बुटवलमा दक्षिण एसियाली स्केटबोर्ड सुरु

नेपालभ्युज

बुटवलमा दक्षिण एसियाली स्केटबोर्ड सुरु

काठमाडौं। रूपन्देहीको तिलोत्तमामा पाँचौ दक्षिण एसियाली स्तरीय स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा बिहीबारदेखि सुरु भएको छ । नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघ र स्केट एड नेपालको संयुक्त आयोजित प्रतियोगिताको लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा (खेन्पो छिमे) ले उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको शुभारम्भ गर्दै उपाध्यक्ष लामाले खेलकुदले युवाको दैनिक जीवनमा धेरै सकारामत्क भूमिका खेल्ने बताए । उनले विदेशमा लोकप्रिय रहेको स्केट खेल नेपालमा पनि सुरुआत भएकोमा खुशी व्यक्त गर्दै साहसिक खेलमा सहभागी खेलाडीहरुलाई प्रोत्साहन गरे ।

उनले बालबालिका र किशोरकिशोरी खेलकुदमा सहभागी हुँदा शारीरिक र मानसिक विकासमा थप सहयोग पुग्ने हुँदा यस्ता खेलकुद कार्यक्रमहरु आयोजना गर्नु पर्ने धारणा राखे । उपाध्यक्ष लामाले खेलाडीहरुलाई लुम्बिनी दर्शनको निम्ति आग्रह समेत गरेका छन् । कार्यक्रममा उपाध्यक्ष लामाले स्केट खेलाडीहरुको रोचक फोटो प्रदर्शनीको अवलोकन समेत गरे ।

त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव जयप्रकाश भट्टराईले स्केट खेलको विकासका लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताए । उनले खेलकुदको दायरा फराकिलो भएको बताउँदै खेलकुद स्वास्थ्य, व्यवसाय र पर्यटन पनि रहेको बताए ।

त्यसैगरी कार्यक्रममा तिलोत्तमा नगरपालिका सदस्य सुरेन्द्र श्रीले विकास निर्माणसँगै खेलकुदको माध्यमबाट पहिचान बनाउने गरी लागि परेको बताए । उनले आफुहरुले स्केट खेलको विकासका लागि स्केट एड नेपालसँग सहकार्य गरेर स्केटपार्क निर्माण गरेको बताउँदै आगामी दिनमा थप सहकार्य हुने बताए ।

कार्यक्रममा नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले प्रतियोगिताले स्केट खेलमा नयाँ आयाम थप्ने बताए । उनले स्केट खेलको विकास नेपालमा पनि सुरुआत भएको बताउँदै आगामी दिनमा सात वटै प्रदेशमा पुर्‍याईने बताए ।

प्रतियोगितामा दक्षिण एसियाका नेपाल सहित भारत, बंगलादेश, श्रीलङ्का, भुटान, पाकिस्तान र माल्दिभ्स तथा आमन्त्रित राष्ट्रमा म्यान्मार र थाइल्यान्ड बाट नौ टोलीको सहभागिता रहेको स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए ।

तीनदिने प्रतियोगिताको पहिलो दिन छनोट चरणका खेल सञ्चालन भए । छनोट चरणबाट प्रत्येक राष्ट्रको १६ खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलबाट प्रत्येक राष्ट्रको आठ खेलाडी उपाधी होडमा प्रवेश गर्नेछन् ।

पुरुष/महिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुंगो लगाइने छ । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार अमेरिकी डलर, ५ सय अमेरिकी डलर र २ सय ५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता रुपन्देहीको तिलोत्तमा ४ स्थित स्केट पार्कमा भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved