हामी रुनुलाई नराम्रो मान्छौँ । अझ ‘लोग्ने मान्छे त रुनै हुँदैन’ भन्छौँ । कोही कारणबस् रोयो भने ‘लोग्ने मान्छे भएर पनि रुने’ हो भन्ने गरिन्छ । यो आफैँमा एक ‘जेन्डर बायस’ दृष्टिकोण हो । रुनु वा नरुनुसँग महिला वा पुरुष हुनुको कुनै सम्बन्ध छैन । र, रुनु महिलाको मात्र भागमा परेको काम हैन ।
कोही रोएको देख्यो भने हामी उसलाई फकाउन, फुल्याउन थाल्छौँ । आश्वासन वा सान्त्वना दिन थाल्दछौँ । मान्छे निक्कै ठूलो दु:ख वा आपतमा परेको होला भन्ने सोच्छौँ । उसलाई कमजोर र निरूपाय मान्छेका रूपमा बुझ्न खोज्दछौँ । न रुन प्रेरित गरेर उसको उपकार हुन्छ भन्ने ठान्दछौँ ।
तर, यस्तो सोच पनि सही हैन । रुन मन लागेको मान्छेलाई हतारहतार फकाउनु, उसलाई डिस्टर्ब गर्नुभन्दा केहीबेर रुन दिनु नै राम्रो हुन्छ । फकाउँदा पनि केहीबेर रुन दिएर मात्रै अघि बढनु उपयुक्त हो ।
रुनु मान्छेको आमचरित्र भने हैन । कोही अकारण र सधैँ रुँदैन । कोही रुँदैछ भने यो अर्थ लगाउन सकिन्छ कि त्यसमा कुनै न कुनै खास कारण छ । बिनाकारण त को रुँदै हिँड्छ ?
अझ मान्छे रुने सार्वजनिकरूपमा वा समूहमा भन्दा एकान्तमा हो । रुँदा पनि सबैले देख्ने गरी क्वाँ-क्वाँ गर्ने कमै हुन्छन् । एकान्तमा सुँक-सुँक गर्दै रुनेले पनि अर्को केही मान्छेले देख्यो भने हतारहतार आँसु पुच्छ । मानौँ कि रुनु कुनै अपराध हो र कसैले नदेखोस् ।
क्वाँ-क्वाँ वा सुँक-सुँक मात्र हैन, मनमनै रुने मान्छे संसारमा झन् धेरै हुन्छन् । जीवनमा मनमनै नरोएको त सायदै कोही मान्छे होला । क्वाँ-क्वाँ वा सुँक-सुँक रोएको देखिन्छ, मनमनै रोएको कसले देख्छ, त्यो झनै पीडादायी हुन्छ ।
मनोविश्लेषक भन्छन्— रुनुका बेफाइदा मात्र हैन, फाइदा पनि छन् । विशेषत: मानसिक स्वास्थ्यका दृष्टिले रुनुलाई नराम्रो मानिँदैन । आँखाबाट झर्ने आँसुका थोपासँगै मान्छेको मनका अनेक भार, विकार र विकृति पनि बगेर गइरहेको हुन्छन् । रोइसक्दा मनको फोहोर हटाएपछिको सफा ठाउँझैँ झनै सुन्दर, चंगा र तेजिलो हुनु सक्दछ ।
रुने मान्छे कमजोर हुन्छ भन्ने धारणा सही हैन । कृत्रिमरूपमा कठोर र आत्मविश्वासी देखिन नरुनु कुनै बलियो र इमान्दार मान्छेको परिचय हैन । जीवनमा कहिल्यै नरुनुमा गर्व गर्नु कठोर वा बलियो हुनु नभएर ‘इमोसनल एट्याचमेन्टको गुण गुमाउनु हो ।
कहिल्यै नरुने मान्छेमा मानवताको भावना कम तथा क्रूरता र हिंसाको भावना बढी हुन सक्दछ । जस्तै कठोर मान्छे पनि खासखास बेलामा त रुन्छ नै । जस्तै; दुखान्त उपन्यास वा कथा पढ्दा, सिनेमा हेर्दा, आफ्नै मातापिता, सन्तान वा प्रेमीप्रेमिकासँग विछोड वा तिनको निधन हुँदा ।
रुनु एकातिर मनका बिकार फाल्ने, मानसिक स्वास्थ्य चंगा राख्ने तरिका हो, भने अर्कोतिर मान्छे हुनुको भावनात्मक गुण पनि हो । कहिल्यै र कुनै बेला पनि रुँदैन भने त्यो के मान्छे ? विछोड र दु:खमा पनि रुँदैन भने त्यो के मान्छे ?
आँसु सिँगान, खकार, कानेगुजी भनेजस्तो एक प्रकारको फाल्न पर्ने चिज पनि हो । भौतिकरूपमा यसले आँखाका स-साना नली वा नशालाई सफा राख्न र आँखा स्वास्थ्य बनाइ रहन मद्धत गर्दछ । आँखाभित्र पसेका वा बसेका धुलो, धुँवा वा ओसका स-साना कणलाई आँसुले बगाएर बाहिर फालिदिन्छ ।
तर, आँसु बग्दा आँखा मात्रै सफा र सहज हुँदेन, शरीरको अन्य भागमा भएका विषाक्त तत्त्व पनि थाहै नपाइ नष्ट भइरहेका हुन्छन् । शरीरबाट बाहिर गइरहेका हुन्छन् । त्यही कारण हो, रोइसकेपछि मान्छेको मन पानी परिसकेपछिको आकासजस्तो सफा र चंगा हुन्छ । मनमा नयाँ कल्पना, योजना र उत्साह आउँछ । नयाँ सकारात्मक भाव पैदा हुन थाल्दछ ।
अक्सर हामी मनमा नरमाइलो अनुभूति जाग्यो भने ‘मेरो मुड बिग्रियो’ भन्छौँ । मुड बिग्रिनु वा मन खराब हुनु भनेको शरीरङ्गा मष्तिष्कलाई तनाव दिने हार्मोनहरूको मात्रा बढी उत्पादन हुनु हो । यस्ता हार्मोनलाई कम गर्न आँसुले मद्दत गर्दछ । शरीरमा तनाव दिने हार्मोन कम हुँदा प्रतिरोध प्रणाली बलियो हुन्छ । तसर्थ यदाकदा रुनु प्रतिरोध प्रणाली बलियो बनाउने एक उपाय पनि हो ।
शरीरको कुनै भाग दुख्दा, घाउ वा चोट लाग्दा हामी रुन्छौँ । जस्तो कि शरीरमा गढेको काँडा वा खिल निकाल्दा, लडेर चोटपटक लाग्दा, शरीरको कुनै अंग कतै ठोक्किँदा, कुनै हतियारले काट्दा, घाउ सफा गर्दा पीडा हुन्छ । त्यस्तो बेला मान्छे चिच्याउँछ, रुन्छ, कराउँछ ।
यो कुनै नराम्रो कुरा हैन, बरु राम्रो हो । किनकि त्यसले सहने क्षमता बढाउँछ । बरु यस्तो बेला पनि नरुनु, न चिच्याउनु, नकराउनु, दाँत किटेर सहनु झनै नराम्रो हो । किनकि रुनु, चिच्याउनु वा कराउनु प्रतिरोध प्रणालीभित्रकै क्रियाकलाप हुन् । तिनले मान्छेलाई अर्को कुनै ठूलो खराबीको सम्भावनाबाट जोगाइरहेका हुन्छन् । जस्तो कि हृदयघात, पक्षघात वा मष्तिष्कघातको सम्भावनाबाट जोगाइरहेको हुन सक्दछन् ।
कहिल्यै नरुने मान्छेको चरित्र एकलकाँटे, कठोर, हठी, दम्भी, घमण्डी र बेइमान हुँदै जाने सम्भावना हुन्छ । किनकि भावनात्मक सम्बद्धता कम हुँदा मान्छेको व्यवहार असन्तुलित हुँदै जान्छ । मानवीय भावनाका विभिन्न पक्षबीचको सन्तुलन बिग्रन सक्दछ ।
अत्यधिक कठोर मान्छे धेरै ठूला तानाशाह, हत्यारा, डाँकु वा लुटेरा बनेर निस्कन्छन् । किनकी उनीहरूलाई रुने मान्छे, भावनात्मक सम्बन्ध राख्ने मान्छे कमजोर हुन्, कमजोर माथि शासन गर्नु वा प्रभुत्व जमाउनु बलियो र शक्तिशालीको प्राकृतिक अधिकार हो भन्ने सोच बलियोगरी आउँछ ।
यस्ता मान्छे अक्सर असन्तुलित र तनावग्रस्त हुन्छन् । उनीहरूको मनमा खुशीको भाव नै जाग्दैन । जागे पनि नकारात्मक कुराबाट मात्र खुशी हुन्छन् । अरुलाई दु:ख दिएर मज्जा लिने, आनन्द मान्ने वा खुसी हुने स्वभाव बन्दै जान्छ । तर, रुने मान्छे धेरै कठोर, क्रुर र निर्दयी हुन सक्दैनन् । रुनुले मानवीय भावनालाई सन्तुलन गर्न मद्धत गर्दछ ।
कुनै मान्छे रुँदैछ र अर्को कसैले देख्यो, देख्नु पनि नराम्रो हैन । रुँदै गरेको मान्छेलाई जिस्काउने, खिज्याउने वा अनावश्यक आश्वासन वा सान्त्वना दिने हैन । उसको स्थितिलाई बुझ्ने हो । उसको मनमा लागेको घाउलाई मल्हम लगाउने हो ।
कतिपय रुने वा रुँदै गरेका मान्छेका कुरा सुनिदिँदा मात्र पनि उनीहरूलाई राहतको अनुभूति हुन्छ । मान्छेका भरअभर कहिलेकाहीँ यति स-साना हुन्छन्, अर्को कसैले थोरै ध्यान दिँदा मात्रै पनि हल हुन सक्छन् । जस्तो कि बच्चा रुँदैछ भने हामी गाली गर्दैनौँ । बच्चा भोकायो होला भन्ने ठान्दछौँ । ठीक त्यसै गरी कुनै वयस्क मान्छे रुँदैछ भने उसको पनि कुनै स्थिति होला भनेर सोच्न पर्दछ ।
रुनु सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धताको एक मानवीय संकेत पनि हो । आम मानिस दुखी छन् । पीडा र गरिबीमा छन् । अन्याय र शोषणमा छन् । कुनै प्राकृतिक प्रकोप वा विपत्मा छन् । त्यो सबै देखेर पनि रुँन आउँदैन भने तपाईं कर्तव्य र मानवताप्रति जिम्मेवार मान्छे हैन भन्ने अर्थ लाग्दछ । यस्ता अवस्थामा कसैलाई रुन आउँछ भने स्वभाविकरूपमा उसको सामाजिक स्वीकार्यता, दायित्वबोध र भूमिका पनि बढ्दै जान्छ ।
रुनुका यस्ता धेरै फाइदा छन् । रुनुलाई नराम्रो अर्थमा मात्र नलिउँ । रुन नलजाउँ । सहजै रुन आएन भने कहिलेकाहीँ रोनाधोनावाला साहित्य पढौँ, सिनेमा हेरौँ । त्यसले केही बेफाइदा गर्दैन, बरु फाइदा नै गर्छ । रुँदा इज्जत घट्दैन । बरु बढ्छ । संवेदनशील हृदय भएको, इमान्दार मान्छे रहेछ भन्ने छवि निर्माण हुन्छ ।
Facebook Comment
Comment