दुर्गा प्रसाईँको आन्दोलन : पशुपति दर्शनका लागि भन्दै गाउँ-गाउँ पुगेर मान्छे बटुल्दै

हजारौँ उतार्ने भनिएको झापा र लहानमा दुई सय आए, काठमाडौंमा कति होलान् ?

प्रसाईँले झापाको सुरुङ्गामा सोमबार एक कार्यक्रम गरेका थिए । काठमाडौंको कार्यक्रमको रिहर्सल स्वरूप गरिएको सो कार्यक्रममा उपस्थित हुनेहरू २ सय कट्न सकेको थिएन । यस्तै सिराहाको लहानमा मंगलबार भएको कार्यक्रममा पनि धेरै मानिस आएनन् ।

नेपालभ्युज

दुर्गा प्रसाईँको आन्दोलन : पशुपति दर्शनका लागि भन्दै गाउँ-गाउँ पुगेर मान्छे बटुल्दै

काठमाडौं । मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले मंसिर ७ गते काठमाडौँमा गर्न लागेको प्रदर्शनमा देशभरबाट मानिस काठमाडौं ल्याउँदै छन् ।

उनीहरूलाई राख्न काठमाडौंका विभिन्न पार्टी प्यालेसहरू बुक गरिएको छ भने पार्टी प्यालेसमै खाना खुवाउने र त्यही ओढ्ने ओछ्याउनेको व्यवस्था हुने प्रसाईँको सचिवालयले जनाएको छ ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’को नाममा काठमाडौँमा हुने भनिएको प्रदर्शनमा हजारौँ मानिस उतार्ने दाबी गरिएको छ ।

प्रसाईँले झापाको सुरुङ्गामा सोमबार एक कार्यक्रम गरेका थिए । काठमाडौंको कार्यक्रमको रिहर्सल स्वरूप गरिएको सो कार्यक्रममा उपस्थित हुनेहरू २ सय कट्न सकेको थिएन ।

यस्तै सिराहाको लहानमा मंगलबार भएको कार्यक्रममा पनि धेरै मानिस आएनन् । मुस्किलले करिब तीनसय मानिस आएको सुरक्षा निकायको विश्लेषण छ ।

काठमाडौंमा ७ गते लाखौँ मानिस उतार्ने दाबी गरिए पनि बाह्र, पन्ध्र सयभन्दा बढी मानिस हुन नसक्ने सुरक्षा निकायको अनुमान छ ।

सामाजिक सञ्जालमा व्यापक प्रचार छ । तर, जिल्ला जिल्लामा भएको कार्यक्रममा सहभागी न्यून भएपछि आयोजकलाई तनाव छ ।

यसकारण कार्यकर्ताहरू गाउँ गाउँ गएर पशुपति दर्शनको लागि लैजाने भन्दै मान्छे खोज्न व्यस्त छन् । ७ गते ठूलो एकादशी पर्व पनि पर्छ । चारनारायण मेला पनि त्यही दिन छ ।

यसकारण प्रसाईँका कार्यकर्ताले गाउँगाउँमा गएर तीर्थ यात्राको बहानामा मानिसलाई काठमाडौं ल्याउने ल्याउने तयारी गरेको छन् ।
प्रसाईँको समूहका एक जना भन्छन्, ‘‘प्रदर्शनमा पनि सहभागी हुने, तीर्थ यात्रा पनि गर्ने हो । कसैलाई जबरजस्ती छैन। आउन चाहनेहरू आउनेछन् ।’’

पार्टी प्यालेसमै खाना र बास

प्रदर्शनमा सहभागी हुन आउनेहरूको लागि काठमाडौंका चाबहिल, बानेश्वर, कोटेश्वर, तीनकुने, ललितपुर पुल्चोक क्षेत्रका केही पार्टी प्यालेस बुक गरिएको छ । प्रदर्शनमा लाखौँ मानिस ल्याउने दाबी गरिए पनि पाँच हजारको हाराहारीमा मानिस ल्याउने तयारी रहेको स्रोतको दाबी छ ।

प्रसाईँको सचिवालयमा भेटिएका उनका एक सहयोगीले भने, ‘‘अहिलेसम्म २० वटा पार्टी प्यालेस बुकिङ भएको छ । त्यहाँ सय जनाका दरले मानिस राख्दा २ हजार जति अट्छ । मान्छे कहाँकहाँबाट कति आउँछन्, त्यो अनुसार बाँकी ठाउँको खोजी हुँदैछ ।’’

आन्दोलनमा सबैभन्दा बढी झापाबाट ल्याउने तयारी छ । २० वटा बसमा १ हजार जना ल्याउने तयारी रहेको प्रसाईँका कार्यकर्ता बताउँछन् । झापा प्रसाईँको जिल्ला हो ।
तर, कतिपयले भने झापाबाट समेत काठमाडौंमा जाने मानिसहरू न्यून हुने दाबी गरिरहेका छन् ।

उनीहरू भन्छन्, ‘‘प्रसाईँको जिल्लामा सोमबारको कार्यक्रममा त मान्छे आएनन् । कहाँबाट काठमाडौँ जान्छन् त्यत्रो मान्छे ?,’’

प्रसाईँको अभियानका केन्द्रीय सदस्य तथा झापा सचिवालयका संयोजक देवी सङ्ग्रौलाले झापा, मोरङ र सुनसरीबाट मात्रै डेढ लाख मानिस काठमाडौँ जाने दाबी गर्छन् ।

उनी भन्छन्, ‘‘आन्दोलन स्वतःस्फूर्त हुन्छ । जनता कुखुराको अण्डा, धान, साग, भक्का बेचेर आन्दोलनमा जान तयार छन् । ४ सय ९५ गाडी र १५ सय बाइकमा मान्छे जान्छन् । यस्तै साना गाडी ३ सयको हाराहारी जान्छ ।’’

गृह मन्त्रालयले भने दुर्गा प्रसाईँले नेतृत्व गरेको समूहले बढीमा ४ हजारसम्म मानिस उपत्यका बाहिरबाट ल्याउन सक्ने आँकलन गरेको छ । त्यो तयारी स्वरूप गृह प्रशासन सुरक्षाको तयारीमा जुटेको छ ।

प्रसाईँले नेतृत्व गरेको समूह र युवा संघको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने स्थानीय प्रशासनले निर्णय गरिसकेको छ । दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिएको हो ।

दुवै पक्षले माइतीघरमा कार्यक्रममा राख्दा झडप हुने सम्भावना भएकाले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेर सम्भावित झडप रोक्ने तयारीमा सरकार छ । त्यसपछि प्रसाईँले खुलामञ्च र युवासंघले तीनकुनेमा प्रदर्शन गर्दै छन् ।

यो पनि पढ्नुहोस :

दुर्गा प्रसाईंका कारण किन हल्लियो दुई क्याप्टेनको मथिङ्गल ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved