धमाधम बन्द हुँदै टेलिभिजन, गुम्दै पत्रकारको रोजगारी

राम्रो ब्रान्डको रूपमा स्थापित ‘ग्यालेक्सी टेलिभिजन’ १ पुसबाट भयो । २९ पुसबाट बाग्मती टेलिभिजन बन्द हुँदैछ । यसअघि ‘अर्थन्यूज टेलिभिजन’ बन्द भइसकेको छ । ‘नेपाल न्यूज नेटवर्क टेलिभिजन’ बन्द हुँदै खुल्दै गरिरहेको छ ।

नेपालभ्युज

धमाधम बन्द हुँदै टेलिभिजन, गुम्दै पत्रकारको रोजगारी

काठमाडौं । ब्रान्डको रूपमा स्थापित ‘ग्यालेक्सी टेलिभिजन’ १ पुसबाट बन्द भयो । ६ महिनायताको तलब पाउन बाँकी रहेका पत्रकारहरू आन्दोलनमा छन् । अहिले टेलिभिजनले गीत मात्रै बजाइरहेको छ । त्यो पनि लाखौँ महसुल बाँकी रहेकाले विद्युत प्राधिकरणले लाइन नकाटेसम्म मात्रै चल्ने देखिन्छ । बन्दसँगै ग्यालेक्सी टीभीमा काम गरेका कर्मचारी र पत्रकारसहित सयजनाभन्दा बढी बेरोजगार भएका छन् ।

२९ पुसबाट बाग्मती टेलिभिजन बन्द हुँदैछ । रातोपुलमा केन्द्रीय कार्यालय राखेर ६ महिनाअघि मात्रै ‘रिलन्च’ गरेको सो टेलिभिजनले सबै कर्मचारीलाई उधारो चेक दिएर हिसाब फरफारख गरिसकेको छ । एक महिनापछिको मिति राखेर सबै कर्मचारीलाई चेक दिइएको छ । सबैलाई अर्को ठाउँमा जागिर खोज्न भनिएको छ ।

केही साताअघिदेखि ‘नेपाल नेटवर्क टीभी’पनि बन्द छ । दशैँ तिहारको समयमा समेत तलब नपाएर सबै पत्रकार र कर्मचारीले राजीनामा दिएपछि उक्त टिभी बन्द भएको हो । अनामनगरमा रहेको कार्यालयबाट सञ्चालकले अहिले पुरानो केही कर्मचारीको तलब भुक्तान गरेर फेरि केही वुलेटिन न्युज र गीत प्रशारण थालेका छन् ।

यसअघि गत ७ असारदेखि ठूलै लगानीमा सञ्चालित ‘अर्थन्यूज टेलिभिजन’ पनि बन्द भएको थियो । पाटनमा कार्यालय रहेको सो टेलिभिजन बन्द भएपछि ८० जना बढी पत्रकार कर्मचारी बेरोजगार भए । ‘रिलन्चको’ तयारी रहेको भनिएको सो टीभीमा अहिले गीत प्रसारण भइरहेको छ ।

पछिल्लो समय साना लगानीका अन्य केही टेलिभिजन पनि बन्द भए । कालोपुलमै कार्यालय रहेको ‘नाईस टीभी’ र जावलाखेलमा कार्यालय रहेको ‘गोर्खा टीभी’ बन्द भए । पर्याप्त लगानी र योजनाबिनै खुलेका ती टेलिभिजन बन्द हुँदा अन्यत्र जागिर छाडेर आएका दर्जन बढी पत्रकार तथा कर्मचारी बेरोजगार भए ।

जनता टेलिभिजनमा पनि लामो समयदेखि समस्या छ । कर्मचारी र पत्रकारले समयमा तलब पाएका छैनन् । समस्या भएपछि अब नयाँ ढंगले अघि बढ्ने तयारी भइरहेको व्यवस्थापनले जनाएको छ । बन्द हुने चर्चा भए पनि टेलिभिजनका अध्यक्ष डा विजय पौडेलले नयाँ लगानी आएकोले निरन्तर चलाउने बताएका छन् ।

पछिल्लो समय नेपालमा धमाधम टेलिभिजन बन्द हुँदै गइरहेका छन् । केही महिनाकै अवधिमा मुलुककै ब्रान्डको रूपमा स्थापित भएका केही सञ्चारगृह बन्द हुनुले नेपालका टेलिभिजनको भयावह संकटलाई दर्शाउँछ ।

सानाठूला लगानीका गरी बन्द हुने टेलिभिजनको संख्या दर्जन पुग्न लागेका छन् । पत्रकार कर्मचारी कटौती गरेर चलाइरहेका केही टेलिभिजन बन्द हुने क्रममा छन् ।

आफ्नै बलबुताले टिक्न सक्ने कमै मात्र मिडिया छन् । तिनको पनि अवस्था नाजुक छ । टेलिभिजन बन्द भएसँगै बेरोजगार हुनु त छँदै छ, धेरै टेलिभिजनमा काम गरेर पनि नियमित पारिश्रमिक नपाउने समस्या छ ।

नियमित तलब पाउने त नेपालमा टेलिभिजन नै (सरकारी र निजी २ वटा बाहेक) छैन । कतिपय टेलिभिजनमा पत्रकार तथा कर्मचारीले तीन महिनादेखि सात–आठ महिनासम्मको तलब पाउन सकेका छैनन् ।

धुम्बाराहीमा रहेको ‘ग्लोबल टेलिभिजन’मा पाँच महिनाको तलब बाँकी छ । सो टिभीका दुईजना सञ्चालकमा एक जनाले पैसा नझिकेपछि पत्रकारले पैसा पाएका छैनन् । एकजना सञ्चालकले आफूले मात्र लगानी गर्न नसक्ने बताएपछि सो टेलिभिजनको भविष्य अन्योलमा छ ।

ऋषि धमला अध्यक्ष रहेको प्राइम टाइम्स टेलिभिजनले पनि चार महिनाको तलब दिन सकेको छैन । पत्रकार तथा कर्मचारीहरू भारी कटौती गरे पनि आम्दानीले ‘अपरेसन कस्ट’ मात्र धानिरहेको व्यवस्थापक बताउँछन् ।

तीनकुनेमा कार्यालय रहेको नयाँ टेलिभिजन ‘सेभेनस्टार’को पनि हालत उस्तै भइसकेको छ । नयाँ आर्थिक वर्षबाट सुरु भएको सो टीभीले तीन महिनाको तलब दिन बाँकी भएपछि कार्यालय छाड्ने बढेका छन् ।

यद्यपि कात्तिकसम्मको पारिश्रमिक आफूहरूले पाएको समाचार संयोजक सुदर्शन आचार्यले बताए । संस्था छाडेर जाने केही पत्रकार कर्मचारीले पैसा नपाए पनि संस्थामा रहेकाहरूको भने एक महिनाको मात्रै तलब बाँकी रहेको उनको दाबी छ।

एपीवान, न्यूज ट्वान्टीफोर, माउन्टेन टेलिभिजन, सगरमाथा, एबीसी टेलिभिजनको हालत पनि झन्डै उस्तै छ । एक जमानामा थुप्रै सेलिब्रेटी जन्माएको एभिन्यूज टेलिभिजनको प्रभाव राम्रो थियो । अहिले उसको हालत पनि संकटमा छ ।

नेपालको पुरानो निजी क्षेत्रको च्यानल इमेज टेलिभिजन पनि धराशायी भएको छ । उसले ६ महिनायता पत्रकार कर्मचारीको तलब दिन सकेको छैन ।

हाले खुलको ‘स्पेस फोर के’ टेलिभिजनको अवस्था ठिकै चल्दैछ । टेलिभिजनलाई माथि उठाउन भन्दै रवि लामिछानेको शैलीको कार्यक्रम पूर्वडीआइजी रमेश खरेलले चलाउन थालेका छन् । जनता जनार्दन नामको कार्यक्रम चार एपिसोड प्रसारण भइसक्यो ।

अहिले हिमालय टेलिभिजन र कान्तिपुर टेलिभिजनबाहेक कसैले पनि तलब दिन सकेका छैनन् ।

रवि लामिछानेको अगुवाइमा खुलेको ‘ग्यालेक्सी टेलिभिजन’ बन्द, श्रम अदालत जाँदै पत्रकार

विज्ञापन बजार घट्दा टेलिभिजन संकटमा

नेपाली विज्ञापन बजार अहिले घटेकाले टेलिभिजन बन्द हुने अवस्थामा पुगेको विज्ञापन संघका पूर्व अध्यक्ष सोम धिताल बताउँछन् । पहिला वार्षिक कुल १४ अर्ब हाराहारी थियो ।

पछिल्लो समय यो आधाले घटेको छ । छापामा ६५, रेडियोमा ५०, टेलिभिजनमा ५० र अनलाइनमा ४० प्रतिशतले विज्ञापन घटेकाले टेलिभिजनले धान्न नसकेर बन्द भएको धितालको विश्लेषण छ ।

२०७२ मा भूकम्पका कारण खस्किएको विज्ञापन बजार कोरोना कालमा निकै तल झरेको थियो । जसको ठूलो मार अरुलाईभन्दा पनि टेलिभिजनलाई परेको धिताल बताउँछन्। “टेलिभिजनमा बिना अध्ययन र योजना लगानी भइरहेको छ । अहिलेको विज्ञापन बजारले भएका सबै मिडिया धान्न सक्दैन । बाँकी केही टेलिभिजन पनि बन्द हुन सक्छन्” उनी भन्छन् ।

अर्थतन्त्रमा आएको समस्याले विज्ञापन बजार प्रभावित भएको र यसैको असर मिडियामा परेको धितालको भनाइ छ । केही मिडिया भने आन्तरिक व्यवस्थापनको समस्याका कारण बन्द भएको उनको तर्क छ । पछिल्लो समय बन्द भएको ग्यालेक्सी फोरकेमा ठूलो लगानी थियो । पर्याप्त लगानी भए पनि व्यवस्थापनको कमजोरीले बन्द भएको बताइन्छ ।

अनलाइनको छायाँमा टीभी

पछिल्लोसमय सामाजिक सञ्जाल र अनलाइन न्यूज पोर्टलले टेलिभिजन विस्थापित गरेको जानकार बताउँछन् । ठूला कम्पनीले दिने विज्ञापन सोझै सामाजिक सञ्जाल वा न्युज पोर्टलमा दिन थालेपछि टेलिभिजन आर्थिक दृष्टिकोणले संकटमा परेको विज्ञापन एजेन्सी बताउँछन् ।

एजेन्सीहरू भन्छन्, ‘‘टेलिभिजन सञ्चालनका लागि करोडौँ खर्च लाग्छ । तर, अनलाइन मिडिया तुलनात्मक रूपमा केही कम खर्चमै सञ्चालन हुन सक्छ । तर त्यही माध्यम दर्शकको पहुँचमा राम्रो पुग्न सक्छ । त्यसकारण विज्ञापन बजार बाँडियो । विज्ञापन अनलाइन मिडिया र फेसबुक, युट्युबका कन्टेन्टमा पनि गए । विज्ञापन कटौती भएपछि टेलिभिजनले खर्च धान्न सकेन, बन्द हुन थाले ।’’

सम्बन्धित समाचार-

संकटमा नेपाली मिडिया : धमाधम बन्द हुँदै टेलिभिजन च्यानल र पत्रिका

६ महिनादेखिको तलब नपाएपछि टेलिभिजनका कर्मचारीले उठाए क्यामेरा र कम्युटर


Comment

One thought on “धमाधम बन्द हुँदै टेलिभिजन, गुम्दै पत्रकारको रोजगारी

  1. Small country lot of media
    Small market lot of media
    Because of lack of market they can’t survive.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved