भूकम्पका कारण ४० हजार विद्यार्थी प्रत्यक्ष प्रभावित, मंसिर ५ गतेदेखि विद्यालय खोल्ने तयारी

एक शिक्षक र ६७ विद्यार्थीको मृत्यु

भूकम्पका कारण ४० हजार विद्यार्थी प्रत्यक्ष प्रभावित, मंसिर ५ गतेदेखि विद्यालय खोल्ने तयारी

सुर्खेत । भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिममा आगामी मंसिर ५ गतेबाट पूर्णरुपमा विद्यालय सञ्चालन हुने भएका छन् । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले मंसिर ५ गतेबाट पूर्णरुपमा विद्यालय सञ्चालन गर्नेगरी तयारी थालेका हुन् ।

कात्तिक १७ गते भूकम्प गएपछि यस क्षेत्रका विद्यालय बन्द छन् ।

४० हजार विद्यार्थी प्रभावित

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अधिकृत बलवीर सुनारका अनुसार जाजरकोटमा ४२३ विद्यालयमा ७५ हजार ८५३ विद्यार्थीमध्ये २२ हजार ७ सय ५९ विद्यार्थी भूकम्पबाट प्रभावित भएका छन् । रुकुमपश्चिमका ३१३ विद्यालयमा ५७ हजार ८ सय ३४ विद्यार्थीमध्ये १७ हजार ३ सय ५१ विद्यार्थी प्रभावित भएका छन् ।

जाजरकोट र रुकुमपश्चिमका जम्मा १ लाख ३३ हजार ६ सय ८७ विद्यार्थीममध्ये ४० हजार १ सय १० जना विद्यार्थी प्रभावित भएको अधिकृत सुनारले बताए ।

भूकम्पका कारण रुकुमपश्चिमका ३५ विद्यालय र जाजरकोटका १७३ विद्यालय गरी २०८ विद्यालयमा पूर्ण क्षति भएको छ भने रुकुमपश्चिमका १० र जाजरकोटका ४०८ विद्यालयमा गरी ४१८ विद्यालयमा आंशिक क्षति पुगेको अधिकृत सुनारले जानकारी दिए ।

‘विद्यालयका शौचालयमा रुकुमपपश्चिमका ४०, जाजरकोटका १३९ गरी २६९ पूर्ण क्षति, जाजरकोटका १९० शौचालयमा आंशिक क्षति भएको छ’, उनले भने, ‘विद्यालयका कक्षा कोठामा क्षतिका हिसाबले रुकुमपश्चिमका ११६ वटा, जाजरकोटका ५१६ वटा गरी ६३२ कक्षा कोठामा पूर्ण क्षति भएको छ ।

रुकुमपश्चिमका ४० र जाजरकोटका ८४६ गरी ८८६ कक्षा कोठामा आंशिक क्षति भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

एक शिक्षक र ६७ विद्यार्थीको मृत्यु

जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी १ शिक्षकको मृत्यु हुनुका साथै ६७ जना विद्यार्थीको मृत्यु भएको छ । जाजरकोटमा एक जना शिक्षकको मृत्यु भएको छ भने रुकुमपश्चिममा ३५ जना विद्यार्थी र जाजरकोटमा ३२ जना विद्यार्थी गरेर ६७ जना विद्यार्थीको मृत्यु भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै, रुकुमपश्चिम र जाजरकोटका १–१ जना शिक्षक घाइते भएको छन् ।

रुकुमपश्चिममा ३६ जना विद्यार्थी र जाजरकोटमा ३५ जना विद्यार्थी गरेर ७१ जना विद्यार्थी घाइते भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अधिकृत सुनारले जानकारी दिए ।

दश हजार पाठ्यपुस्तक आवश्यक

भूकम्पबाट जाजरकोटमा ७५ हजार ८ सय ५३ विद्यार्थी प्रभावित भएको र रुकुमपश्चिममा ५७ हजार ८ सय ३४ विद्यार्थी प्रभावित भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अधिकृत सुनारले जानकारी दिए । ‘१० हजार सेट पाठ्यपुस्तक आवश्यक छ’, उनले भने, ‘६ सय वटा अस्थायी सिकाइ केन्द्र तयार गरी कक्षा सञ्चालन गर्ने तयारी थालेका छौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved