एकल साँझमा यम बराल : कहिले नचाए, कहिले रुवाए

यसरी बनाए दर्शकलाई मोहित

‘मैले सबलाई बिर्सेछु, तिमीलाई सम्झँदा’ गीत गाउँदागाउँदै उनले आँसु मात्र खसालेनन्, एकै क्षणमा गला अवरुद्ध बन्यो ।आफ्नो कालजयी गीतबाट यम बरालले दर्शकलाई मोहित बनाउन सफल भए ।

नेपालभ्युज

एकल साँझमा यम बराल : कहिले नचाए, कहिले रुवाए

काठमाडौं। जब उनले माइक्रोफोनमा गाए ‘बादलुको घुम्टोले ’ तब हलमा तालीको गड्गडाहट सुरु भयो ।

हलभरि खचाखच दर्शक–श्रोता देखेर उनी हर्षले विभोर देखिन्थे। करिब १३ सय सिट क्षमताको हल भरिभराउ थियो । सीट नपुगेर माथि बल्कोनी र तलको भागमा दायाँबायाँ केही दर्शक उठेरै हेरिरहेका थिए ।

यत्तिकैमा हलको पछाडिको ढोकाबाट गीत गाउँदै अगाडि आए । दर्शक दीर्घाबाट सबैलाई अभिवादन गर्दै स्टेजमा आए । उनीसँगै थिए, राष्ट्रिय झन्डा बोकेका अर्का एक जना पनि ।

मञ्चमा पुगेर उनले गीतलाई निरन्तरता दिए । हलमा खचाखच दर्शकले मनोरञ्जन लिँदै उच्च सम्मान गर्दै हुटिङ र तालीले स्वागत गरे ।

‘मैले सबलाई बिर्सेछु, तिमीलाई सम्झँदा,,,’ भनेर स्थायी टुङ्गाउँदा उनले आँसु मात्र खसालेनन्, एकै क्षणमा गला अवरुद्ध बन्यो । तै पनि आफ्नो कालजयी गीतबाट दर्शकलाई मोहित बनाउन सफल भए ।

०००

शनिबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा चर्चित गायक यम बराल आफ्नो एकल साँझमा प्रस्तुत दिँदै थिए । ‘यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’को दृश्य थियो त्यो ।

उक्त साँझको चाँजोपाँजो ‘लाइन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रिन’ले मिलाएको थियो । साथमा राष्ट्रिय झण्डातोलन गर्ने थिए, उनकै छोरा आरोग्य ।

गीतको पहिलो अन्तरा सकिएपछि यमले भने, ‘‘गएराति जाजरकोटमा भूकम्प गएर देश रोइरहेको बेला पनि एउटा कलाकारको सम्मानका लागि यहाँहरू उपस्थित भइदिनुभयो। यो कार्यक्रम पूर्व निर्धारित थियो। यसैले गर्नु नै पर्‍यो। भूकम्पका कारण ज्यान गुमाउनुहुनेप्रति हार्दिक श्रद्धाञ्जली। शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना । यो शोकलाई सङ्गीतमार्फत हामी शक्तिमा बदल्नेछौँ ।’’

दर्शकलाई स्वागत गरेपछि उनले उही चिरपरिचित गीत ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा’ पुरै गाएर साङ्गीतिक माहौलको दैलो उघारे । झन्डै २५ वर्षपछि यम बरालको एकल गायन कन्सर्ट थियो त्यो ।

‘बादलुको घुम्टोले,,’ पछि चर्चित गीत ‘दिलमाया दिलमाया’ गाए । तेस्रो गीतको रूपमा अल्लारे फिल्मको ‘अब चोटहरूले’ गाउँदा धेरैलाई भावुक बनाए । फिल्मको गीतमा अभिनय गर्ने क्रममा महानायक राजेश हमालले गिलसृन नलगाई रोएको प्रसङ्ग सुनाए ।

बरालले पुराना कुरा स्मरण गर्दै सुनाए, ‘‘यो गीतमा अभिनय गर्ने क्रममा महानायक राजेश हमालजी गिलसृन नलगाइन रुनुभएको थियो । भिडिओमा हेर्दा साँच्चै उहाँले नै गाएको जस्तै देखिएको छ ।’’

त्यो प्रसङ्गसँगै यम बरालले वरिष्ठ सङ्गीतकार तथा आफ्ना गुरु शम्भूजीत बास्कोटालाई सम्झिरहे । त्यसपछि गाए ‘मन रहे पो मायाप्रीति’, ‘नछोएरै पनि छोएजस्तो’ ।

पहिलो चारणको अन्तिम गीत गाए, सर्वप्रिय बनेको ‘निस्ठुरीले छाडेर गइहाली’ । सङ्गीतकार आलोकश्रीलाई सम्झँदै गाएको सो गीतमा दर्शकको वान्समोर नै आयो ।

यसमा यमले भने अहिल्यै गीत गाउँ कि पछि ? भनेर अगाडी रहेका पर्यटनमन्त्री सुदन किराँतीलाई सोधे । उनले ‘पछि,पछि’ भने। त्यसपछि पहिलो चरणको कार्यक्रम सकियो ।

०००

केहीबेरको विश्रामपछि एकल साँझको दोस्रो चरण सुरु भयो । त्यो अवधिमा यम बरालले युगल स्वरमा एक दर्जन बढी गीत गाए । उनलाई समकक्षी गायिका देवीका बन्धनाले पनि साथ दिइन् ।

उनले पहिलो गीतमा देविकासँग दौँतरी फिल्मको ‘तिम्रो हाम्रो चिनारी’ गाउँदै मेलो अघि बढाए । फिल्म माइलीको ‘जाऔंन ठमेलमा’ गाउने बेला उनले सङ्गीतकार बास्कोटालाई समेत स्टेजमै बोलाएनन् मात्रै सँगै गाउन समेत लगाए । त्यो गीत गाउँदा अगाडीका दर्शकहरू स्टेजमै गएर छमछमी नाँचे ।

जब यमले आफूसँगै गीत गायकी देवीकाको जीवनको पुरानो कठिन अवस्थाको चर्चा गरे। हलमा एक छिन सन्नाटा छायो । उनी क्यान्सर पीडित थिइन् । क्यान्सरलाई जितेर नयाँ जीवन पाएपछि फेरि साङ्गीतिक जीवनमै फर्किएकी हुन् ।

यी कुरा गरिरहँदा गायिका देवीकाको आँसु बनेर आँखाको बाटो हुँदै गाला सम्म पुगे । आफूलाई झमछमी नचाउने गायिकाको पीडा सुनेर दर्शकका समेत आँखा झरिला भए । यम बराल पनि भावुक बने ।

०००

अन्तिममा यम बराललाई गायिका अनु अधिकारीले युगल गायनमा साथ दिइन् । यम र अनुले ‘उड्दैछौ कि बस्यौ’, ‘हेर हेर पूर्वबाट झुल्किएछ घाम’, ‘माया बस्यो मुटुमा’ गीत गाए ।

त्यसबेला दर्शकको हुटिङले पूरै हल गुञ्जायमान भयो। अन्तिममा यम बरालले आफैँले बनाएको फिल्म भैरेको ‘समन माया लाको’ गीतबाट ऐतिहासिक एकल साँझको बिट मारे ।

त्यति बेलासम्म अतिथिको रूपमा आएका मन्त्री सुदन किराँती पनि मनोरञ्जनन लिइरहेका थिए ।

कार्यक्रमको सुरुमै मन्त्री किराँती र उपसभामुख रानाले यम बरालको निरन्तर साङ्गीतिक सक्रियताको लागि शुभकामना दिएका थिए ।

कार्यक्रममा उनीहरूसँगै नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी, गीतसंगीत क्षेत्रका अग्रज एवं नयाँ पुस्ताका कलाकारदेखि सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

एकल लाइभ कन्सर्टबाट उठेको रकम धादिङको एक विद्यालय र क्यान्सर पीडित गायिकालाई सहयोग गर्ने घोषणा गरिएको छ ।

०००

 

‘यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ आयोजक लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिनले कार्यक्रमबाट उठेको रकम सामाजिक कार्यअन्तर्गत क्यान्सर पीडित गायिका जमुना थापाको उपचारार्थ पनि सहयोग हुनेछ ।

लुलसादेवी फाउन्डेसन, ललितपुरद्वारा सञ्चालित अनाथालयलाई सहयोग गर्ने जनाइएको छ । कन्सर्टले सामाजिक सशक्तीकरण, सामाजिक जिम्मेवारी र सांस्कृतिक प्रवर्द्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने अपेक्षा रहेको क्लबकी अध्यक्ष कल्पना बस्नेतले बताइन् ।

यम बरालले १०० भन्दा बढी नेपाली फिल्ममा पार्श्व गायनसमेत गरिसकेका छन् । हालसम्म एक हजार बढी गीतमा स्वर दिएका उनी गोरखा दक्षिणबाहु चौथो, नारायणगोपाल पुरस्कार, छिन्नलता पुरस्कार, विभिन्न अवार्डलगायतबाट सम्मानित भइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved