बर्दिवासमा पहिलोपटक ऐतिहासिक ‘सडक खाना महोत्सव’को आयोजना (तस्वीरहरु)

बर्दिवासमा पहिलोपटक ऐतिहासिक ‘सडक खाना महोत्सव’को आयोजना (तस्वीरहरु)

बर्दिवास । ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने मूलनाराका साथ महोत्तरीको बर्दिवासमा पहिलोपटक शनिबारदेखि ऐतिहासिक ‘सडक खाना महोत्सव’को आयोजना गरिएको छ।

पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको आयोजनामा उक्त महोत्सव आज फागुन ५ गते देखि ७ गतेसम्म सञ्चालन भएको हो ।

सडक, भोजन र पर्यटनबिचको अन्योन्याश्रित सम्बन्धलाई एकाकार गर्न होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले बिपी राजमार्गको प्रवेश बिन्दु बर्दिबासमा सडक खाना महोत्सव आयोजना गरिएको छ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घका मधेश प्रदेशका अध्यक्ष हीरा गौतमका अनुसार बर्दिबास सडक खाना महोत्सव हाम्रा लागि मात्र नभई सम्भवतः मधेश प्रदेश कै लागि नौलो अभ्यास र पहिलो थालनी हो ।

“महोत्सवमा मधेश प्रदेशका ८ वटै जिल्लाको भोजन संस्कृतिलाई समेट्न रौतहटको कटिया (मासुको परिकार), बाराको सेकुवा, धनुषाको तरुवा (मिथिला भोजन), सिराहा कमलाको माछा र सप्तरी बरमझियाको पेडाको आनन्द एकै थलोबाट लिने व्यवस्था मिलाइएको छ ”, गौतमले भने, “यसले मधेश प्रदेशका जिल्लाहरुबिच सामाजिक, सांस्कृतिक र व्यापारिक सहयोग, सम्बन्ध र सौहार्दतामा वृद्धि हुनेमा हामी आशावादी छौं । ”

उनले तीन दिनसम्म आयोजना हुने सडक भोजन महोत्सवले व्यापार व्यवसायलाई गति दिनुका साथै आन्तरिक पर्यटनको जगमा इँटा थप्ने काम गर्ने बताए ।
मधेश प्रदेशको भोजन संस्कृति, सृजना, स्थानीय उत्पादन र पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वासका साथ सडक भोजन महोत्सवको आयोजना गरिएको हो ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्ज खड्काका अनुसार महोत्सवमा ५० वटा होटलको सेवा एउटै थलोबाट दिने व्यवस्था मिलाइएको छ । “मधेश प्रदेशको भोजन संस्कृतिलाई यसै थलोबाट पस्कने जमर्को पनि गरेका छौं ।

महोत्सवमा सडक भोजनका साथै स्थानीय र राष्ट्रिय कला संस्कृतिको प्रस्तुतिको व्यवस्था पनि मिलाइएको छ । यसले मधेश प्रदेश र बर्दिबासको पहिचान अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा छ” उनले भने ।

“यो मधेश प्रदेशकै लागि नौलो अभ्यास र पहिलो प्रस्तुति भएकोले महोत्सवको सफलताका लागि सबैको सहयोग, शुभेच्छा र सहभागी हुनुपर्छ” उनले भने ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका महासचिव नारायण घिमिरेले महोत्सव मार्फत मधेसको मौलिक खाना भुजिया, तरुवा, बगिया, करी वरी जस्ता परिकारको स्वाद र पहिचान बढाई व्यवसायीकरण गर्ने सोच रहेको बताए।

होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका सचिव परमेश्वर महतोले पनि कोरोनापछिको आर्थिक मन्दीले आक्रान्त बनेको बजारलाई चलायमान बनाउने उद्देश्यले सडक खाना महोत्वस आयोजनको तयारी गरेको जानकारी दिए।

“यो महोत्सव आफैँमा नौलो प्रस्तुति भएकोले यसप्रति सबैको चासो र उत्सुकता बढेको छ । मधेशका सबैजसो समुदायको भोजन संस्कृतिलाई समेट्ने प्रयास गरेका छौं । खाना महोत्सव व्यापार प्रवर्धका साथै समाजिक सौहार्दताको प्रतीक बन्ने अपेक्षा छ” सचिव महतोले भने ।

बीपी राजमार्गको पूर्वतर्फ करिब साढे ५ सय मिटर सडकमा ५० वटा खानाका स्टल राखिने राख्ने बन्दोबस्त गरिएको छ । महोत्सवस्थलमा राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा सांस्कृतिक कार्यक्रम पनि हुने भएकाले मनोरन्जनसँगै होटलमा पाउनेभन्दा २० देखि ४० प्रतिशससम्म छुटमा खाजा खाना खान पाइने आयोजकले जनाएको छ ।

महोत्तरी बाहिरबाट स्टल राख्न आउने होटल व्यवसायीलाई स्टल फ्रि गरिएको र जिल्लाका स्थानीय व्यवसायीलाई १ हजारदेखि १५ सय र २ हजारसम्म सस्तो मुल्यमा स्टल उपलब्ध गराइएको संघका अध्यक्ष गुन्ज खड्काले जनाए ।

बर्दिवासमा भएका धेरै व्यापारिक महोत्सवको अवलोकलन धेरैले गरेका भएपनि यस्तो महोत्सव जिल्लामै पहिलो पटक लागिरहेको उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष विष्णु खड्काले बताए । बर्दिवासका लागि नयाँ विषय भएकाले सडक खाना महोत्सव कस्तो हुन्छ भन्ने चासो सर्वसाधारण र सबै सरोकारवालाई भएकाले महोत्सव सफल हुने विश्वास खड्काले व्यक्त गरे ।

सांस्कृतिक तथा पर्यटन प्रवर्दन गर्न बर्दिवास नगरपालिकाले छुट्याएको ६ लाख ५० हजार र अन्य रकम सहयोग लिएर १५ लाख लागतमा महोत्सव गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।

तीन दिन लाग्ने सडक खाना महोत्सव ५० हजार मानिसले अवलोकन गर्ने लक्ष्य राखिएको र सोहि अनुरुप प्रचारप्रसार गरिएको संघका महासचिव घिमिरेले बताए ।

महोत्तरीका खानाको प्रचारप्रसार गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले गरिएको महोत्सव लाग्ने ३ दिन बर्दिवासमै बसेर महोत्सव अवलोकन गर्न आयोजकले सबैलाई अपिल गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved