संकटमा नेपाली मिडिया : धमाधम बन्द हुँदै टेलिभिजन च्यानल र पत्रिका

सयौँ पत्रकार र कर्मचारीले गुमाए रोजगारी

पछिल्लो पटक नेपाली मिडियामा संकट देखिएको छ । कतिपय मिडिया धमाधम बन्द हुन थालेका छन्। स्टाटेलाइन टीभीदेखि ब्रोडसीट दैनिक पत्रिका समेत बन्द भइरहेका छन् ।

नेपालभ्युज

संकटमा नेपाली मिडिया : धमाधम बन्द हुँदै टेलिभिजन च्यानल र पत्रिका

काठमाडौं। पछिल्लो पटक नेपाली मिडियामा संकट देखिएको छ । कतिपय मिडिया धमाधम बन्द हुन थालेका छन्। स्टाटेलाइन टीभीदेखि ब्रोडसीट दैनिक पत्रिका समेत बन्द भइरहेका छन् । जसको प्रत्यक्ष मारमा सयौंजना पत्रकार तथा कर्मचारी परेका छन्।

खुलेको ६ महिनामै टीभी बन्द

शुक्रबारदेखि मात्रै अर्थन्यूज टेलिभिजन बन्द भएको छ। पुलचोकमा कार्यालय रहेको सो टीभी गत भदौमा मात्रै औपचारिक रूपमा सञ्चालनमा आएको थियो।

सुरुमा डेढ सय पत्रकार कर्मचारी रहेको सो संस्थामा पछिल्लो समय करिब ५० कर्मचारी कार्यरत थिए। उपकार ग्रुपले चलाएको सो टीभी अब  आन्तरिक व्यवस्थापनको कारण बन्द भएको बताइएको छ।

द नेपालटप बन्द

ब्रोडसिट दैनिक “द नेपालटप” पनि शुक्रबारदेखि नै बन्द भएको छ। कोरोनाकालअघि सञ्चालनमा आएको सो मिडियाको अनलाइन संस्करणसहित पत्रिका पनि बन्द भएको हो। पत्रिका बन्दपछि सम्पादक डिल्ली आचार्यसहितको टिम बाहिरिएको छ।

बबरमहलमा कार्यालय रहेको सो मिडियामा ३० भन्दा बढी पत्रकार र कर्मचारी कार्यरत थिए। पत्रिका बन्द भएपछि धेरै पत्रकार तथा कर्मचारी समस्यामा परेका छन्।

राजधानी बन्द

यस्तै २२ वर्ष पुरानो राजधानी पत्रिका बन्द भएको छ। यो पत्रिका २२ जेठ २०५८ मा सुरु भएको थियो। आर्थिक संकटपछि कुपन्डोलबाट सरेर चाबहिलमा कार्यालय राखिएको थियो।

यहाँका पत्रकारले नियमित पारिश्रमिक सेवा सुविधा नपाएको भन्दै सरोकारवाला निकायमा उजुरी दिएका थिए। पत्रिका बन्दपछि ४० भन्दा बढी पत्रकार तथा कर्मचारी बेरोजगार छन्।

गत जेठ महिनाबाटै हिमाल खबर पत्रिका मासिक म्यागेजिन बन्द भएको छ। अनलाइन संस्करण चलिरहे पनि पुन: प्रकाशन भएको दुई वर्ष नपुग्दै म्यागेजिन बन्द भयो।

केही बन्दको तयारीमा

केही समयमै अरू केही ठुला टेलिभिजनसहितका मिडिया बन्द हुने तयारीमा छन्। चरम आर्थिक संकटमा रहेका केही मिडिया पत्रकार कर्मचारीलाई तलब नदिइ चलिरहे पनि अब भने आन्दोलन सुरु हुन थालेको छ ।

कतिपय मिडियाले कर्मचारी तथा पत्रकार कटौती गरिरहेका छन् । अहिले चलिरहेकामध्ये धेरैजसो मिडियामा जागिर गुमाएका, नियमित तलब नपाएका, तोकिएकोभन्दा कम तलब पाएका र ‘फोर्स लिभ’मा बस्न बाध्य पारिएका घटना धेरै रहेको नेपाल पत्रकार महासंघले जनाएको छ।

यसअघि कोरोना कालमै नेपाल साप्ताहिक म्यागेजिन, शुक्रबार, साप्ताहिकलगायत साता दिनमा प्रकाशन हुने थुप्रै पत्रिका बन्द भएका थिए। धेरै पत्रकार पुनर्स्थापित हुन नपाउँदै मिडिया क्षेत्रमा संकट गहिरिएको छ ।

खुम्चियो विज्ञापन बजार, मिडियामा प्रत्यक्ष असर

नेपाली विज्ञापन बजार वार्षिक कुल १४ अर्ब हाराहारी थियो पछिल्लो समय यो  आधा घटेको छ । छापामा ६५, रेडियोमा ५०, टेलिभिजनमा ५० र अनलाइनमा ४० प्रतिशतले विज्ञापन घटेको छ।

२०७२ मा भूकम्पका कारण खस्किएको विज्ञापन बजार कोरोना कालमा निकै तल  झरेको थियो । जसको ठुलो मार अरुलाईभन्दा पनि मिडियालाई परेको विज्ञापन संघका अध्यक्ष सोम धिताल बताउँछन्। “अहिले धेरै मिडिया भए। अहिलेको विज्ञापन बजारले भएका सबै मिडिया धान्न सक्दैन। बाँकी केही पनि बन्द हुन सक्छन्” उनी भन्छन् “बिना अध्ययन र योजना मिडियामा लगानी भएकाले समस्या आएको हो। राज्यले पनि योजना ल्याउन सकेन। निजी क्षेत्रले पनि जानेनन्।”

अर्थतन्त्रमा आएको समस्याले विज्ञापन बजार प्रभावित भएको र यसैको असर मिडियामा परेको धितालको भनाइ छ। केही मिडिया भने आन्तरिक व्यवस्थापनको समस्याका कारण बन्द भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved