सुनकोशी मरिण डाइभर्सन सुरूङको ब्रेक थ्रू

नेपालभ्युज

सुनकोशी मरिण डाइभर्सन सुरूङको ब्रेक थ्रू

काठमाडौं । सुनकोशी मरिण डाइभर्सन सुरूङको ब्रेक थ्रू भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्विच थिचेर बाँकी रहेको केही सेन्टिमिटर सुरूङको ब्रेक थ्रू गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री वर्षमान पुनलगायत सहभागी थिए ।

यो परियोजनालाई आर्थिक गेम चेन्जर परियोजनाको रूपमा हेरिएको छ । सुनकोशी–मरिण डाइभर्सनको कुल लम्बाइ १३ दशमलव ३ किलोमिटर छ ।

सुरूङ निर्माण समय २ वर्ष रहेकोमा १९ महिनामै काम सकिन लागेको आयोजना प्रमुख मित्र बरालले जानकारी दिए ।

आयोजनाको काम २०७९ असोज २८ गते सुरू भएको थियो । सो आयोजनाले सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत उत्पादन गर्ने र तराईका १ लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

सुरूङको ब्रेक थ्रू भए पनि बाँध तथा विद्युत गृहको काम लक्ष्यअनुसार हुन सकेको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन सुधार गर्न आयोजनाले पटक पटक निर्देशन दिएको छ ।

विसं २०८४ असोजमा सो आयोजना पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीलाई मरिण खोलामा लगिनेछ ।

बाग्मती सिञ्चाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिञ्चाइ हुनेछ ।

आयोजनाको सुरूङको काम चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरिरहेको छ । कम्पनीले ११ अर्ब २९ करोड रूपैयाँमा ठेक्का पाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved