ग्लोबल आइएमई बैंक : बागलुङका एक युवाले जन्माएर फुलाएको अब्बल संस्था

बाग्लुङको एक विकट गाउँमा सामान्य परिवारमा जन्मिएका एक व्यक्तिको मेहनत, इमान्दारीता, लगनशीलता, सपना र सफलताबाट जन्मिएको ग्लोबल आइएमई बैंक अब विश्वकै ठूला एक हजारभित्र पर्ने दौडमा छ । जानौं यो बैंकको जन्म र हुर्काइको कथा ।

नेपालभ्युज

ग्लोबल आइएमई बैंक : बागलुङका एक युवाले जन्माएर फुलाएको अब्बल संस्था

काठमाडौं । पछिल्लो समय अब्बल बैंकहरूको सूचीमा पर्दै आएको ग्लोबल आइएमई बैंकले मंगलबार अर्थात् आज १७ औं वार्षिकोत्सवको खुसी मनाइरहेको छ । अहिलेसम्म आइपुग्दा ग्लोबल आइएमई बैंक लिमिटेड सफल र अब्बल बनेको छ ।

बैंकले आफ्नो १७औं वर्षगाँठ मनाउँदै गर्दा पुँजीको आकार, वित्तीय कारोबार, सेवाग्राही सङ्ख्या, सेवा प्रभावकारी र शाखा सञ्जालको हिसाबले बृहत् र अब्बल बैंक बन्न पुगेको छ ।

बैंकको जन्म कथा 

बाग्लुङको एक विकट गाउँमा सामान्य परिवारमा जन्मिएका एक व्यक्तिको मेहनत, इमान्दारिता, लगनशीलता, सपना र सफलताबाट जन्मिएको हो ग्लोबल आइएमई बैंक । त्यी व्यक्ति हुन् चन्द्र प्रसाद ढकाल । ढकालले एसएसली दिइरहेकै बेला बुवा गुमाए । त्यस्तो परिस्थितिमा घरपरिवारको मूल खाँबो ढलेपछि १६ वर्षका जेठो छोराले घरको जिम्मेवारी सम्हाल्नुपर्ने भयो ।

पारिवारिक दायित्वको भारीले थिचिन पुगेका उनी एसएलसी परीक्षामा अनुत्तीर्ण भए । तर, पनि उनी कति पनि विचलित नभई नहड्बडाइ लगनका साथ आफ्नो कर्ममा लागे । भाइबहिनी र आफ्नो पढाइसँगै पारिवारिक आर्थिक संकटले थिचेपछि काठमाडौं हान्निएको उनी सुनाउँछन् ।

“म १६ वर्ष हुँदा बुबा बित्नुभयो । परिवारको सबैभन्दा जेठो छोरा भएकाले भाइबहिनी, आमा र आफ्नो पनि शिक्षादेखि हेरचाहको जिम्मेवारी मेरै थियो । त्यो बेला जागिर खानु मेरो बाध्यता थियो,” उनी भन्छन् ।

पारिवारिक जिम्मेवारीको भारी बोकेर काठमाडौं आएका ढकालले पेप्सीकोला वितरक कम्पनी स्वस्तिक हेरिटेजमा जागिरे जीवन सुरू गरे । पढाइसँगै जागिरे जीवन अघि बढाउँदाका छुट्टै कथा छन् उनका । जागिर खाँदै ढकालले घरमा खर्च पठाउँदै पढाइलाई पनि निरन्तरता दिए । हातमा सर्टिफिकेट परेपछि उनले विसं २०४५ सालतिर राष्ट्रिय वाणिज्य बैंकको सहायक लेखापालमा नाम निकाले । त्यो बेला उनको तलब थियो ५४५ रुपैयाँ ।

वाणिज्य बैंकमा चार वर्ष काम गरिसकेपछि उनdf नयाँ सोच आउन थाल्यो ‘आफ्नै व्यवसाय गर्ने’ । यही सोचअनुसार उनले कोल्ड स्टोर सञ्चालनमा ल्याए । आकांक्षी ढकाललाई यतिले मात्र कहाँ पुग्थ्यो र ? उनले फेरि कार्गो व्यवसायमा हात हाले ।

त्यसपछि उनलाई व्यवसाय विस्तारको लागि १२/१३ लाख रुपैयाँको आवश्यक पर्‍यो । त्यसका लागि उनले आफू कार्यरत बैंकमा ऋणका लागि आवेदन दिए । तर, ऋणका लागि उनले नैतिकरूपमा जागिर छाड्नुपर्ने अवस्था आयो ।

“त्यहाँ निर्णय गर्ने मान्छेले तपाईं कि राजीनामा दिनुस् नत्र हुँदैन भन्नुभएको थियो । मैले राजीनामा दिएर त्यो पैसा लिएको थिएँ,” उनले भने, “राजीनामा दिनलाई गाह्रो थियो मलाई । केही नभएको बेला सहारा दिएको जागिरको माया थियो ।”

यद्यपि, व्यवसाय विस्तारका लागि ऋण पाउन भए पनि उनले जागिर छाडे । सन् २००१ तिर नेपालका धेरै युवा वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । वैदेशिक रोजगारीमा गएका उनीहरूलाई स्वदेश पैसा पठाउन निकै सकस थियो । बैंकिङ च्यानल त थियो । तर, सबैका लागि यो प्रक्रिया सहज थिएन । बैंकमार्फत पठाउँदा वर्षौँसम्म वा महिनौँसम्म पैसा अड्किन्थ्यो ।

नाममा अलिकति अक्षर बिग्रिए खातामा जम्मा नै नहुने समस्या थियो । त्यत्तिबेलै अनौपचारिक च्यानल हुन्डीको काम गर्ने मान्छेहरूले पैसा नदिएर भागेका घटना पनि आउँथे । यो समस्यामा ढकालको आँखा गाडियो । उनी सम्झन्छन्, “त्यही कुराहरूले मलाई सम्बन्धित घर परिवारलाई सहज हिसाबले पैसा पुग्न सकोस् र सरकारले चाहेको हार्ड करेन्सी पनि खातामा आउने किसिमको एउटा संयन्त्र बनाउँ भन्ने लाग्यो ।”

जसबाट केही गर्न खोजिरहेका स्टार्टअप उद्यमीलाई व्यवसाय गर्न पनि सहज होस भन्ने सोच उनमा आयो । सर्वसाधारणले सहजरूपमा सुविधा पाउने, सरकारले खातामा पनि विदेशी मुद्रा प्रत्यक्षरूपमा आओस् र व्यवसाय पनि होस् भन्ने उद्देश्यका साथ ढकालले रेमिट्यान्स व्यवसायमा हात हाले  । उनले भने, “पहिला मलेसियाबाट सुरू गरौँ भनेर लाग्यौँ । मलेसिया र नेपाल दुवै देशको केन्द्रीय बैंकले हामीलाई अनुमति दियो । नेपालमा पनि विदेशी मुद्राको काम केन्द्रीय बैंकले गर्थ्यो ।”

रेमिट्यान्सको काम गरिरहँदा आफ्नै बैंक तथा वित्तीय संस्थाको अभाव खड्किएपछि उनले आईएमई फाइनेन्सियल इन्स्टिट्युसन खोलेर केही वर्षसम्म चलाए । रेमिट्यान्सको काम गर्नलाई त्यो फाइनेन्सियल इन्स्टिट्युसनले पनि खासै सहयोग गर्ने नदेखिएपछि विदेशी मुद्राको काम वाणिज्य बैंकले मात्रै गर्ने भएकाले एउटा वाणिज्य बैंक नै चाहिन्छ भन्ने भएपछि ग्लोबल आइएमई बैंकको अवधारणा उनको दिमागमा फुर्‍यो ।

उनी भन्छन्, “त्यत्ति बेलाको नियममा केन्द्रीय बैंकले काठमाडौंमा बैंकिङ लाइसेन्स दिएको थिएन । उपत्यका बाहिर राखेर दिने प्रावधान थियो । हामीले काठमाडौं बाहिरको वाणिज्य बैंकका रूपमा जाने भनेर वीरगञ्जलाई राखेर निवेदन दियौँ,” उनले भने, “काम हुँदै थियो । केन्द्रीय बैंकले काठमाडौंमा पनि लाइसेन्स दिने प्रावधान खुलाइदियो । हामीले पहिला क्षेत्रीयरूपमा गरेको बैंकलाई अपग्रेड गराएर केन्द्रीय रूपमै सुरू गर्‍यौँ ।”

त्यसपछि जन्मियो ग्लोबल आइएमई बैंक ।

विस्तारित रूप

बैंकको जन्म भएपनि यसमा आइएमई जोडिएको भने पछि हो  । त्यो बेला ग्लोबल बैंक स्थापना भएको थियो । २०६३ सालमा ग्लोबल बैंकको चुक्ता पुँजी १ अर्ब ५० करोड रहेको थियो । २०६८ माघमा बैंकले आइएमई फाइनान्सिएल इन्स्ट्यिुटलाई मर्ज गरेको थियो । यो मर्जर बैंक तथा वित्तीय संस्थाहरूमै सबैभन्दा पहिलो थियो । उक्त समयमै लर्डबुद्ध फाइनान्सलाई पनि गाभेको थियो । तीन संस्था गाभिएपछि संस्थाको नाम २०६९ असार २५ गतेदेखि ग्लोबल आइएमई रहेर एकीकृत कारोबार सुरू भएको थियो ।

ग्लोबल बैंकको नाममा उत्पत्ति भएको बैंक खुलेपछि एउटै प्रोमोटरको वाणिज्य बैंक र फाइनान्स हुन जरुरी छैन, एउटै भएमा सहज हुन्छ भन्ने हिसाबले आईएमई फाइनेन्सियल इन्स्टिट्युसन र ग्लोबल बैंकलाई मर्जरमा लगिएको ढकाल बताउँछन् ।

१७औं वर्षसम्म आइपुगिसकेको ग्लोबल आइएमई बैंकमा अहिले ५ वाणिज्य बैंक, १० विकास बैंक र ६ वटा फाइनान्स कम्पनीसहित २१ वटा बैंक तथा वित्तीय संस्था मर्ज भएका छन् । अकासिएर विस्तार भएको बैंकमा हाल ४५ लाख निक्षेपकर्ता छन् । बैंकले ११०० भन्दा बढी देश तथा विदेशको सेवाकेन्द्रबाट बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

हाल बैंकले देशका ७७ वटै जिल्लामा शाखा रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा ३ सय ५१ शाखा, ३ सय ७६ एटिएम, ३ सय २२ शाखारहित बैंकिङ इकाइ, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै बेलायतको लन्डन, भारतको न्यू दिल्ली र अस्ट्रेलियाको सिड्नीमा गरी तीन वटा वैदेशिक सम्पर्क कार्यालयमार्फत समेत बैंकिङ सेवा दिइरहेको छ ।

बैंकको वित्तीय स्थिति

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत आवको यही अवधिमा बैंकको नाफा १ अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

गत वर्षको यसै अवधिमा बैंकले खुद ब्याज आम्दानी ३ अर्ब २० करोड रुपैयाँ गरेको थियो । यस अवधिमा बैंकको सञ्चालन आम्दानी पनि गत वर्षको तुलनामा ७८ करोड रुपैयाँले बढेको छ । गत वर्षको यस अवधिमा बैंकले ३ अर्ब १४ करोड सञ्चालन आम्दानी गरेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा ३ अर्ब ९२ करोड रुपैयाँ आम्दानी गरेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ९ रुपैयाँ ९६ पैसा रहेको छ । ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप ३.९१ प्रतिशत बढेको छ भने कर्जा ०.२७ प्रतिशत बढेको छ ।

बैंकको आगामी यात्रा 

ग्लोबल आईएमई बैंकलाई विश्वका हजार बैंकमध्ये एक बनाउनका लागि आफूहरू लागि परिरहेको ढकाल बताउँछन् । उनी भन्छन् ‘यो खास ठूलो कुरा हो जस्तो लाग्दैन । किनभने पुँजीको आकारको हिसाबले वास्तवमा एक दुई वर्ष हामीले नगद लाभांश नलिने हो भने पुर्याइहाल्छौं’, उनले भने ‘धेरैपछि सुरु गर्दा नेपालमा एक नम्बर भयौं भने अब अलिकति मिहेनत गर्यौं भने उत्कृष्ट हजार बैंकमा ग्लोबललाई पुर्‍याउन सक्छौं ।’

उनले कन्ट्री रेटिंगको प्रक्रिया पनि अघि बढाएको बताएका छन् । यसका लागि बेलायत, दिल्ली, अस्ट्रेलियामा प्रतिनिधि कार्यालय पनि राखिएको उनको भनाइ छ ।

बैंकले सानो बचतकर्तादेखि ठूलो बचतकर्ता, सानो व्यवसायीदेखि कर्पोरेट लेभलको व्यवसायी सबैका लागि बैंक भनेर काम गरिरहेको छ । आगामी दिनमा डिजिटलाइजको कुराहरू पनि भइरहेको उनले बताए । ‘कतिपय मर्जर र एक्विजिसनको पाटोबाट अलिकति कन्सोलिडेसन भइरहेको छ । यसमा हाम्रा हरेक कर्मचारी र हरेक शाखाले सेवालाई चुस्त दुरुस्त बनाउनुपर्ने छ ।’ ढकालले भने ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved