विचार

‘लोकतन्त्र सफल हुन चण्डालको अन्त्य र करार पालना गर्ने संस्कृति चाहिन्छ’

रमाइलो कुरा के छ भने हाम्रो यो जो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक जुन जनसाङ्ख्यिक संरचना छ, त्यसले दलतन्त्र, वंशवाद वा अल्पतन्त्रलाई एउटा अवसर प्रदान गर्दो रहेछ । किनभने कसैको पनि बहुसङ्ख्या छैन । मानौँ कि जनसाङ्ख्यिक हिसाबले कसैको ९० प्रतिशत हुन्थ्यो भने सायद राजनीतिक गतिशीलता फरक हुन्थ्यो ।

‘लोकतन्त्र सफल हुन चण्डालको अन्त्य र करार पालना गर्ने संस्कृति चाहिन्छ’

लोकतन्त्र दलतन्त्रतिर गयो भन्ने छ । म त दलभित्र पनि एउटा गुट देख्छु । गुटतन्त्र देख्छु । गुटभित्र एउटा नेता देख्छु । नेतातन्त्र देख्छु । त्यो एउटा नेता र दलबीच भिन्नता देखिन्न । नेता नै दल कि दल नै नेता हो ? तसर्थ, हामी जेलाई दलतन्त्र भनिरहेका छौँ, त्यो नेतातन्त्र हो कि ?

म विद्यार्थी जीवनमा माले थिएँ । सन् १९९०-९१ पछाडि मैले राजनीति छोडेँ । संसद्‌‌को टिकट दिएका थिए । तर, त्यो काम छैन भनेर छोडेँ । पछि राजा ज्ञानेन्द्रको शासनकालमा मन्त्री खाने अफर आयो । त्यो पनि काम लाग्दैन भनेर छोडेँ । ३० वर्षदेखि मास्टर छु । त्यतिखेर मेरो जे सङ्कट थियो, आज पनि म त्यही सङ्कटमा छु ।

मैले नेता र दलहरूलाई नजिकबाट हेरेको छु । नेपालको जो सामाजिक विविधता छ, यसभित्र साझा मनोविज्ञान पनि छ । मानवजातिको साझा मनोविज्ञान, साझा कुरा पनि छ । र भिन्न र विशिष्ट कुरा पनि छ । इतिहासले, प्रादेशिक थातथलोले, भाषाले, रहनसहन र संस्कृतिले बेग्लाबेग्लै पनि छ ।

रमाइलो कुरा के छ भने हाम्रो यो जो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक जुन जनसाङ्ख्यिक संरचना छ, त्यसले दलतन्त्र, वंशवाद वा अल्पतन्त्रलाई एउटा अवसर प्रदान गर्दो रहेछ । किनभने कसैको पनि बहुसङ्ख्या छैन । मानौँ कि जनसाङ्ख्यिक हिसाबले कसैको ९० प्रतिशत हुन्थ्यो भने सायद राजनीतिक गतिशीलता फरक हुन्थ्यो ।

तर, यहाँ सबैभन्दा ठूलो समूह भनेको क्षेत्री १५-१६ प्रतिशत छ । त्यसपछि ब्राह्मण समुदाय १२-१३ प्रतिशत छ र अरु सबै ५, ६, ७ प्रतिशतजस्तो छन् । पृथ्वी नारायण शाहको दरबारबाट विस्तार भएको राज्य हुँदा एउटा समुदायमा यो त हाम्रो राज्य, हाम्रो राष्ट्र, यो मुलुक त हाम्रो पो हो त भन्ने मनोविज्ञान हुँदो रहेछ ।

तर, तामाङ, राई, लिम्बु, थारु, चेपाङ हुँदै राउटेसम्म पुग्दा कल्पना गर्नुस् कति जटिलताहरू छन्, कति सहजताहरू छन् । एउटा उदाहरणमा भनौँ, सुटकेसमा तीनवटा मात्र डिजिट हुन्छ । तर, त्यसले लाखौं ‘कि’ को काम गर्दछ । यहाँ त सयौं जातजातिको ‘कम्बिनेसन’ छ, खेलाउनेलाई रिजल्ट निकाल्न सजिलो हुँदो रहेछ ।

नेताहरूले जोखिम त मोलेकै हुन् । बीपी कोइरालाले बडो जोखिममा काम गरेको देखिन्छ । लोकतन्त्रका लागि जुन संघर्ष र बलिदान भए, लोकतन्त्र आयो, स्वतन्त्र भयौँ भन्ने भावना बन्यो । तर, के त्यसपछि शाह वा राणा अल्पतन्त्रको चरित्र गयो त ? कि सँगै आयो ? मलाई लाग्छ— २००७ सालदेखिकै लोकतन्त्रमा शाह वा राणा अल्पतन्त्रको निरन्तरता थियो । त्यो अहिलेसम्म पनि छँदैछ ।

एकातिर हामी भन्छौँ, लोकतन्त्र आयो । फेरि हामी भन्छौँ कि भएन, लोकतन्त्रै आएन । यो के हो त ? के भएको हो ? मलाई लाग्छ— सामाजिक विविधताको तहसम्म नागरिक हुने, नागरिक बन्ने, नागरिक गौरव र स्वामित्व अनुभूति गर्ने प्रक्रिया नै पुगेन ।

नागरिक को हो त ? को नागरिक को अनागरिक ? जसमा २-३ सय वर्षको राजनीतिक प्रक्रियामा स्वामित्वको अनुभूति थियो, राजनीतिक क्रान्तिले उनीहरूको नागरिक अधिकार दियो । सायद उनीहरू ‘डब्बल नागरिक’ बने । तर, जसमा त्यो अनुभूति थिएन, उनीहरू बोक्रे नागरिक भए । यी दुई प्रकारका नागरिकबीच गहिरो भिन्नता छ । अहिले आएर मलाई पनि बोक्रेबोक्रे नागरिक हुँ जस्तो लाग्छ ।

तसर्थ, नागरिक हुन त पहिला राज्यमा भूमिकाको प्रश्न आउँदो रहेछ । आर्थिक असमानताले गर्दा कोही कम्युनिष्ट भयो होला । लोकतन्त्रका लागि वा आधिकारका लागि कोही कांग्रेस भयो होला । व्यक्तिगत अधिकार, स्वार्थ वा स्वतन्त्रताका लागि कोही उदारवादी भयो होला । कोही हिन्दू राज्यको कुरा गर्दै फन्टामेन्टालिष्ट भयो होला । यसले फरक ल्यायो त ?

तर, यो विचारको भिन्नता एउटा खास बिन्दुमा पुगेर हराउँदो रहेछ । जब राज्यको स्वामित्व, सहभागिता वा चरित्रको प्रश्न आउँछ, सबै उस्तै हुँदा रहेछन् । यो यही हो मेरो सङ्कट । मैले किन मालेको टिकट नलिएको, किन ज्ञानेन्द्र शाहको मन्त्री नखाएको यही कारणले हो ।

जसको राज्यमा स्वामित्व पहिलेदेखि नै छ, उसले दोस्रो प्राथमिकताको फाइदाका लागि मात्र विचारधारा रोज्दो रहेछ । राजनीतिक संलग्नता, संगठन गर्दै जाँदो रहेछ । आधारभूत कुरामा कुनै फरक छैन। राज्य पुनर्संरचनाका बेला कांग्रेस, एमाले, माओवादी, राप्रपाका प्रतिनिधि भेला हुन्थे । तर, तिनको कुरा एउटै हुन्थ्यो । जब कुरा एउटा हुन्छ, त्यो कसरी फरक पार्टी हो ? कसरी फरक मान्छे हो ? कसरी फरक विचारधाराको हो ?

यस्तो किन भयो त ? मलाई के लाग्यो भने राज्यको चरित्रको विषयमा उनीहरू आधारभूतरूपमा एकै ठाउँ छन् । त्यसपछि मलाई के लाग्यो भने नागरिकको राजनीतिक अधिकार पनि एउटै बाटो वा गल्लीबाट प्राप्त नहुने रहेछ । यहाँनेरबाट बहु उपराष्ट्रियताको सोच अघि आयो । लिम्बूवान्‌को कुरा, थारुवानको कुरा, किरातको कुरा, खसानको कुरा यहीँनेरबाट आए । एकात्मकतावादी राज्य संरचना र कुनै एक समुदायको पूर्ववर्चस्वमा त कुन पार्टीको प्रतिनिधिले के भन्छ कुनै फरक नै नहुने रहेछ ।

सामाजिक अस्तित्व राजनीतिक गल्लीहरूबाट अभिव्यक्त हुन सङ्घीयता चाहिने रहेछ । त्यसपछि म सङ्घीयतावादी भएँ । सङ्घीयतावारे यतिधेरै अध्ययन गरेँ, सायद राजनीतिक विभागका प्राध्यापकले पनि त्यति नगर्लान् । के लाग्यो भने जब स्थानीय नागरिक र समुदायको प्रतिनिधित्व हुन्छ, तिनीहरूबीच मात्र विविधताको संवाद हुन्छ । त्यो संवादमा साँचो वा वास्तविक संवाद हुन्छ । उस्तैउस्तै सोच र दृष्टिकोण भएका मान्छे बीच के संवाद हुन्छ ? जब विविधताबीच संवाद हुन्छ, त्यो मात्र साँचो राष्ट्रिय संवाद बन्न पुग्दछ ।

विचाराधाराको आधारमा मान्छेले राजनीतिक गतिविधि गर्ला । जस्तो कि एमालेले झुलाघाटदेखि चिवाभन्ज्याङसम्म यात्रा गर्‍यो । त्यो त मान्छेलाई बेबकुफ बनाउने जात्रा न हो । त्यस्तो जात्रा त हामीले उहिले राजाकै पालादेखि कति हेर्‍यौँ, हेर्‍यौँ ? राजा वीरेन्द्रको ५ विकास क्षेत्रीय भ्रमण कति हेर्‍यौँ, हेर्‍यौँ ।

यस दृष्टिकोणबाट लोकतन्त्र आइसक्यो, हामी लोकतान्त्रिक राज्यमा छौँ भन्ने कुरा त एक गलत सोच मात्रै रहेछ । कस्तो देखियो भने जो सत्तामा छ, उसलाई लोकतन्त्र पर्याप्त छ, जो सत्तामा छैन, ऊ अझै लोकतन्त्रको कुरा गर्दैछ । तर, राजनीतिको ‘डाइनामिक्स’ चाहिँ कहाँनेर छ भने यो भीडतन्त्र र लोकतन्त्रमा भेद गर्नुपर्ने रहेछ । ‘डेमोक्रेसी’ र ‘डेमागोजी’ बीचको फरक हेर्न पर्ने रहेछ ।

डेमोक्रेसी आउनु भन्दा अगाडि त डेमागगहरू नै थिए । खासमा डेमागग शब्द ट्रम्प पछाडि प्रसस्त प्रयोग भयो । तर, यो शब्द सोह्रौं, सत्रौं शताब्दीतिर साहित्यमा थियो । यो त समाजको एक प्रवृति न हो । अहिले हाम्रो सङ्कट कहाँनेर रहेछ भन्दा हामी लोकतन्त्रवादी नै भएका रहेनछौँ, हामी पूरै डेमागग रहेछौँ ।

लोकतन्त्रमा वचनको, करारको महत्त्व हुन्छ । लिखित होस् वा बोलेको कसैले केही भन्छ भने त्यो करार भयो, त्यो लागू हुन्छ भन्ने विश्वास हुन्छ । हाम्रो लोकतन्त्र करारविहीन भयो । लोकतन्त्रमा करार लागू हुने कि नहुने ? यदि हो लोकतन्त्र काम लाग्दैन भने करारबेगर चल्ने हाम्रो समाजको कारणले काम लाग्दैन ।

बहुदलीय लोकतन्त्रमा राज्यले जनतासँग गर्ने जुन करार हुन्छ, त्यो संविधानद्वारा होला, कानुनद्वारा होला, जुन करार राज्यले गर्छ, त्यहाँ बस्दा मात्र राज्य चल्छ । जब हामी नेतातन्त्र, गुटतन्त्र, दलतन्त्रको कुरा गर्दैछौँ भने यसको अर्थ हो कि हामी लोकतन्त्रमा छैनौँ, हामी लोकतान्त्रिक भइसकेकै छैनौं । अनि लोकतन्त्र कहाँ आयो त ?

पश्चिमा देशमा जहाँ लोकतन्त्र सफल भएका छन्, त्यहाँ करार पालना गर्ने संस्कार कहाँबाट आयो ? के त्यो क्रिश्चियानिटीबाट विकास भएर आयो ? के त्यो आधुनिक लोकतन्त्रको शिक्षाबाट स्थापित भयो ? कसरी आयो त्यो मलाई थाहा भएन तर आयो । त्यही कुरा हामीसँग किन छैन ? यदि हामीसँग त्यो छैन भने हामी कहाँ बहुदलीय लोकतन्त्र कामकाजी हुँदैन, जस्तो कि अहिले भइरहेको छैन ।

हो, म पनि लोकतन्त्रमा विश्वास गर्छु । हामी उदार लोकतन्त्रका आधारभूत कुरा भित्रै छौँ । बाहिर छैनौं । तर, यो अन्तिम हैन । अहिले उदार लोकतन्त्रमा पनि धेरै प्रश्न उठेका छन् । यसले राम्रो काम गरिरहेको छैन ।

हाम्रो त कस्तो भयो भने लोकतन्त्र भन्ने तर लोकतान्त्रिक मूल्यप्रणालीमा नचल्ने । लोकतन्त्र भन्ने चल्ने तरिकाचाहिँ राजामहाराजाहरूको जस्तो हुकमी शैली । एकपछि अर्को त्यस्तै हुने, त्यस्तै आउने । अनि त्यो हाम्रो संस्कृति हैन, पूर्वीय मान्यता हैन भन्ने । यो पूर्वीया सभ्यता भनेको के ? तपाईंको पूर्वीया सभ्यतामा करारको महत्त्व छ कि छैन ? नीति, नैतिकता छ कि छैन ? बोली वचनको विश्वासनीयता हुनु पर्छ कि पर्दैन ? चण्डालहरूले गर्ने कुरा हो नि यस्तो त ?

के सबै मान्छे चण्डाल हुन्छन् ? ९० प्रतिशत मान्छे चण्डाल हुँदैनन् । जब १० प्रतिशत चण्डालले चलाउँछन् भने त्यो ९० प्रतिशत मान्छेको लोकतन्त्र हुँदैन । डेमागोजी, डेमागगहरूले चलाएको राज्य भनेको यही हो । तसर्थ लोकतन्त्रमा स्वच्छ, निष्पक्ष राज्य चाहिन्छ । त्यो भनेको सबै करारअनुसार चल्नु हो । चण्डाली अन्त्य हुनुपर्‍यो ।

तसर्थ पहिलो शर्त हो, स्वयम् हामी लोकतान्त्रिक हुनुपर्‍यो । स्वयम् हामी करारमा चल्न सक्नुपर्‍यो । लिखित होस् वा मौखिक वचनप्रतिको प्रतिबद्धता हुनु पर्यो । हामी आफू डेमागग हुन खोज्ने अनि डेमोक्रेसीले काम गरेन भन्ने ? अब यस्तो चण्डाली चल्दैन ।

(नागरिक पहिलो बहसमा व्यक्त धारणाको सारसंक्षेप)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved