एमालेसँगको सहकार्य नतोड्ने मुडमा शेखर, तनावमा गठबन्धन

केदार कार्कीविरुद्ध नक्कली हस्ताक्षर जम्मा पारेर माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीका रुपमा अघि सारेकाहरुले नै अहिले अपनत्व लिन खोज्नु लाजमर्दो सत्य हो ।

नेपालभ्युज

एमालेसँगको सहकार्य नतोड्ने मुडमा शेखर, तनावमा गठबन्धन

काठमाडौं । एमालेको समर्थनमा मुख्यमन्त्री भएका विद्रोही कांग्रेसका केदार कार्कीलाई विश्वासको मत दिएर गठबन्धनमा आबद्ध दलहरुले सरकारप्रति अपनत्व लिन खोजेका छन् । उनीहरुले कार्कीलाई गठबन्धनकै मुख्यमन्त्री भएको दाबी पनि गरिरहेका छन् । तर कांग्रेस नेता शेखर कोइराला भने नेकपा एमालेसँग भएको सहमति तोड्ने पक्षमा छैनन् ।

नेपाली कांग्रेसको संस्थापन पक्षले बरु माओवादीलाई मुख्यमन्त्री दिने तर कुनै हालतमा पनि केदार कार्कीलाई नदिने भएपछि शेखर कोइराला पक्षले एमालेसँग मिलेर सरकार बनाएको हो । उक्त जगजाहेर तथ्यलाई कांग्रेस संस्थापनसँगै गठबन्धनमा आबद्ध माओवादी र एकीकृत समाजवादीले जबरजस्त तोडमोड गर्न खोजिरहेका बेला शेखर पक्षले एमालेसँगको सहकार्य नतोड्ने संकेत गरेको हो ।

केदार कार्कीविरुद्ध नक्कली हस्ताक्षर जम्मा पारेर माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीका रुपमा अघि सारेकाहरुले नै अहिले अपनत्व लिन खोज्नु लाजमर्दो सत्य हो ।

एमाले र विद्राही कांग्रेसकै सरकार बनिसकेपछि कार्कीकै सरकारमा सामेल भएर एमालेलाई विस्थापित गर्ने गठबन्धनको योजना सफल नहुने संकेत देखिएको छ । यद्यपि, अस्वभाविक राजनीति हुन बानी परेको कोशीमा जे पनि हुन सक्छ !

१० महिनामा पाँचौंपटक मुख्यमन्त्री पाएको कोशीमा यसअघि पनि रोचक खेलहरू भएकै थिए । तर, विगतका भन्दा यसपालिको खेल रोचकसँगै प्रभावशाली देखियो ।

नेपाली कांग्रेसमा ‘गैरदेउवा पक्ष’लाई निरन्तर पेल्ने अनि पेलिएकाहरूले विद्रोहको धम्की दिने कुरा नौलो थिएन । तर, यसपालि कोशीमा ‘एन्टी–देउवा’ पक्षले विद्रोहको आँट गर्‍यो । परिणामतः कांग्रेसको विद्रोही पक्ष र एमाले मिलेर सरकार बन्यो ।

विद्रोही कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको संस्थापन पक्षसँग कोशीमा केदार कार्कीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन पटक(पटक माग गरेका थिए। तर, सभापति देउवा माओवादीलाई मुख्यमन्त्री दिन तयार भए, तर केदारको नामै सुन्न चाहेनन् ।

त्यसपछि शेखरले क्रमशः नेकपा एमालेसँग सम्पर्क बढाए । जसरी पनि गठबन्धन भत्काउने एकसूत्रीय रणनीति बनाएको एमालेलाई शेखरसँगको सम्बन्ध प्रिय नहुने कुरै भएन । त्यसलाई एमालेले शेखर पक्षलाई मुख्यमन्त्रीमा समर्थन गरेर गठबन्धनमा फाटो मौकाका रूपमा लियो ।

शेखर र एमालेबीच घनिभूत छलफल भइरहेको सुइँको पाउँदा पनि कांग्रेस सभापति देउवाले वास्तै गरेनन्, बरु राप्रपालाई फकाएर शेखरलाई ‘बाइकट’ गर्ने रणनीति अपनाए । त्यसपछि शेखर पक्ष पार्टी संस्थापनप्रति झन् आक्रोशित र एमालेसँगको सहकार्यमा झन् प्रतिबद्ध भयो ।

जब राप्रपाले तटस्थ बस्ने निर्णय गर्‍यो तब कांग्रेससँगै गठबन्धनभित्र हलचल मच्चियो । प्रधानमन्त्री प्रचण्डले शेखरलाई फकाउन गरेको प्रयास पनि असफल भयो ।

मुख्यमन्त्री दाबी गर्ने दिन आयो । एमालेको समर्थनमा विद्रोही कांग्रेसको तर्फबाट केदार कार्कीले मुख्यमन्त्री दाबी गरे । गठबन्धनको तर्फबाट माओवादीका इन्द्र आङ्बोले दाबी गरे ।

शेखर पक्षका ८ सांसदको ‘फेक हस्ताक्षर’सहित बहुमत पुर्‍याएर आङ्बोलाई मुख्यमन्त्रीमा रुपमा अघि सारिएको थियो । त्यसैले, आफूहरूको पक्षमा गणित नपुग्ने निश्चित भएपछि गठबन्धनभित्र तरंग पैदा भयो ।

त्यसपछि देउवा र प्रचण्डले ‘गठबन्धन जोगाउन’ कार्कीलाई नै गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनाउने प्रस्ताव ल्याए । शेखरले मानेनन् । अन्तिममा शेखरलाई ‘गठबन्धनप्रति प्रतिबद्ध’ भएको चिर्कटोमा हस्ताक्षर गर्न लगाएर देउवा–प्रचण्डले भ्वाङ परेको सम्बन्धमा रफु भर्ने काम गरे ।

अन्ततः कार्की मुख्यमन्त्रीमा नियुक्त भए । अनि प्रचण्डले लाज पचाएर भाषण गरे– कार्कीजी त गठबन्धनकै मुख्यमन्त्री हुनुभयो । शेखरजीसँग हामीले सहमति गरेको त तपाईंहरूले थाहा पाइहाल्नुभयो ।

आइतबार सरकार विस्तार भयो । सरकारमा एमाले सहभागी भयो । अर्थात् भनौं, कोशीमा एमाले र विद्रोही कांग्रेसको सरकार बन्यो । जसले यतिबेला केन्द्र हल्लाएको छ ।

उल्लेखित घटनाहरूले प्रष्ट पारेको छ कि– पेलानको पराकाष्ठा नाघेपछि जन्मिएको विद्रोहले बहुआयामिक असर गर्नेछ । नेपाली कांग्रेसमा भित्रभित्रै सल्किएको आगो दन्किएको छ, जसले गठबन्धनलाई पगालेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved