‘प्रतिस्पर्धा’ र ‘शत्रुता’ बीच नजिक हुने बाटो खोज्दै अमेरिका र चीनका राष्ट्रपति

बाइडनले राष्ट्रपति सीलाई ३८ वर्ष अघिको एक फोटो स्मरण गराएका छन् । फोटोमा युवा अवस्थाका ‘सी’ सन-फ्रान्सिस्कोमा फोटो खिच्दै रमाइएको देखिन्छ । यो फोटो देखाइनुको अर्थ के होला ?

‘प्रतिस्पर्धा’ र ‘शत्रुता’ बीच नजिक हुने बाटो खोज्दै अमेरिका र चीनका राष्ट्रपति

चिनियाँ राष्ट्रपति सी चिन फिङ बुधबार अमेरिकाको सन फ्रान्सिस्को पुगे । उनको अमेरिका भ्रमणको उद्देश्य अपेक शिखर सम्मेलन हो । अपेक एशिया–प्यासिफिक देशहरुको आर्थिक सहयोग संगठन हो ।

नोभेम्बर ११–१७ मा सन फ्रान्सिस्कोमा अपेक शिखर सम्मेलन आयोजना गरिएको हो । अपेक मञ्चको स्थापना सन् १९८९ मा भएको थियो ।

उन्नत, दीगो र समावेशी आर्थिक वृद्धिका लागि स्वतन्त्र, निष्पक्ष र खुला एशिया–प्यासिफिक क्षेत्र यस मञ्चको उद्देश्य रहँदै आएको छ।

अपेक राष्ट्रहरुले विश्व जनसंख्याको करिब ४० प्रतिशत र विश्व व्यापारको करिब ५० प्रतिशत हिस्सा ओगट्दछन् । शिखर सम्मेलनको नारा ‘क्रिएटिङ रिजिलेन्ट एण्ड सस्टेनेवल फ्युरचर फर अल’ राखिएको छ ।

सन फ्रान्सिस्को यो थिमका लागि एक उपयुक्त र मिल्दोजुल्दो आर्थिक इतिहास भएको शहर मानिन्छ । क्यालिफोर्निया राज्यको चौथो ठूलो शहर र अमेरिकाकै १७ औं ठूलो शहर सन फ्रान्सिस्को अमेरिकाको चौथो ठूलो आर्थिक क्षेत्र हो ।

अपेक सदस्य राष्ट्रका अधिकांश व्यापारिक पानी जहाजले अन्तर्राष्ट्रिय व्यापार र जलमार्ग उपयोगका क्रममा सन फ्रान्सिस्कोको बाटो छुन्छन् । प्रशान्त सागर किनारा छुने २१ देश अपेकका सदस्य राष्ट्र हुन् ।

ती हुन्–अष्ट्रेलिया, ब्रुनाई, क्यानडा, इन्डोनेशिया, जापान, दक्षिण कोरिया, मलेसिया, न्यूजिलैण्ड, सिंगापुर, फिलिपिन्स, थाइलैण्ड, ताइवान, अमेरिका, हङकङ, चीन, मेक्सिको, पपुवा न्यू गिनी, चिली, भियतनाम, पेरु र रुस ।

अपेकको यो ३० औं शिखर सम्मेलन हो । यसको प्रथम शिखर सम्मेलन अष्ट्रेलियाको क्यानवेरा र पछिल्लो शिखर सम्मेलन थाइलैण्डको बैंककमा भएको थियो ।

अपेक सम्मेलनको महत्व आफ्नो ठाउँमा छ । तर, विश्वको ध्यान भने चिनियाँ राष्ट्रपति सि चिन फिङ र अमेरिकी राष्ट्रपति जो बाइडनको भेटले तानेको छ ।

सन् १९९१ मा सोभियत संघको विघठनपछि दुई ध्रुवीय विश्व र शीत युद्ध समाप्त भएको ठानिएको थियो । सन् २०१८ को व्यापार युद्धपछि फेरि एकपटक अमेरिका र चीन आमने सामने भएका छन् ।

यी दुई देश बीचको प्रतिस्पर्धालाई दोस्रो शीत युद्ध भन्न थालिएको छ । तर, कतिपय विश्लेषक यो कुरामा सहमत छैनन् । उनीहरुको तर्क हुन्छ कि अहिलेको विश्व न एक ध्रुवीय हो न दुई ध्रुवीय बरु यो बहुध्रुवीय हो ।

अमेरिका र चीन मात्र हैन, रुस, युरोप, अरब जगत, भारत, अफ्रिका र ल्याटिन अमेरिकासमेत समकालिन विश्वको शक्ति सन्तुलनका महत्वपूर्ण कडी हुन्।

बहुध्रुवीय विश्वको कुरा गर्नेहरुले पनि अमेरिका र चीनको उच्च उदयलाई अस्वीकार गर्न सकेका छैनन् । तसर्थ अमेरिका–चीन सम्बन्धलाई विश्व राजनीतिमा हिजोको अमेरिका र सोभियत संघजस्तै ‘जी–२’ मान्नेहरु पनि धेरै छन् ।

चीनको अमेरिकासँगको सबैभन्दा ठूलो आपत्ति ताइवान हो । चीन ठान्दछ कि अमेरिकाले ताइवानलाई हतियार दिनु हुँदैन । एक चीन नीति अन्तर्गत राष्ट्रपति सी ताइवानलाई मुलभूमिमै गाँम्न चाहन्छन् । तर, अमेरिकाले अहिलेसम्म चीनको यो अपेक्षालाई साथ दिएको छैन । यही कारण हो कि दक्षिण चीन सागरको तनाव दशकौंदेखि कायम छ ।

अमेरिकाको चीनसँगको मुख्य आपत्ति भने विश्व व्यापार र वर्चश्व हो । सन् २०१३ मा घोषित रोड एन्ड बेल्ट इनिसिएटिभ (बिआरआई), ब्रिक्स र एशियाली विकास बैंकमार्फत् चीनले विश्व वर्चश्वको प्रक्रिया अघि बढाएको थियो ।

राष्ट्रपति बाइडन बहुपक्षीयता पक्षधर उदार विचारधाराका प्रतिनिधि व्यक्तित्व मानिन्छन् । उनी अघिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने वि–भूमण्डलीकरणका पक्षधर थिए । ट्रम्प–पुटिन सम्बन्ध राम्रो थियो । तर, ट्रम्प चीनका भने खुल्ला आलोचक थिए ।

अमेरिकी राजनीतिमा ट्रम्पको पराजय र बाइडन–ह्यारिस टिमको विजयले विश्व राजनीतिमै केही प्रष्ट बद्लावको संकेत गर्यो । अमेरिका–रुस सम्बन्ध बिग्रियो । रुसले युक्रेनमाथि आक्रमण गर्यो । रुस–चीन नजिक भए ।

युक्रेन युद्धको दबाब यद्यपि अमेरिका र बाइडन प्रशासनमाथि छँदै थियो । अक्टोबर ७ पछि इजरायल–हमास युद्ध झन् कठोर हुँदै गएको छ ।

रुस, चीनलगायत केही देश युक्रेन युद्धमा जस्तै गाजा युद्धमा पनि अमेरिकाले इजरायललाई ब्याकिङ गरिरहेको र इजरायलले गाजामा नरसंहार मच्चाइरहेको ठान्दछन् ।

सी–बाइडन भेटको अर्को पाटो पनि छ । दुई कार्यकालको संवैधानिक प्रावधान हटाएका चिनियाँ राष्ट्रपति सी तेस्रो कार्यकालमा छन् र उनी निश्चिन्त छन् ।

तर, राष्ट्रपति बाइडन भने आफ्नो ४ वर्षे पहिलो कार्यकाल पूरा गर्न लाग्दैछन् । उनले अगामी वर्ष दोस्रो कार्यकालका लागि निर्वाचन सामना गर्नु पर्ने छ । उनका पुरानै प्रतिस्पर्धी डोनाल्ड ट्रम्प चुनावी मैदानमा आउने सम्भावना कायमै छ । ट्रम्पले आफू पुन: राष्ट्रपति निर्वाचित भए २४ घन्टाभित्र युक्रेन युद्ध अन्त्य गर्दिने भाषण गर्दै आएका छन् ।

चौतर्फी दबाबमा रहेका राष्ट्रपति बाइडन चीनसँग ‘शत्रुता’ हैन, ‘प्रतिस्पर्धा’ खोज्दैछन् । यस सन्दर्भमा अपेक शिखर सम्मेलनले जुराएको सी–बाइडन भेटघाटको आफ्नै रणनीतिक महत्व छ ।

बाइडनले राष्ट्रपति सीलाई ३८ वर्ष अघिको एक फोटो स्मरण गराएका छन् । फोटोमा युवा अवस्थाका ‘सी’ सन फ्रान्सिस्कोमा फोटो खिच्दै रमाइएको देखिन्छ । यो फोटो देखाइनुको अर्थ के होला ? निसन्देह: राष्ट्रपति बाइडन यतिखेर चीनसँग सम्बन्धलाई ‘नर्मल’मा राख्न चाहन्छन् । त्यसका लागि उनले ‘नोस्टाल्जिया डिप्लोमेसी’ उपयोग गरेको हुन सक्दछन् ।

सन् १९८० को दशक अघि चीन–अमेरिका सम्बन्ध र आर्थिक सहकार्य सीमित थियो । लगभग नगन्य । वितेका ४ दशक यता यी दुई देशबीच यति बलिया आर्थिक सम्बन्ध स्थापित भएको छ कि चाहेर पनि तोड्न सजिलो हुँदैन ।

अमेरिकासँगको सम्बन्ध बिग्रदा चीनले अमेरिका र युरोपमा उपभोक्ता वस्तुको बजार गुमाउने जोखिम बढ्दछ । त्यसो भएमा चिनियाँ कम्पनीले उत्पादन घटाउन पर्ने र चिनियाँ अर्थतन्त्रमा मन्दी आउने हुन्छ । चीनमा अमेरिकी कम्पनीहरुको यति धेरै लगानी छ, जसलाई फिर्ता गर्न सजिलो छैन ।

बुधबार राष्ट्रपति सी र बाइडनले दुई चरणमा ४ घन्टा लामो कुराकानी गरे । उनीहरुको ‘वन अन वान’ वार्ता सन फ्रान्सिस्कोको एक ऐतिहासिक संग्रहालय परिसर ‘फिलोली स्टेट’ मा निर्धारित थियो । यो भवनको निर्माण सन् १९१७ मा भएको थियो । यो भवन शहरदेखि ४० किमी दक्षिण समुद्र किनारमा छ ।

अनौपचारिक भाषामा ‘जी–२ बैठक’ भन्न सकिने सि–बाइडन कुराकानी पछि दुवै नेताको मुड हल्का देखिन्थ्यो । बाइडनको जोड शत्रुता हैन, प्रतिस्पर्धामा त्यो पनि सहकार्यसहितको रह्यो भने सीले–‘यो धर्तीमा अमेरिका र चीन दुवैको सफलताका लागि पर्याप्त स्पेश छ’ भनेर ‘सफ्ट मुड’ को छनक दिए ।

दुवैले सैनिक सूचना आदानप्रदान गर्ने सहमति समेत गरे । तर, यी सहमतिले ताइवान मामिलामा भने कुनै नयाँ मोडको संकेत गर्दैन । चिनियाँ पक्षले ‘जुनकुनै मूल्यमा एकीकरण’ को साटो ‘शान्तिपूर्ण एकीकरण’ को कुरा गरेर अमेरिकी नैतिक समर्थनको अपेक्षा गरेको हुन सक्दछ ।

सी–बाइडन भेटपछि यो अनुमान गर्न सकिन्छ कि ताइवान मामिला ‘विद्यमान स्थितिमा कायमै’ रहन्छ । बाँकी विषयमा भने अमेरिका र चीन एकअर्काप्रति नरम देखिएका छन् ।

अमेरिका–चीन सहकार्यले युक्रेन र गाजा युद्ध रोक्न कुनै निर्णायक पहलकदमीको अपेक्षा गर्न सकिन्न तर, सहजता भने थपिन सक्नेछ । जलवायू परिवर्तनको अनुकुलनका लागि पर्याप्त विश्व कोषको पहलकदमी तीव्र हुन सक्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved