शब्दको प्रयोग गरेर सत्य अभिव्यक्त गर्न सकिँदैन । वास्तवमा यस्तो प्रयोगले अभिव्यक्तिलाई नै सीमित बनाउँछ । जस्तै: राजनीतिको कुरा गर्यो, संस्कृतिको कुरा छुट्छ । संस्कृतिको कुरा गर्यो, अर्थनीतिको कुरा छुट्छ । अर्थनीतिको कुरा गर्यो, वातावरणीय कुरा छुट्छ । वातावरणीय कुरा गर्यो, प्रविधिको कुरा छुट्छ । हुन त यी सबै कुरालाई जोड्न पनि सकिन्छ । तर, जति जोड्दै गयो, छुट्ने प्रक्रिया भने सकिँदैन ।
अर्थात्, एक कुरा भन्यो अर्को छुट्छ । त्यो पनि भन्यो झन् अर्को छुट्छ । त्यसरी शब्दमा व्यक्त गरिएको कुरा अपूर्ण हुन्छन् । अथवा, सत्य हुँदैन । वास्तवमा केही अन्नत छ भने यही अपूर्ण हुने प्रक्रिया छ ।
शब्दकोषमा ‘स’बाट आउने ‘सत्य’ नभएको होइन । यद्यपि, यसको प्रयोग सन्दर्भ र व्यक्तिपिच्छे फरक छ । सत्यको व्याख्याका लागि शब्दकोषका सबै शब्दको प्रयोग गरौं भने पनि सम्भव छ । अनि, शब्दै प्रयोग नगरी पनि सत्य बोल्न सकिन्छ । जस्तै: वेद लेख्ने विद्वानले लेखेर अनेक सत्य बोले । उनीहरूले शब्द लेखेर नै प्रयोग गरे । लेख्दै नलेखेका सुकरात बोलेर मात्रै आफ्नो सत्य भने । मौन बुद्धले मौनतामा नै उनको सत्य बोले । लेख्ने र बोल्ने गान्धीले दुवै गरेर आफ्नो सत्य बोले ।
अर्थात्, सबैले सत्य अभिव्यक्त गर्नका लागि शब्दको प्रयोग गरेनन् । गरे पनि समान तरिकाले गरेनन् । यसको मतलब सत्य शब्दभन्दा शक्तिशाली छ । सत्य बोलिनु र लेखिनुमा सीमित छैन । यहाँ भन्न के खोजिएको हो भने लेखेर वा बोलेर पूर्ण सत्य अभिव्यक्त हुन्छ भन्नु गलत छ । कसैले यसो भन्छ भने त्यो ठगी हुन्छ वा मुर्खता ।
के अब लेख्ने प्रयासै नगर्ने त ? पहिले-पहिले यस्ता प्रश्न मेरो मस्तिष्कमा आउँदैनथे। लेखक हुने सपना थियो । लेख्ने महान् काम हो जस्तो लाग्दथ्यो । यसको मतलब अहिले लेखक भइसकेँ भन्ने दाबी होइन । लेख्न मन नलाग्ने भन्ने पनि होइन । कुरा के मात्रै हो भने अहिले आएर लेख्ने कुरा नै आवश्यक छ त ? भन्ने प्रश्न उब्ज्यो । लेखकले एउटा सोचेर लेख्छ । पाठकले अर्कै बुझ्छ । अवस्था यस्तै हो भने लेख्नु नै हानिकारक त छैन ? यो प्रश्नले गर्दा लेखनको औचित्यका बारे पनि लेख्नु पर्दछ भन्ने लाग्यो र यो लेख लेखियो ।
लेखनका सीमितता थाहा हुँदाहुँदै पनि किन लेख्छन् त लेखक ? मेरो विचारमा यसका दुई कारण छन् । पहिलो, कारण हो आफ्नो सन्तुष्टि । सोच्दै, पढ्दै र छलफल गर्दै जाँदा एक प्रकारको उकुसमुकुसको तर, रमाइलो अवस्था बन्छ । जति जिज्ञासाहरू समाधान हुन्छन्, झन् धेरै जन्मिँदै जान्छन् ।
कुनै कुनै लामो समय समाधान नभएका जिज्ञासाले दिक्क नबनाउने भने होइनन् । यद्यपि, निराश र थकीत भने बनाउँदैनन् । यी ऊर्जाशील हुन्छन् । खोज्न र समाधानको आनन्द लिन हौसला दिन्छन् । समाधान खोज्ने बानी बन्छ । यसले लोभ्याइ रहन्छन् । जिज्ञासाको समाधान गर्ने यही प्रक्रियामा लेखनको महत्त्वपूर्ण भूमिका हुने हुँदा लेखकका लागि लेख्नु निजी सन्तुष्टिका साथै आवश्यक पनि छ ।
जिज्ञासा र ज्ञानको सकारात्मक सम्बन्ध हुन्छ । जति ज्ञान बढ्छ, जिज्ञासा पनि बढ्दै जान्छ । यो भन्नुको मतलब सामान्यतः जिज्ञासा बढी भएको व्यक्तिसँग ज्ञान पनि बढी हुने हुन्छ । अर्थात्, ज्ञानी मान्छेले ज्ञानको खोजी गर्दछ । जिज्ञासा गर्दछ । जिज्ञासु व्यक्तिका लागि कहाँनेर समस्या हुन्छ भने ज्ञान बढ्दै जाँदा ‘ज्ञान’हरूको कहिल्यै नसकिने सञ्जाल बन्छ ।
ज्ञानको एउटा स्वरूप नहुने वा परिवर्तनशील हुने भएकाले यसको निश्चित रूप हुँदैन । यस क्रममा अनेकन विचारहरू व्यक्तिको दिमागमा जन्मिन्छन् । यसले गर्दा द्विविधा बढ्छ । अनेकन विचार यत्रतत्र छरिएका हुन्छन् । तिनको व्यवस्थापनका लागि पनि लेखनको जरुरी पर्दछ । त्यसकारण लेखकले लेख्छ ।
शब्दकोषमा सबै शब्दको अलग-अलग अर्थ हुने गर्दछ । यद्यपि, अर्थ दिनका लागि अर्को शब्दको जरुरी पर्ने भएकाले ति आफैमा सजीव हुँदैनन् । अर्थात्, शब्दहरू एक अर्कामा नजोडिएसम्म अर्थविहीन छन् । जस्तो एक शब्दको व्याख्याका लागि अन्य शब्द चाहिन्छन् । शब्दकोषका ति निर्जीव शब्दहरूलाई जब लेखकले जोड्न थाल्दछ, तिनमा जीवन आउँछ । उनीहरूको अस्तित्वको अर्थ बन्दछ । किन निश्चित शब्दले निश्चित स्थान लियो ? भन्ने स्पष्टतासँगै लेखकको कथामा जीवनको सञ्चार हुन्छ । अनि मात्रै पाठकसँग अन्तरक्रिया हुन्छ ।
लेखकका लागि शब्दहरू निर्जीव हुँदैनन् । एक ‘सजीव बहस’का अंग बन्छन् । शब्दबिना बहसमा जीवन आउँदैन भने त्यो जीवनबिना शब्दहरूको अर्थ हुँदैन । यसरी शब्दहरूबीचको सम्बन्धमा सजीवता ल्याउनु लेखकको उद्देश्य हुन्छ । यद्यपि, शब्दहरूबीचको सम्बन्धको सजीवता नांगो आँखाले देखिँदैन। शब्दहरूको सजीवता बुझ्न उनीहरूलाई हेरेर मात्रै हुँदैन । तीबीचको सम्बन्धलाई बुझ्नु पर्दछ ।
पाठकलाई विविध अनुभूति दिलाउन लेखकको शब्द चयनले महत्त्वपूर्ण भूमिका खेल्छ । लेखन आफैँमा कला भएकाले यसका लागि विशिष्ठ सीप चाहिन्छ । लेखकका आ–आफ्नै तरिका वा पहिचान पनि हुने गर्दछन् ।
वास्तवमा लेखकले एक पटकमा एउटै कुरा गर्छ । धेरै कुरा एकै पटक व्यक्त गर्न, तिनलाई बुझ्न र व्यवहारमा प्रयोग गर्न कठीनाइ हुने हुँदा लेखनमा एउटा विषयलाई मात्रै उठाउनु उपयुक्त हुन्छ । तर, उक्त एउटा कुरालाई लेखकले धेरै तरिकाले बताउन सक्छ । उसको शब्द तथा व्याकरण फरक हुन सक्छ । पुस्तकभरी दर्जनौं अध्याय हुन सक्छन् । अंक, अक्षर र संकेतकोसमेत प्रयोग भएको हुन सक्छ । यी सबैमार्फत लेखकले एउटै कुरा बताउँछ । त्यही एउटा कुरालाई प्रष्ट पार्न शब्दहरूको प्रयोग हुँदाहुँदै पुस्तक ठूलो बन्छ ।
लेखकले लेख्नुको दोश्रो कारण हो, सामाजिक उत्तरदायित्वको अनुभूति । लेखकले समाजलाई आफ्नै तर विशिष्ठ तरिकाले बुझेको हुन्छ । आम मानिसको तुलनामा उसले भविष्यको आकलन गर्न सक्ने हुनाले पनि लागेको कुरा सबैलाई र समयमै भन्नुर्छ भन्ने ठान्छ । नागरिकलाई सचेत बनाउने, राज्यलाई सकारात्मक दिशातर्फ उन्मुख गर्नका लागि चेतावनी दिने वा विरोध गर्ने, आलोचनात्मक चेतलाई जीवित राख्ने काम लेखकले आफ्नो भएको अनुभूति गर्दछ । त्यसकारण लेख्छ ।
लेखकलाई समाजमा कति बेला शान्ति हुन्छ र कति बेला हिंसा हुन सक्छ ? देश के गरे अगाडि बढ्छ अनि केले पछाडि धकेल्छ ? समाजका सदस्यको अस्तित्व कसरी एकअर्कामा जोडिएको छ ? राजनीति तथा अर्थनीतिको महत्त्व के हो ? इतिहास र वर्तमानलाई बुझ्दै भविष्यको सही दिशा के हुन सक्छ ? मानिसले लेखकबाट यस्ता प्रश्नका उत्तरको अपेक्षा गर्दछन् । यी प्रश्नका उत्तर लेखकले नै दिने हुन् । यो लेखकीय दायित्व पनि हो । वास्तवमा इतिहास साक्षी छ लेखकका विचारले राज्यको निर्माण र सञ्चालनका मान्यता तथा विधिसमेत बदल्ने क्रान्तिलाई दिशा दिएका छन् ।
ज्ञानले लेखकमा सामाजिक उत्तरदायित्वको जन्म गराउँछ । समाजको अस्तित्वसँग आफ्नो अस्तित्व जोडिएको देखे पछि ऊ मुखरित भएर बोल्दछ । गलत कुराको विरोध गर्दछ । राम्रो लागेको कुरालाई समर्थन गर्दछ । हुन त लेखकका कुरा सही नै हुन्छन् भन्ने होइन । तर, लेखकले कहिलै आफ्नो कुरा सही र अरुको गलत भन्दैन । छलफलमा न्यायलाई केन्द्रमा राखेर तर्कवितर्क गर्ने कुराको वकालत गर्दछ । सामाजिक मनोविज्ञानको निर्माण तथा विनिर्वाणका लागि यस्ता लेखक वा लेखनको ठूलो महत्त्व हुन्छ ।
राष्ट्र निर्माणका लागि सचेत प्रयास आवश्यक पर्दछ । यस्तै प्रयासबाट समाज यहाँसम्म आइपुगेको हो । यसको मतलब हो लेखक वा विद्वानका विचारले समाजलाई उद्देश्य दिएका हुन्छन् । समयक्रममा उत्पन्न हुने समस्यालाई निराकरण गर्न उनीहरूका विचारको आवश्यकता पर्दछ ।
कसरी समाज समृद्ध हुन सक्छ ? कसरी मानिस खुसी हुन सक्छ ? यस्ता प्रश्न दार्शनिकको मस्तिष्कमा मात्रै आए जस्तो देखिन्छ । यद्यपि, खुसी र समृद्ध हुन सबै मानिसलाई मन लागि रहेको हुन्छ ।
लेखकले आफ्नो अध्ययन र अनुभवका आधारमा आफूलगायत अन्य मानिसहरूलाई पनि सहयोग गर्नुपर्दछ भन्ने ठान्छ । वास्तवमा लेखकले सत्यको दाबी गर्नभन्दा पनि आम मानिसको जनजीवनलाई सहज बनाउने व्यावहारिक कुरा बताउनका लागि लेख्छ ।
Facebook Comment
Comment