मेलम्चीको पानी आउँदै बन्द हुँदै, तीन वर्षमा पाँचौँ पटक उद्घाटन

पटकैपिच्छे मेलम्चीबाट काठमाडौं पानी आउँदा उद्घाटन गर्ने परम्परा छ । पानी वितरण गरेको तीन वर्ष बित्न लाग्दा भोलि पाँचौँ पटकको उद्घाटन हो ।

नेपालभ्युज

मेलम्चीको पानी आउँदै बन्द हुँदै, तीन वर्षमा पाँचौँ पटक उद्घाटन
फाइल तस्वीर।

काठमाडौं । मेलम्चीको पानी सोमबार १ माघमा बिहान उपभोक्ताको धारमा आउँदैछ । २०८० असारमा सुरुङ बन्द भएपछि बन्द भएको पानी ७ महिनापछि फेरि धारामा आउने भएको हो ।

अग्लो गेग्रानले मुहान पुरिएपछि अहिले मर्मत गरेर पुनः सोमबार पुन वितरण गर्न लागिएको हो । यसका लागि पुन उद्घाटन हुनेछ । पुन उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम तय भएको छ ।

खानेपानी मन्त्रालयका अनुसार उपभोक्ताको धारामा बिहानै पानी पठाएर ९ बजे प्रधानमन्त्रीले वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित आफ्नै कार्यालय परिसरको धारा खाेलेर सोमबार सात महिनादेखि रोकिएको खानेपानी वितरणको पाँचौँ पटक शुभारम्भ गर्न लागेका हुन् ।

पटकैपिच्छे मेलम्चीबाट काठमाडौं पानी आउँदा उद्घाटन गर्ने परम्परा छ । सोमबारको उद्घाटन पाँचौँ हो । पानी वितरण गरेको तीन वर्ष बित्न लाग्दा भोलि पाँचौँ पटकको उद्घाटन हो । यद्यपि खानेपानी मन्त्रालयले मेलम्चीको पानी काठमाडौंका उपभोक्ताको धारामा निरन्तर पठाउन सकेको छैन । हरेक वर्ष यो आयोजनामा समस्या आइनैरहन्छ ।

बाढीले मेलम्चीको हेडवर्कस पुरिएर बर्सेनि क्षति गर्दै आएको छ । मर्मत गरेर पानी वितरणको तयारी हुने बित्तिकै हरेक हिउँदमा पटकै पिच्छे प्रधानमन्त्री वा मन्त्रीले उद्घाटन गरिरहन्छन् । यसपटक पनि त्यसैको निरन्तरताको तयारीमा प्रधानमन्त्री छन् ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले ०७७ को फागुन २२ मा सुन्दरीजलस्थित ट्रिटमेन्ट प्लान्टको फ्लसिङ टनेलको हाइड्रोमेकानिकलको बटम थिचेर पानी खसालेका थिए । त्यो पहिलो उद्घाटन थियो ।

त्यसको एक महिनापछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । भृकुटीमण्डपमा बनाएको धारामा पानी खोलेर उद्घाटन गरे पनि सो धारो प्रयोगविहीन छ ।

२०७८ असारको बाढीले फेरी मुहान पुरिएर खानेपानी वितरण बन्द भयो । पछि २०७९ वैशाखमा ११ मा अस्थायी रूपमा काठमाडौंमा वितरण गरिने बेलामा पुन उद्घाटन भयो । त्यसबेला तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेका थिए ।

फेरि ६ महिनापछि बन्द भयो । फेरि खुलेको थियो । बन्द गर्ने क्रम फेरि दोहोरियो । बाढीको भयले २०८० को असारमा सुरुङ बन्द गरियो । गत साउनको अन्तिम साता दुई दिन आएको बाढीले २०७८ मा जत्तिकै १५ देखि २० मिटर अग्लो गेग्रानले मुहान पुरिएपछि अहिले मर्मत गरेर पुनः वितरण गर्न लागिएको हो । फेरि उद्घाटनको कार्यक्रम तय भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved