तोकेको समयभन्दा एक वर्षअगावै सडक बनेपछि ठेकेदारलाई फुलमाला र अविर

नेपालभ्युज

तोकेको समयभन्दा एक वर्षअगावै सडक बनेपछि ठेकेदारलाई फुलमाला र अविर

काठमाडौं । तोकिएको समयभन्दा एक वर्ष अगावै सडक निर्माण सम्पन्न गरेपछि ठेकेदार कम्पनीलाई स्थानीयले सम्मान गरेका छन् ।

दुई वर्षको ठेक्का अवधी भएको म्याग्दीको बेनी गलेश्वर सडक एक वर्ष अगावै सकिएपछि स्थानीयले ठेकेदार कम्पनीको प्रशंसा गरेका हुन् ।

स्थानीयले निर्माण व्यवसायी सुवास कार्कीलाई गलेश्वरस्थित आमा समूह, गलेश्वर क्षेत्र विकास कोष र टोल विकास संस्थाले सम्मानपत्रसहित फूलमाला र अबिर लगाएर सम्मान गरेका हुन् ।

ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण विकास निर्माणका योजना वर्षौंदेखि अलपत्र परेका समाचार आइरहँदा म्याग्दीमा भने कम्पनीले लक्ष्यभन्दा एक वर्ष अघि नै काम सकेको छ ।

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८, कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्रे गर्ने आयोजना सम्झौता मितिभन्दा एक वर्षअघि निर्माण सम्पन्न भएको हो ।

छिटोछरितो तवरले काम गरेर एक वर्षमै योजना सम्पन्न गरेर वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकको यात्रा गर्ने बाध्यता हटाइदिएको भन्दै गलेश्वरका स्थानीयले निर्माण व्यवसायीलाई सम्मानसमेत गरेका छन् ।

निर्माण व्यवसायीले पर्याप्त मात्रामा मजदुर र उपकरण परिचालन गरेर लक्ष्यभन्दा एक वर्षअगाडि योजनाको सम्पूर्ण काम सम्पन्न गरेको योजनाका इन्जिनियर अच्युतविलास पन्तले बताए  ।

सडक फराकिलो बनाउने, पर्खाल, नाली, चार वटा कल्भर्ट, सबबेस, बेस र दुई सय मिटर आरसिसी ढलानपछि कालोपत्रे गरिएको समाचार गोरखापत्रमा छापिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved