न्यूरोडको पीच महानगरले भत्काएपछि मन्त्री महासेठले भने- ‘कानुनसम्मत छैन ’

नेपालभ्युज

न्यूरोडको पीच महानगरले भत्काएपछि मन्त्री महासेठले भने- ‘कानुनसम्मत छैन ’
फाइल फोटो

काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरिरहेको क्रियाकलाप कानुनसम्मत नभएको बताएकाछन् ।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री महासेठले न्युरोडमा काठमाडौं महानगरपालिकाको क्रियाकलाप कानुनसम्मत नभएको बताए ।

काठमाडौं महानगरपालिकाको मेयर बालेन साहले फेसबुक स्ट्याटसमा लेखेको कुरामा कुनै सत्यता नभएको पनि बताए ।

शनिबार मेयर साहले मन्त्री महासेठलाई सम्बोधन गर्दै कलंकीदेखि महाराजगन्जसम्म रिङरोड बिस्तारको नाममा महानगरवासीले धेरै धुलो र कष्ट व्यहोर्नुपरेको भनी लेखेका थिए ।

उनले काम अगाडि नबढाउँदासम्म पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने भन्दै सडक विभागको कार्यालय अगाडी फोहोर राखिदिएको भिडिओ पोस्ट गरेका थिए ।

यसप्रति प्रतिक्रिया दिँदै मन्त्री महासेठले मेयर साहको सल्लाह, सुझावलाई सकारात्मक रुपमा लिएको बताए ।

उनले रिङरोड बनाउने सम्झौता चीनसँग भएको भन्दै सरकारले पनि आन्तरिक बजेटबाट केही स्थानमा बनाउनका लागि बजेट व्यवस्थापन गरिसकेको जानकारी दिए ।

‘‘जुन प्रकारले अहिले काठमाडौं महानगरपालिकाले आफ्नो क्रियाकलाप देखाएको छ, त्यसप्रति हामीले सरसल्लाह गर्दैछौँ । त्यो बनाउनै पर्छ सरकारले । त्यसलाई मैले अन्यथा लिएको छैन । तर, न्युरोडमा जुन क्रियाकलाप छ, त्यो कानूनसम्मत छैन ।’

न्युरोडमा भएको तोडफोडलाई सडक विभागले रोकेको महासेठले बताए ।

न्युरोड क्षेत्रमा मोटर गुड्ने पिच बाटो घटाएर पैदलयात्रीका फुटपाथ बनाउन भन्दै महानगरले शनिबार दिउँसो सडक काट्न शुरु गरेको थियो । सडक काटेर चौडाइ घटाउन नपाउने भन्दै सडक डिभिजनले रोक लगाएको थियो ।

सडक विभागको अनुमतिविना सडकको चौडाइ घटाउने काम गरेको र त्यसमा रोक लगाउँदा विषयान्तर गरेर रिङरोडको विषयलाई जोडेको डिभिजन कार्यालयले जनाएको छ । —न्युज एजेन्सी नेपाल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved