माओवादी केन्द्रले आज जनयुद्ध दिवस मनाउँदै, सार्वजनिक बिदा नभएको गृहमन्त्रालयको भनाई

नेपालभ्युज

माओवादी केन्द्रले आज जनयुद्ध दिवस मनाउँदै, सार्वजनिक बिदा नभएको गृहमन्त्रालयको भनाई

काठमाडौं । माओवादी केन्द्रले आज जनयुद्ध दिवस मनाउँदैछ । २०५२ साल फागुन १ गते सशस्त्र विद्रोह सुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउने गरेको छ । अघिल्लो वर्ष जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएको सरकारले यसपटक भने सार्वजनिक बिदा दिन पाएन ।

सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा बदर गरेसँगै सरकारले बिदा दिन नपाएको हो । यद्यपी माओवादी केन्द्रले नेतृत्व गरिरहेका देशका कतिपय स्थानीय तहले भने आज बिदा दिएका छन् ।

सर्वोच्च अदालतको आदेशलाई चुनौती दिँदै स्थानीय तहका प्रमुखले बिदा घोषणा गरेका छन् ।

गोरखाका माओवादी नेतृत्वका पालिकाहरु गण्डकी, अजिरकोट, बारपाक सुलिकोट, भीमसेन थापा र धार्चे गाउँपालिकाले जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिएका छन् । यस्तै कालिकोटका खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका, पतला गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएको सूचना जारी गरेका छन् ।

यसैगरि रोल्पाको रोल्पा नगरपालिका र माडी गाउँपालिका, दाङको बंगलाचुली गाउँपालिका, सल्यानको दार्मा गाउँपालिका, धादिङको गजुरी नगरपालिका, काभ्रेको चौंरी देउराली गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएका छन् । गृह मन्त्रालयले आज सार्वजनिक बिदा नरहेको बताएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved