गोरु जुधाइमा पनि राजनीति : कांग्रेसले स्विकारेन राप्रपाको गोरु

यसपालि स्थानीय राजनीतिक द्वन्द्वले गोरु-युद्ध छायाँमा परेको छ । व्यङ्ग्यात्मक रूपमा देशको राजनीतिक द्वन्द्वसँग दाँजिँदै आएको गोरु जुधाइभन्दा पहिले नै यसपालि दलका नेताहरू जुधेका छन् ।

नेपालभ्युज

गोरु जुधाइमा पनि राजनीति : कांग्रेसले स्विकारेन राप्रपाको गोरु

नुवाकोट । पहाडमा माघेसंक्रान्ति र तराईमा माघी पर्वको उल्लास छाइरहँदा नुवाकोटको तारुकामा भने बेग्लै रौनक छाउँछ, बलवान साँढेहरूको रोचक घम्साघम्सीको ।

फराकिलो बारीको पाटोमा अजंगका साँढेहरू जम्मा पारेर बाजी थाप्दै गाेरु जुधाइने यो प्रतियोगिता दुई सय वर्ष अघिदेखि  नुवाकोटमा चल्दै आएको छ ।

हरेक साल तारकेश्वर गाउँपालिका वडा नं ३ चन्दनी कटरबोट पाटोमा यो कार्यक्रम  हुँदै आएको छ ।  यहाँको मौलिक शैली र संस्कृति बनिसकेको नेपालको एकमात्र गोरु जुधाइ मेलाले विश्वमै चर्चित खेल प्रतियोगिता मानिएको स्पेनको बुलफाइट पनि बिर्साउँदै आएको छ ।

तर, यसपालि भने त्यहाँको स्थानीय राजनीतिक द्वन्द्वले गोरु-युद्ध छायाँमा परेको छ ।

व्यङ्ग्यात्मक रूपमा देशको राजनीतिक द्वन्द्वसँग दाँजिँदै आएको गोरु जुधाइ कार्यक्रम यसपालि भने गोरुभन्दा अघि दलका नेताहरू जुधेका छन् । तारकेश्वर गाउँपालिकामा अध्यक्ष पनि कांग्रेसबाटै निर्वाचित शिव अधिकारी छन् ।

गोरु जुधाइ महोत्सवमा आयोजक समितिले फरक राजनीतिक दलमा आस्था राख्ने किसान भएकै आधारमा गोरु दर्ता गर्न अस्वीकार गरेको छ ।

आयोजकमा नेपाली कांग्रेसका सदस्यहरू छन् । उनीहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट स्थानीय चुनावमा टक्कर दिन आएका उम्मेदवारको गोरु नै दर्ता गरिदिएनन् ।

माघेसंक्रान्तिमा हुने गोरु जुधाइ महोत्सव निजी कार्यक्रम होइन । यसका लागि स्थानीय सरकारले चार लाख रुपैयाँ बजेट छुट्याएको छ । सरकारी खर्चमा हुने कार्यक्रमकाे आयोजक समितिका अध्यक्ष मदन श्रेष्ठ छन् ।

उनले गोरु जुधाउने कार्यक्रममा सहभागी हुन ल्याइएको स्थानीय राप्रपाका नेताको गोरु दर्ता गराएनन् । आफ्नो गोरु दर्ता नगरिदिएको राजनकी श्रीमती बाटुली अधिकारीले नेपाल भ्यूजलाई बताइन् ।

उनले भनिन्, ‘‘गोरु दर्ताको लागि लगातार समितिसमक्ष पुगेका थियौँ । गोरु लिएर जाँदा पनि गर्दा गरेनन् । गोरु लिएर दर्ता गर्न जाँदा दर्ता समिति अध्यक्षको आफन्तको गोरुसँग जुध्यो । हाम्रो गोरुले जित्यो । १ गते जुधाउने कार्यक्रममा पनि जित्छ भनेर हो वा अरू राजनीतिक कारणले हो दर्ता गरिदिएनन् ।’’

संयोजक मदन श्रेष्ठले राजन अधिकारीको गोरुसँगै धादिङको एकजना अर्का ढकाल थरका स्थानीयको पनि गोरु दर्ता गरेका छैनन् । उनीहरू दुवै पनि कांग्रेसमा आबद्ध छैनन् ।

फाइल फोटो (२०७८ सालको माघे सङ्क्रान्तिमा जुधाइएको गोरु) फोटो : सरोज बस्नेत / नेपालभ्युज

मदन श्रेष्ठले केही समय  पर्खाएर दर्ता अस्वीकार गरेको कृषकको गुनासो छ । कृषकले मदनसँग आफ्नो पार्टी नमिलेकै कारण गोरु दर्ता गर्न नदिएको आरोप लगाएका छन् ।

गोरु दर्ताको अन्तिम दिन २४ पुसमा दिनभरि आफूहरू समिति अध्यक्षसँगै रहे पनि दर्ता नगरिदिएको र कार्यक्रममा सहभागी हुन नपाउने भएको गोरु धनीहरूले बताएका छन् । अब उनीहरूको गोरु भोलिको मेलामा जुध्न पाउने छैनन् ।

आयोजक समितिका अध्यक्ष श्रेष्ठले भने गोरु धनीहरू निर्धारित समय सकिएपछि आएको हुँदा गोरु दर्ता गर्न नसकिएको बताएका छन् ।

उनले नेपाल भ्यूजसँग भने, ‘‘गोरु दर्ता गर्ने समयमा आएनन् । मैले पनि दिउँसो गोरु दर्ता गर्न लिएर आउनुस् भनेको थिएँ । उहाँले पछि गरुँला भन्नुभयो । तर दर्ता गर्न आउनुभएन । समय सकिएपछि मात्रै आउनुभयो । यसैले उहाँको दर्ता गर्न सकिएन ।’’

संस्कृतिको नाममा तारुकामा गरिँदै आएको गोरु जुधाई कार्यक्रम हरेक सालजसो विवादित बन्दै आएको छ । गाउँपालिकाले गोरु जुधाइको निम्ति छुट्याएको बजेटबाट कहिले नेताहरु हेलिकप्टर चार्टर गरेर जान्छन् ।

अघिल्लो साल काँग्रेस प्रवक्ता तथा पूर्वमन्त्री डा. प्रकाशशरण महत, कांग्रेस बाग्मती प्रदेश सभामा संसदीय दलका नेता तथा नुवाकोट २ का प्रदेश सभा सदस्य बहादुरसिंह लामा र गाउँपालिका अध्यक्ष शिव अधिकारीले दुई घण्टाको मोटरबाटोमा महँगो हेलिकोप्टर प्रयोग गरेका थिए ।

केही सालअघि एमाले नेता ईश्वर पोखरेल पनि हेलिकप्टर चार्टर गरेर मेला हेर्न गएका थिए ।

माघे संक्रान्ति उत्सव अन्तर्गतको एउटा परम्परा हो- गोरु जुधाउने । बारीमा धुलो उडाउँदै बडेमानका जुरो भएका साँढेहरू जुध्दा पाखाभरि भरिभराउ हजारौँ दर्शकको ताली र हुटिङले अर्को आकर्षण थपिदिन्छ ।

प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्को पक्षकाले जितेको ठहरिन्छ । रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने परम्परा छ । यो संस्कृतिसँग नेपाल र तिब्बत बीचको भोट सन्धि १९४९ सँग जोडिएको बताइन्छ । इतिहास सम्झिएर गोरु जुधाउने गरिन्छ ।

नुवाकोटको तारुकासँगै धादिङको खाल्टे र धुवाँकोटमा हरेक वर्ष गोरु जुधाइ प्रतियोगिता हुने गरेको छ । पहिला पहिला छिमेकीले रमाइलो स्वरूप आफ्नो घरमा रहेका गोरुहरू जुधाउने गरेका थिए । अहिले प्रतियोगिताका रूपमा गोरु जुधाइने गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved