट मानिसहरू सदरमुकाम वीरगञ्ज जाने योजनामा थिए । रौतहटको इसनाथको विवादलाई लिएर वीरगञ्जमा सोमबार प्रदर्शन भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यू लगाएको हो ।

वीरगञ्जमा भएको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यू आदेश जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल बताउँछन् ।

उनी भन्छन्, “रौतहटमा घटना सामान्य बनिसकेको छ । त्यहाँ उत्तेजित बनेको भीड मत्थर भइसकेको छ । तर, सद्भाव र्‍यालीको नाममा प्रदर्शन गर्दा त्यो आक्रोशलाई मलजल होला भन्ने आकलन गरेर कर्फ्यू लगाइएको हो ।”

रौतहटमा अनेक जिल्लाका समाज छ । बासिन्दाहरू आ-आफ्नो समाजको कारण विभाजित छन् । एकताको सूत्रमा बाँधिन खोजेको रौतहटलाई विभाजनमा खेल्नेहरूका कारण अहिलेको अवस्था आएको कतिपयको विश्लेषण छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved