यसरी ठगिन्छन् उदयपुर रामपुरका यात्रु, कसले गर्ने नियमन ?

यसरी ठगिन्छन् उदयपुर रामपुरका यात्रु, कसले गर्ने नियमन ?

उदयपुर । बेलका नगरपालिका रामपुरबाट सञ्चालन हुने लामो दूरीका सवारी सञ्चालकहरुले भाडामा मनलाग्दी गर्दा यात्रु मर्कामा परेका छन् । चाडबाडलाई ठग्ने मौकाका रुपमा लिँदै उनीहरुले मनलाग्दी भाडा असुल्दा यात्रु मारमा परेका हुन् ।

लामो समयदेखि रामपुर–काठमाडौं चल्दै आएका ‘शुभयात्रा, शाकिरा एसी हायस’ लगायतका सवारी सञ्चालकले मनपरी भाडा असुलेका हुन् । सवारी सञ्चालक तथा काउन्टरले यात्रुनै पिच्छे फरक–फरक भाडा लिएको पाइएको छ ।

उनीहरुले कसैसँग १ हजार ७ सय र कसैलाई १ हजार ८ सय रुपैयाँ भाडा लिने गरेका छन् । यद्यपि, काउन्टरले भाँडादरलाई गोप्य राख्न काटिएको टिकटमा समेत रकम उल्लेख नगरिएको भेटिएको छ ।

के भन्छन् सवारी सञ्चालक तथा काउन्टर ?

दशैं मनाएर काठमाडौं फर्कने यात्रुहरुका लागि सवारी भाडादर १ हजार ८ सय रुपैयाँ रहेको सवारी सञ्चालक नविन राईले बताएका छन् । उनी भन्छन्, ‘हामीले सरकारले तोकेको भाडादरमा नै यात्रुहरुसंग पैसा लिइरहेका छौं ।’

उनको भनाइप्रति असहमत जनाउँदै उनकै सहकर्मी रुद्र खड्का बताउँछन्, ‘रामपुरदेखि काठमाडौंसम्मको सवारी भाँडा १ हजार ७ सय रुपैयाँ मात्र हो । एक हजार ८ सय रुपैयाँको टिकट काट्दा भुलिएको हुन सक्छ ।’

मनपरी भाडा उठाउन मिल्छ रु भन्ने हाम्रो प्रश्नमा खड्का भन्छन्, ‘चाडबाडको बेला हो । एकोहोरो मात्र यात्रु भेटिन्छ । काठमाडौंबाट फर्कदा खाली फर्कनुपर्छ । त्यसको हिसाब जोड्नुस् तपाई ।’ सवारी सञ्चालकको घाटा यात्रुले व्यहोर्नुपर्ने भएकाले भाडा बढाउनुपरेको उनको भनाइ छ । भाडा बढी लिएको कुरा उठाउनेलाई अर्कोपटकदेखि टिकट नदिने उनको धम्की थियो ।

रामपुरबाट शुभयात्रा र शाकिरा गरी जम्मा दुईवटा मात्र सवारी काठमाडौं जाने भन्दै उनी भन्छन्, ‘यदि यो गाडी पनि चलेन भने यात्रुहरु ५ हजार तिरेर हवाइजहाजको टिकट काटेर जानुपर्छ । यस्तो अवस्थामा हामीले एक दुई सय रुपैयाँ बढी लिँदैमा के भयो र रु’ यात्रुहरुको यहीं बाध्यताको फाइदा उठाउँदै चाडबाडमा सवारी भाडा मनपरी लिइएको पाइएको हो ।

यसरी फिर्ता भयो यात्रुको पैसा

रामपुरबाट काठमाडौं जानको लागि गुडेको सवारी सिन्धुलीको दुधौली नगरपालिकास्थित चेक पोष्टमा चेकिङमा पर्यो । डिउटीमा रहेमा प्रहरी हवल्दार हरराम खतिवडाले यात्रुबाट असुलेको बढी रकम तत्काल फिर्ता गराइदिए ।

‘अहिले सवारी सञ्चालकहरुले चाडबाडको मौका छोपी यात्रुबाट धेरैभन्दा धेरै रकम उठाइरहेको गुनासो आएको छ,’ उनले भने, ‘रामपुरबाट काठमाडौं जाँदा लाग्ने भाडा भनेको जम्मा १ हजार ४ सय ८० रुपैयाँ हो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved