एमाले सुदूरपश्चिम अधिवेशन : अध्यक्षमा ३ जनाको दाबी, ६ सय ७५ प्रतिनिधि सहभागी हुँदै

नेपालभ्युज

एमाले सुदूरपश्चिम अधिवेशन : अध्यक्षमा ३ जनाको दाबी, ६ सय ७५ प्रतिनिधि सहभागी हुँदै

धनगढी । नेकपा एमालेले असोज २१ र २२ गते सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन गर्दैछ । पहिलो कार्यकालमा अध्यक्ष बनेका कर्ण बहादुर थापा हाल स्थायी कमिटी सदस्य छन् भने वर्तमान अध्यक्ष दामोदर भण्डारी प्रतिनिधिसभा सदस्य भएका कारण पार्टी विधानले उनलाई अध्यक्ष हुनबाट रोक्यो ।

२१ र २२ गते हुने प्रथम अधिवेशनका लागि अछामबाट २ जना र एक जना कञ्चनपुरबाट गरी ३ जनाले अध्यक्षमा दाबी गरेका छन् । तिनै जनाले अध्यक्षमा दाबी गरिरहँदा उपाध्यक्ष र सचिवका आकांक्षी भने धेरै छन् । सो उम्मेदवारहरूले टिम भने अहिलेसम्म टुंग्याउन सकेका छैनन् ।

सुदूरपश्चिम प्रदेशमा यही २१ र २२ गते नेकपा एमालेको प्रदेश अधिवेशन हुँदैछ । अध्यक्षमा अछामका कमल तिमिल्सेना र अछामकै कृष्णप्रसाद जैशी तथा कञ्चनपुरका वचन बहादुर सिंहबीच प्रतिस्पर्धा हुने देखिएको छ । हालका अध्यक्ष रहेका दामोदर भण्डारी प्रतिनिधिसभा सदस्य छन् ।

एमालेको पछिल्लो विधिअनुसार उनी अध्यक्षमा उम्मेदवार बन्न नपाउने भएपछि सकेसम्म सहमति नभए पनि तिमिल्सेना र जैशीबीच चुनावी प्रतिस्पर्धा हुने आन्तरिक चर्चा छ । उनीहरू दुवैजना चुनावी तयारीमा जुटिरहेका छन् । तिमिल्सेना सुदूरपश्चिम कमिटीको उपाध्यक्ष छन् ।

२०४४ सालदेखि अनेरास्ववियु, तत्कालीन प्रजातान्त्रिक युवा संघको केन्द्रीय सचिवालय हुँदै एमालेको जिल्ला कमिटी सदस्य र एमालेको जिल्ला अध्यक्ष अञ्चल कमिटी सदस्य हुँदै उनी प्रदेशका उपाध्यक्ष बनेका हुन् । आफू प्रदेश कमिटीको बहालवाला उपाध्यक्ष भएकोले अध्यक्षको स्वाभाविक दाबेदार भएको उनले बताए ।

उपाध्यक्ष भएर प्रदेशको कामको अनुभवसमेत संगालिसकेकोले स्वाभाविकरूपमा प्रदेश अध्यक्षको दाबेदार रहेको बताउँदै उनले पार्टीलाई अझ एकताबद्ध बनाउन, पार्टीमा समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

अध्यक्षका अर्का आकांक्षी कृष्णप्रसाद जैशी पनि सुदूरपश्चिममा स्थापित नाम हो । अछाम जिल्ला विकास समितिको सभापतिका भइसकेका जैशीसँग पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुईपटक सचिव भएको अनुभव छ ।

केपी शर्मा ओलीसँग तत्कालीन प्ररायुसंघ (हालको युवा संघ नेपाल) केन्द्रीय कमिटीमा बसेर काम गरेका जैशी १६ वर्षसम्म जिविस महासंघको प्रवक्ता र स्थानीय निकायसम्वद्ध एसिया प्यासेफिकको सह-अध्यक्ष थिए । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेलाई आगामी निर्वाचनमा बहुमत दिलाउन र एमालेको सरकार निर्माणका लागि आफूले अध्यक्षमा दाबी गरेको उनले बताए । जैशीले आफ्नो दाबी कायमै रहने र सहमतिका लागि वातावरणसमेत निर्माण गरिरहने बताएका छन् ।

त्यस्तै, नेकपा एमालेनिकट रास्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष वचनबहादुर सिंह पनि अध्यक्षका आकांक्षी हुन् । उनले सुदूरपश्चिमबाट युवालाई स्थापित गरेर देशभरि सन्देश दिनुपर्नेमा जोड दिएका छन् । पार्टी बलियो बनाउनका लागि युवालाई जिम्मेवारी दिँदा उपयुक्त हुने उनको चर्चा छ।

धनगढीको सौराई प्यालेसमा हुने सुदूरपश्चिमको प्रथम अधिवेशनलाई एमाले अध्यक्ष केपी सर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । जम्मा ६ सय ७५ प्रदेश प्रतिनिधि अधिवेशनका लागि छानिएर धनगढी पुगेका छन् ।

अधिवेशनको सबै तयारी सम्पन्न गरेको जनाउँदै प्रदेश कमिटीले सक्दो सहमतिमा प्रदेशको नेतृत्व चयन गर्ने दाबी गरेको छ । प्रदेश अध्यक्ष दामोदर भण्डारीले सकेसम्म सुदूरपश्चिमबाटै सर्वसहमतिबाट नेतृत्व चयन गरेर सन्देश दिने दाबी गरेका छन् ।

हाल सुदूरपश्चिममा एमाले सचिव लेखराज भट्ट, स्थाई कमिटी सदस्य कर्ण थापा,, प्रदेश अध्यक्ष दामोदर भण्डारी र पूर्वउपाध्यक्ष भीम रावलले आ-आफ्ना गुट चलाइरहेका छन् ।

सुदूरपश्चिम प्रदेश अधिवेशनमा यी नेताहरूका गुट स्पष्ट नदेखिए पनि सचिव लेखराज भट्ट, अध्यक्ष भण्डारी र भीम रावलले कमल तिमिल्सेना र स्थायी कमिटी सदस्य कर्ण थापाले कृष्णप्रसाद जैशीलाई अध्यक्षको उमेदवार बनाउन चाहेको पार्टी श्रोतको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved