कोच उदयसहित सोलुखुम्बुमा कुमार प्रयास, गृहजिल्लामा वाहवाही

नेपालभ्युज

कोच उदयसहित सोलुखुम्बुमा कुमार प्रयास, गृहजिल्लामा वाहवाही

सोलुखुम्बु । ‘द भोइस अफ नेपाल सिजन ५’ का फाइनलिस्ट कुमार प्रयास राई गृहजिल्ला सोलुखुम्बु आएका छन् । आफ्ना कोच उदय सोताङसहित उनी मङ्गलबार साँझ जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ६, मुक्ली आइपुगेका हुन् ।

थुलुङ दुधकोशी गाउँपालिकाद्वारा आयोजित ‘पाँचौँ गाउँपालिका अध्यक्ष रनिङ शिल्ड तथा स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’को उद्घाटन समरोहमा सहभागी हुन र भोट अपिल गर्न उनी कोचसहित गृहजिल्ला आएका हुन् । कुमारलाई समर्थन गर्दै लोकप्रिय गायिका मनिला सोताङसमेत यहाँ सोलुखुम्बु आएकी छन् ।

त्यस्तै कुमारलाई समर्थन गर्दै गायकहरू पूर्ण राई, कृष्ण राई, खगेन्द्र नाछिरिङ, विनोद विक्रम राई, मनराज बाहिङ, राजेश राई, महेशबाबु सुन्दाससँगै कमेडियनद्वय विनोद बाबु भण्डारी र दिनेशजङ्ग कार्की पनि यहाँ आएका छन् । यसैगरी गायिकाद्वय कञ्चन पुन मगर र गायिका खुसी थुलुङका साथै रचनाकार एवम् निर्देशक दुर्लभ जन्तरेसमेत यहाँ आएका छन् ।

कुमारले फाइनलिस्ट बनेपछि गृहजिल्ला आउँदा अत्यधिक माया पाएको बताएका छन् । “उत्कृष्ट ४ मा परेपछि यहाँ आउँदा निकै माया पाएँ । निकै खुसी छु । मेरा गृहजिल्लावासीहरूले मलाई वाहवाही गर्नुभयो । यो ऊर्जाले फाइनलमा काम गर्छ भन्ने विश्वास छ,” कुमारले भने ।

कोच उयद सोताङले पनि यसपटकको भोइसको ट्रफी हिमाली जिल्ला सोलुखुम्बु ल्याउनुपर्ने बताएका छन् । भोइसको मञ्चबाट पनि पटक-पटक यही बताउने गरेका उनले त्यसले सोलुखुम्बु सङ्गीतको जिल्ला पनि हो भनेर निचाउने उनी बताउँछन् । त्यसमा कुमारलाई सबैले समर्थन गर्न आग्रह उनले गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष असिम राईले पाँचौँ ‘अध्यक्ष रनिङ शिल्ड तथा स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’ को उद्घाटन तथा प्रतियोगिताको समयमा उपस्थित हुन र कुमारलाई जिताउन आह्वान गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved