भुक्तानी नदिएको भन्दै मधेस प्रदेश सभाका सचिव गिरीलाई सभामुखका सहयोगीले कुटपिट गरे

भुक्तानी नदिएको भन्दै मधेस प्रदेश सभाका सचिव गिरीलाई सभामुखका सहयोगीले कुटपिट गरे

जनकपुरधाम । मधेस प्रदेश सभाका सचिव मनोज कुमार गिरी माथि सभामुख रामचन्द्र मण्डलका सहयोगीले कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।

सभामुख मण्डलले भुक्तानीका लागि दिएको दबाबमा काम गर्न अस्वीकार गरेपछि सभामुखका सहयोगीहरुले कुटपिट गरेको बताइएको छ ।

सभामुख मण्डल

प्रदेश सभाको सभामुख आवासको छतमाथि सोमवार सभामुख रामचन्द्र मण्डल समेत उनका केही सहयोगी, प्रदेश सभा सचिव गिरी, लेखाअधिकृतसमेत घाम ताप्दै छलफल गरिरहेको बेला भुक्तानीका लागि सभामुख मण्डलले सचिवमाथि दबाब दिएका थिए । तर, सचिव र लेखापालले भुक्तानी गर्न अस्वीकार गरेपछि सभामुख मण्डलले मुख छाड्दा उनका सहयोगीले हातपात गरेका हुन् ।

सभामुखको सचिवालयमा रहेका कर्मचारीलाई तलब खुवाउनुपर्ने भन्दै सचिव गिरीमाथि दबाब दिँदै आएका सभामुख मण्डललाई ऐन बनाउन भनेपछि कुटपिट गरेको बताइएको छ ।

सभामुख नियुक्त भएपछि मण्डलले आफ्ना ज्वाई सहित दुई दर्जन भन्दा बढी कार्यकर्तालाई कर्मचारीका रुपमा भर्ना गरेको आरोप लाग्दै आएको छ ।

स्रोतहरुका अनुसार यस अघिका सचिव रञ्जित यादवले पनि भ्रमण भत्ता लगायत करारका कर्मचारीलाई तलब, सुबिधा दिन अस्वीकार गरेकाले सभामुख मण्डलकै निर्देशनमा उनको सरुवा गरिएको थियो ।

अहिलेका सचिव गिरीलाई सभामुखले नै ल्याएका हुन् । तर, सभामुखको सेवा सुबिधा भन्दा बढी तलब भत्ता खुवाउन भने पछि सचिव गिरीले अस्वीकार गर्दै आएका छन् ।

सभामुख मण्डलले पटक–पटक आफ्ना सचिवालयका कर्मचारीलाई तलब, भत्ता तथा अन्य सेवा सुबिधा उपलव्ध गराउन दबाब दिँदै आएका छन् । तर, सचिवहरुले भने सभामुखलाई ऐन बनाउनुपर्ने सुझाव दिँदै आएका छन् ।

घटना बाहिरिएपछि सभामुख मण्डलले कुटपिट नभई सामान्य भनाभन भएको दाबी गरे । उनले भने–‘ सामान्य भनाभन भएको छ, कुटपिट गरेका छैनौ ।’ तर, सचिव गिरीले आफू माथि कुटपिट नै भएको बताएका छन् ।

उनले नेपाल भ्युजसँग भने, ‘सभामुख पदको गरिमा र प्रदेशसभाको मर्यादा तथा घरपरिवारका सदस्यलाई चिन्ता होला भन्ने पिरले घटना भएको दुई दिनसम्म बोलिनँ तर अहिले घटना बाहिरिएपछि बोल्नै पर्यो ।’

सचिव गिरी

यसैबीच मधेस निजामती कर्मचारी मञ्चका महासचिव बेचनकुमार महतोले एक विज्ञप्ति जारी गर्दै गिरीमाथि भएको कुटपिटलगायत दुव्र्यवहारको भत्र्सना गर्दै दोषीउपर कारबाहीको माग गरेका छन् ।

यता मधेस प्रदेश सरकारका प्रमुख सचिव दिनेश घिमिरेले भने घटनाबारे अनभिज्ञता प्रकट गरेका छन् ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved