रवि लामिछानेको अगुवाइमा खुलेको ‘ग्यालेक्सी टेलिभिजन’ बन्द, श्रम अदालत जाँदै पत्रकार

नेपालभ्युज

रवि लामिछानेको अगुवाइमा खुलेको ‘ग्यालेक्सी टेलिभिजन’ बन्द, श्रम अदालत जाँदै पत्रकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अगुवाइमा खुलेको ‘ग्यालेक्सी टेलिभिजन’ बन्द भएको छ । पाँचदिन अघिदेखि सो टिभीमा कुनै पनि सामग्री प्रसारण भएको छैन । फेसबुक पेज र युट्युबसमेत अपडेट छैन ।

स्याटलाइट लाइन भने नकाटिएकाले टेलिभिजन प्रशासनले गीत मात्रै बजाइरहेको छ । ग्यालेक्सी टीभीमा कर्मचारी र पत्रकारसहित झन्डै ८० जना कार्यरत छन् ।

अधिकांशले ६ महिनायताको तलब पाउन बाँकी छ । तलब नपाएर पत्रकार तथा कर्मचारीले आन्दोलन गरेपछि टेलिभिजन बन्द भएको हो ।

‘‘हामीले ६ महिनादेखि तलब पाएका छैनौँ, सबैले काम छाडेपछि अनौपचारिक रूपमा टिभी बन्द भएको छ । अहिले सञ्चालकले लाज छोप्न गीत बजाइरहेका छन् ’’ टीभीमा कार्यरत पत्रकारहरू भन्छन् ।

ग्यालेक्सी टिभी रवि लामिछानेको फेस देखाएर खोलिए पनि लगानी भने अरुकै थियो । रविले गत साल पार्टी खोलेपछि टिभी छाडेका थिए । उनले एक वर्षभन्दा बढी काम गरेनन् ।

संकटमा नेपाली मिडिया : धमाधम बन्द हुँदै टेलिभिजन च्यानल र पत्रिका

टीभीका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) सहकारी ठगी प्रकरणमा फरार छन् । देशभर सहकारीको नेटवर्क खडा गरी १६ अर्बभन्दा बढी ठगीको आरोप लागेका जीबीविरुद्ध पर्सा अदालतले पक्राउ पुर्जी जारी गरेको छ । त्यसपछि उनी भागेका हुन् ।

उनका अर्का व्यावसायिक साझेदार कुमार रम्तेल भने पक्राउ परेका छन् । दुवैविरुद्ध वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको उजुरी छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको आरोपमा जिल्ला अदालत कास्कीले पनि अध्यक्ष राई र रम्तेलसहित १३ जनालाई पक्राउ पुर्जी जारी गरेको छ।

६ महिनायता तलब नपाएका ग्यालेक्सी टीभीका कर्मचारी तथा पत्रकारले पनि उनीहरूविरुद्ध श्रम अदालतमा मुद्दा हाल्ने तयारी गरेका छन् ।

यसअघि सहकारीकै लगानीमा सञ्चालित अर्थन्यूज टेलिभिजन बन्द भएको थियो । सहकारीमार्फत १४ अर्ब ठगीको आरोप लागेका सञ्चालक केदारनाथ ‘केएन’ शर्मा पक्राउपछि टीभी बन्द भएको थियो । केही साताअघि मात्रै नेपाल नेटवर्क टीभी पनि बन्द भएको थियो ।

तर, दुवै टेलिभिजनले अहिले गीत मात्रै प्रसारण गरिरहेका छन् । पर्याप्त लगानी र योजनाबिनै टेलिभिजन खुलिरहेकाले छिट्टै केही अरू टेलिभिजन पनि बन्द हुने अवस्थामा छन् ।

६ महिनादेखिको तलब नपाएपछि टेलिभिजनका कर्मचारीले उठाए क्यामेरा र कम्युटर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved