माओवादीको विधान अधिवेशनबारे बाबुराम भट्टराईको चार बुँदे टिप्पणी

नेपालभ्युज

माओवादीको विधान अधिवेशनबारे बाबुराम भट्टराईको चार बुँदे टिप्पणी
फाइल फोटो

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रको हालै सम्पन्न विधान अधिवेशनबारे चार बुँदे टिप्पणी गरेका छन् ।

एकताका लागि माओवादीको नामबाट कम्युनिष्ट हटाउनुपर्ने अडान राख्दै आएका पूर्वप्रधानमन्त्री डा. भट्टराईले शनिबार साँझ सामाजिक सञ्जालमार्फत चारबुँदे टिप्पणी गरेका हुन् ।

उक्त विधान निरन्तरतामा क्रमभंगताको अभाव रहेको, विचारको बन्ध्याकरण र सारसंग्रहवादी, संगठनात्मक डेन्टिंग पेन्टिंग गरिएको र भावनात्मक दोहन मात्र भएको भट्टराईको भनाई छ ।

यस्तो छ भट्टराईको चारबुँदे टिप्पणी

१.निरन्तरतामा क्रमभंगताको अभाव

नेपालमा माओवादी आन्दोलनको चमत्कारिक उदय,विकास र शान्तिपूर्ण रूपान्तरणको मूल कारण वा रहस्य भनेकै वस्तुगत र आत्मगत परिस्थितिको ठोस मूल्यांकनको आधारमा विचार, नीति, कार्यक्रम र व्यवहारमा निरन्तरतामा क्रमभंग गर्ने र नयाॅ पहल गर्ने सोंच,साहस र शैली हो! तर वर्तमान माओवादी नेतृत्वमा संविधानसभाबाट नयाॅ संविधान जारी भए यता चुनावदेखि चुनाव र सत्तादेखि सत्ताको राजनीतिको निरन्तरता बाहेक अरू केही देखिएको छैन र अहिलेको विधान अधिवेशन पनि त्यसैको निरन्तरता मात्र देखियो।

२. विचारको बन्ध्याकरण र सारसंग्रहवाद

राज्यको संविधान र दलको विधानको प्रस्तावनाले राज्य र दलको वैचारिक-राजनीतिक दिशा प्रष्ट्याउॅछ। माकेको नयाॅ विधानको प्रस्तावनामा कुनै सिर्जनशीलता,नयाॅपन,प्रष्टता छैन, बरू पुरानै विचार र केही नयाॅ शब्दावलीहरूको सारसंग्रहवादी ककटेल मात्र छ।उदाहरणकोनिम्ति “मार्क्सवाद-लेनिनवाद-माओवाद”(मा-ले-मा)लाई पार्टीको निर्देशक सिद्धान्त मान्ने जनयुद्धकालीन सोंच र बहुदलीय प्रतिस्पर्धी राजनीतिाटै ‘समाजवाद’को यात्रा गर्ने पछिल्लो कार्यदिशालाई घालमेल गरिएको छ! मा-ले-मा को शास्त्रीय वा प्रचलित अर्थ ‘सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति’ हो! यसरी एकै साथ दुइ वैचारिक डुंगामा चढेर पुग्ने कता हो? ‘सेतो’ भनेको ‘कालो’ हो भनेर कार्यकर्ता र जनतालाई ठग्न मिल्छ?

३.संगठनात्मक डेन्टिंग पेन्टिंग

विधानले पार्टीको विचार र राजनीतिलाई संगठन,नेतृत्व,शैलीमा ढाल्दछ र जनतासंग जोडेर कार्यदिशा कार्यान्वयन गर्न सहयोग गर्दछ! परन्तु मा-केको संगठनात्मक सिद्धान्त,ढाॅचा र शैलीमा कुनै नयां क्रमभंगता छैन! बरू स्टालिनको पालादेखि भ्रष्टीकृत भैसकेको “ जनवादी केन्द्रीयता” लाई अलिकति डेन्टिंग पेन्टिंग गरेर निरन्तरता दिएको छ! अहिलेको बहुवर्गीय अर्थ-राजनीतिक परिवेश र डिजिटल प्रविधिको युगमा त्यस्तो ब्यूरोक्रेटिक संगठनात्मक ढाॅचा र अतिकेन्द्रीकृत नेतृत्व प्रणालीले मा-केलाई घरको न घाटको बनाउने प्रबल सम्भावना छ!

४.भावनात्मक दोहन मात्र नहोस्

अतः मा-के नेतृत्वले यस्तो दोधारे,अस्पष्ट सोंच,नीति र शैली अवलम्वन गरेर ऐतिहासिक जनयुद्ध र त्यसका महत्वपूर्ण राजनीतिक उपलब्धीहरूहरूको भावनात्मक दोहन गर्दै संसदीय राजनीतिक खेलमा टिकिरहने निरर्थक प्रयास गर्नुसट्टा युगानुकूल विचार,राजनीति,संगठन,नेतृत्व,शैलीको छलाॅगमय विकास गर्दै एक्काइसौं शताब्दीमा समाजवादको नयाॅ मोडेल र बाटो निर्माण गर्नेतर्फ ध्यान दिने हो कि ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved