इतिहास

बेलायतका सम्राट जर्ज पञ्चम किन आएका थिए ठोरी ?

जर्ज पञ्चमको सुरक्षाका लागि चन्द्रशमशेरले १४ हजार सिपाही परिचालन गरेको भनिएको छ । त्यसमध्ये २ हजार हात्ती चढ्ने सिपाही थिए । ६४५ वटा हात्तीको घेरा बनाएर जर्ज पञ्चमलाई सुरक्षा दिइएको थियो ।

नेपालभ्युज

बेलायतका सम्राट जर्ज पञ्चम किन आएका थिए ठोरी ?

काठमाडौं । यो कुरा नेपालको इतिहासमा विरलै चर्चा हुन्छ र कमैलाई थाहा छ कि बेलायतका सम्राट जर्ज पञ्चम नेपाल आएका थिए । तर, राजधानी काठमाडौं हैन, पर्साको ठोरी । सन् १९०५ मा उनी काठमाडौं पनि आए राजकुमार हुँदा । राजा हुँदा भने उनी ठोरी आए र त्यहीँबाटै फर्किए ।

बेलायतका राजा जर्ज पञ्चम ठोरी किन आए ? यसभित्र रमाइलो कथा छ ।

जर्ज हजुरआमा रानी भिक्टोरियाको शासनकालमा राजकुमार एडवर्ड र राजकुमारी एलेक्जेन्ड्रियाबाट जन्मिएका थिए । उनी दोस्रो सन्तान थिए । तर, दाजु अल्वर्ट भिक्टरको निधनले उनलाई बेलायती राजगद्दीको उत्तराधिकारी बनाइदियो ।

पिता एडबर्ड सप्तमको निधनपछि सन् १९१० मे ६ देखि जर्ज पञ्चमको शासनकाल सुरू भयो । सन् १९११ को जुन २२ मा लन्डनमा उनको राज्याभिषेक भयो । उनी बेलायत र बेलायती साम्राज्यको राज्य प्रमुख, सम्राट घोषित भए ।

सन् १८७६ देखि बेलायतको सम्राट भारतको पनि सम्राट हुने प्रचलन स्थापित भएको थियो । यो प्रचलन भारतीय स्वतन्त्रतापछि सन् १९४८ जुन २२ मा मात्र अन्त्य भयो ।

भारतका राजा-रजौटाले बेलायतको सम्राट भारतको पनि भएकाले उता भएको राज्याभिषेक मान्य नहुने बताए । जर्ज पञ्चमले भारतमै आएर सम्राटको राज्याभिषेक गर्नुपर्ने उनीहरूको माग थियो । फलतः जर्ज पञ्चम भारत आउन बाध्य भए ।

सन् १९११ को डिसेम्बर १२ मा दिल्ली दरबारमा जर्ज पञ्चमको राज्याभिषेक भयो । ब्रिटिश साम्राज्यभित्रका राजा-रजौटाले दिल्ली दरबारमा जर्ज पञ्चमलाई सिक्का चढाएर भारतको सम्राट स्वीकार गरे ।

भनिन्छ— त्यो भारतीय इतिहासकै सर्वाधिक भव्य राज्याभिषेक समारोह थियो । ठीक यही दिन कलकत्ताबाट सारेर दिल्लीलाई भारतको राजधानी बनाउने घोषणा भएको थियो । तर, नयाँ दिल्ली शहरको निर्माण कार्य पूरा हुन २० वर्ष लाग्यो । सन् १९३१ मा राजधानी शहरको उद्घाटन गरियो ।

जर्ज पञ्चम शिकार खेल्न शौखिन थिए । उनी सन् १९०५ मा वेल्सको राजकुमार हुँदा पनि भारत र नेपाल आएका थिए । तर, त्योबेला हैजा फैलिएकोले उनको शिकार खेल्ने इच्छा पूरा भएको थिएन । सौराहा र ठोरी क्षेत्रमा हैजा फैलिएको हुँदा राजकुमार जर्ज पञ्चमको शिकार योजना स्थगित गरिएको थियो ।

यता नेपाल खाल्डोमा सन् १९०१ मा दाजु देव शमशेरलाई धपाएर ‘फिष्टे महाराज’ चन्द्र शमशेर ‘श्री ३’ भएका थिए । सन् १९०५ मा जर्ज पञ्चम काठमाडौं आउँदा चन्द्रशमशेरसँग उनको मित्रता भएको थियो ।

दिल्ली दरबारमा जर्ज पञ्चमको भव्य राज्याभिषेक भइरहँदा यता नेपालमा एक दिन अघि डिसेम्बर ११ मा राजा पृथ्वी वीरविक्रम शाहको निधन भएको थियो ।

तर, यसपटक जर्ज पञ्चम नेपालमा शिकार खेल्ने आफ्नो अधुरो योजना पूरा गरिछोड्न चाहन्थे । चन्द्रशमशेर जर्ज पञ्चमको इच्छा अस्वीकार गर्न सकेनन् । राजाको मृत्यु-शोकले पनि यो योजना स्थगन भएन । राणा शासनको दबदबाका बीच खोपीमा थन्किएका शाह राजाको मूल्य नै कति थियो र त्योबेला ?

जर्ज पञ्चम दिल्लीबाट पटना हुँदै डिसेम्बर १६ मा नेपालको सीमा भिख्ना ठोरीसम्म रेलमा आए । दुई दिनपछि डिसेम्बर १८ मा मोटर गाडीबाट नेपालको ठोरीतिर प्रवेश गरे । जर्ज पञ्चमको स्वागत गर्न चन्द्र शमशेर आफैँ भिख्ना ठोरी पुगेका थिए । १० दिनको शिकार योजना बनाइएको थियो ।

शिकारको पहिलो दिन नै जर्ज पञ्चमको टोलीले ४ वटा बाघ र ३ वटा गैंडा मार्‍यो । डिसेम्बर २८ मा जर्ज पञ्चमको शिकार समाप्त भयो । उक्त अवधिमा जम्मा ३९ वटा बाघ, १८ वटा गैंडा, ४ वटा भालुलगायत २०० भन्दा बढी जनावर मारिएका थिए ।

जर्ज पञ्चमको सुरक्षाका लागि चन्द्रशमशेरले १४ हजार सिपाही परिचालन गरेको भनिएको छ । त्यसमध्ये २ हजार हात्ती चढ्ने सिपाही थिए । ६४५ वटा हात्तीको घेरा बनाएर जर्ज पञ्चमलाई सुरक्षा दिइएको थियो । शिकार अवधिभरि रानी म्यारी जर्ज पञ्चसँगै थिइन्।

राप्ती नदीको सुखीभार र कसरा भन्ने ठाउँमा शिकारको क्याम्प राखिएको थियो । शिकार खेल्ने क्रममै एक साँझ चन्द्र शमशेरलाई जर्ज पञ्चमले ‘रोयल भिक्टोरियन अर्डर’ प्रदान गरे । राजा जर्ज पञ्चमको टोली २८ गते बुधबार भिख्ना ठोरी हुँदै रेल मार्गबाट दिल्ली फर्कियो ।

जर्ज पञ्चम चन्द्र शमशेरले मिलाई दिएको यस्तो भव्य शिकारको अवसरबाट असाध्यै खुसी भए । जङ्गबहादुर राणाकै पालादेखि बेलायती राजकुमार शिकार खेल्न ठोरी र सौराहा आउने गरेका थिए । तर, जर्ज पञ्चमको शिकार भने निकै ठूलो र भव्य थियो ।

राजा जर्ज पञ्चम चन्द्र शमशेरलाई यसको गुण तिर्न चाहन्थे । तर, कसरी तिर्ने ? कुनै राम्रो विचार बन्न सकिरहेको थिएन । सन् १९२१ मा राजकुमार एडवर्ड अष्टम् काठमाडौं आए । चन्द्र शमशेर र एडवर्ड अष्टम्बीच लामो कुराकानी भयो । उनले आफ्ना पिता जर्ज पञ्चमको गुन तिर्ने इच्छा चन्द्रशमशेरलाई बताए । चन्द्रशमशेरले बेलायत र नेपालबीच एक नयाँ सन्धि हुनुपर्ने कुरा उठाए ।

अन्ततः नेपाल-बेलायतबीच सन् १९२३ को सन्धि भयो । यो सन्धिमा नेपालको स्वतन्त्रता र स्वतन्त्र विदेश नीतिलाई बेलायतले स्वीकार गरेको थियो । चन्द्रशमशेरले यसलाई निकै ठूलो उपलब्धि ठाने र ३ दिनको ‘स्वतन्त्रता दिवस’ विदा घोषणा गरे ।

सन् १८१६ को सुगौली सन्धिपछि यो नेपाल-बेलायतबीचको अर्को ठूलो सन्धि थियो । सन् १९२५ मा नेपालले ‘लिग अफ नेसन्स’ को सदस्यता दाबी गर्दा निवेदनसँगै यही सन्धिलाई प्रमाणका रूपमा प्रस्तुत गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved