बाल्यकालीन दशैं अनुभव : पहिले खसी किन्न कर गर्थेँ, अहिले त भेज भएकी छु

दशैँ सामूहिक भेला र सामूहिक प्रार्थनाको समय थियो । यो एकता, पवित्रता र शुभताको पर्व थियो।

बाल्यकालीन दशैं अनुभव : पहिले खसी किन्न कर गर्थेँ, अहिले त भेज भएकी छु

बाल्यकालका हरेक दशैं रमाइला हुन्थे । खुलेको मौसमले पनि खुशी बनाउँथ्यो । सानोमा हामी स–परिवार दशैं मान्थ्यौँ । मामाघर जाँदा खुब रमाइलो लाग्थ्यो ।

टीकाकै दिन मामाघर हिँड्थ्यौँ । टीका लगाएर पैसा दिनेबित्तिकै लुकेर खुसुक्क खाम हेर्थेँ । एकपटक सबै खाम हरायो । निकै दुःखी भएँ ।

टीकाको दिनमा घरको मुलीले अर्थात् बुवाले टिका लगाई दिने र त्यसबेला दक्षिणाको रकम एक दुईदेखि दस रुपैयाँसम्म हुन्थ्यो। छोरालाई दिँदैनथ्यो। हामी छोरीलाई दिइन्थ्यो।

घरमै खसी काटेर खाने चलन दशैंमा मात्रै हुन्थ्यो । म खसी किन्न खुब कर गर्थेँ । घरमा खसी किनेर ल्याएपछि ‘दशैं आयो’जस्तो लाग्थ्यो । नयाँ लुगाप्रति उस्तै रुचि थियो । लुगा किन्न पनि कर गर्थे । अहिले त भेज भएकी छु । हत्या हिंसा गर्नुहुन्न भनेर भेज भएकी हुँ । खसीको मासु खाने कुरा आएन । उमेर बढ्दै गएपछि दशैं पनि फिक्का हुँदोरहेछ ।

दशैंको बेला चङ्गा उडाउन पाउँदा म निकै रमाउँथेँ । खुब चङ्गा उडाएँ । नौरथा सुरु भएपछि प्रत्येक दिन बिहान ४ बजे उठेर नवरात्रिको लागि दैनिक दुर्गा सप्तसदी पाठ गरिथ्यो। हामी हेर्न जान्थ्यौँ। दशैँ सामूहिक भेला र सामूहिक प्रार्थनाको समय थियो । यो एकता, पवित्रता र शुभताको पर्व थियो।

आमाले लुगा ल्याइदिएपछि भने पक्का दशैं आएजस्तो लाग्थ्यो । घरमा कोही नयाँ मान्छे आउनेबित्तिकै ‘मेरो नयाँ लुगा’ भनेर देखाइहाल्थेँ । नयाँ लुगा लगाएर मामाघर जाँदा निकै रमाइलो लाग्थ्यो । प्रायः मामाघर बहिनी र म सँगै जान्थ्यौँ । हाम्रो लुगा पनि एउटै खालको हुन्थ्यो ।

अहिलेको दशैँ प्रविधि अनुसार सेल्फी लिने र तपाईँको खानाको फोटो क्लिक गर्ने र तिनीहरूलाई अनलाइन पोस्ट गर्ने गरेको बढी नै पनि देखिन्छ। दशैँमा यति धेरै बालबालिका लगातार आफ्नो फोन, आईप्याड र ट्याब्लेटमा व्यस्त रहेको देख्दा हाम्रो पुस्ताको दशैँ लोभलाग्दो रहेछ भन्ने लाग्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved